• २५ वैशाख २०८३, शुक्रबार

नेपाल ‘ए’ सँग स्कटल्यान्ड स्तब्ध

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २५ गते । नेपाल ‘ए’ ले बिहीबार पहिलो एकदिवसीय अभ्यास खेलमा स्कटल्यान्डलाई ४५ रनले पराजित गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २७७ रनको राम्रो स्कोर तयार पारेको थियो । पाहुना टिम स्कटल्यान्ड जवाफमा ४८.२ ओभरमा २३२ रनमा अलआउट भयो । 

आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय शृङ्खलाको अभ्यासस्वरूप स्कटल्यान्ड र अमेरिका नेपाल ‘ए’ सँग दुई खेलको अभ्यास शृङ्खलामा सहभागी भएको हो । नेपाल, स्कटल्यान्ड र अमेरिका सहभागी सो त्रिदेशीय शृङ्खला वैशाख २९ गतेदेखि सुरु हुँदै छ । नेपाल ‘ए’ ले शुक्रबार अमेरिकासँग खेल्ने छ । आइसिसी विश्वकप लिग २ मा अमेरिका पहिलो र स्कटल्यान्ड दोस्रो स्थानमा छन् । आठ टिम सहभागी लिग २ मा नेपाल सातौँ स्थानमा छ ।

नेपाल ‘ए’ का लागि बिहीबार देव खनालले सर्वाधिक ६३ रन बनाउनुभयो । उहाँको ६५ बलको पालिमा छ चौका र एक छक्का सामेल थियो । देव ‘प्लेयर अफ दी म्याच’ चुनिनुभयो । प्रारम्भिक ब्याट्सम्यान मयन यादवले पनि ४५ रन बनाएर नेपालको पालिमा राम्रो आधार तयार पार्नुभएको थियो । यसै गरी सन्दीप जोराले ३६ बलमा ३४, पवन सराफले १८ बलमा ३१ र दीपक डुम्रेले सात बलमा अविजित २३ रन बनाएर नेपालको पालि राम्रो बनाउनुभयो । डुम्रेले ज्यास्पर डेभिडसनले फालेको अन्तिम ओभरमा चार चौका र एक छक्का प्रहार गर्नुभएको थियो । नारायण जोशीले पनि एक छक्कासहित आठ रन बनाउनुभयो ।

स्कटल्यान्डका लागि ब्राड करी र सफियान सरिफले दुई/दुई तथा ओलिभर डेबिडसन, ब्रान्डन म्याकमलन, ज्याक जार्भिस र मार्क वाटले एक/एक विकेट लिनुभयो । स्कटल्यान्डको ब्याटिङ क्रम लक्ष्य पछ्याउने क्रममा तेज बलर रसिद खान तथा नेपाली स्पिनरका अगाडि निस्तेज बन्यो । रसिदले ३.२ ओभरमा सर्वाधिक तीन विकेट लिनुभयो । यसै गरी स्पिनर साहब अलाम, युवराज खत्री र बसिर अहमदले दुई/दुई विकेट हासिल गर्नुभयो । कुशल मल्लको भागमा पनि एक विकेट प¥यो ।

स्कटल्यान्डले सुरुवात भने राम्रो गरेको थियो । प्रारम्भिक ब्याट्सम्यानद्वय मार्क र फिन्ले म्याकरिथले पहिलो विकेटका लागि प्रतिओभर करिब ८७ रनको साझेदारी निर्वाह गर्नुभएको थियो । आलमले मार्कलाई ३७ रनमा आउट गरेर सो प्रारम्भिक साझेदारी तोड्नुभयो । मार्कले आउट हुनुअघि ४० बलको सामना गरी दुई चौका र दुई छक्का प्रहार गर्नुभयो । फिन्लेले छ चौका र एक छक्कासहित सर्वाधिक ५२ रन बनाउनुभयो । पुछारका ब्याट्सम्यान जार्भिसले ४३ बलमा ४५ रन बनाएर नेपाललाई केही तनाव दिनुभएको थियो । यसै गरी म्याथ्यु क्रसले २२, म्याकमलनले २१, ओलिभर डेभिडसनले १७ र ज्यास्पर डेभिडसनले अविजित १४ रन बनाउनुभयो ।