• ६ साउन २०८१, आइतबार

७५ वर्षे इतिहास बोकेको नेपालगञ्जको महेन्द्र पुस्तकालय फेरि पुनर्जीवित हुँदै

blog

नेपालगञ्जस्थित महेन्द्र पुस्तकालयलाई सक्रिय पार्ने साहित्यकार र शिक्षाविद । तस्विर – सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, भदौ १ गते । ७५ वर्ष पहिले स्थापना भएर जेनतेन सञ्चालनमा रहेको पश्चिम नेपालकै पहिलो ऐतिहासिक महेन्द्र पुस्तकालय हाल आएर पुनर्र्जीवित हुन थालेको छ । 

सञ्चालक समिति निष्क्रिय भएर लामो समयदेखि थला पर्दै गएको सो ऐतिहासिक पुस्तकालयलाई पुनः सक्रिय पार्न बाँकेका साहित्यकारहरु र शिक्षाविद् क्रियाशिल हुन थालेको हो । 

पुस्तकालयको व्यवस्थापनमा नयाँ तदर्थ समिति गठन भएसँगै विभिन्न कार्यक्रमको घोषणा गरिएको छ । बाँकेका शिक्षाविद् बलराम यादवको नेतृत्वमा गठन गरिएको तदर्थ समितिले पुस्तकालयलाई पुनः सक्रिय बनाउनका लागि वार्षिक योजना बनाएर काम गर्ने योजना अगाडि सारेको छ । 

पुस्तकालयको ७५ औं वर्ष पूरा भई ७६ वर्ष लागेको अवसरमा तदर्थ समितिले अमृत वर्षको रुपमा भदौ ३ गते अमृत महोत्सव मनाउने निर्णय गरेर तयारी गरेको छ । 

२००३ सालमा स्थापना भई २०२१ सालमा नाम परिवर्तन गरेर रानीतलाउ नजिक महेन्द्र पुस्तकालयको नामबाट सञ्चालित उक्त पुस्तकालयको अमृत महोत्सव वृहत्त रुपमा मनाइने तदर्थ समितिका अध्यक्ष बलराम यादवले बताउनुभयो । 

यो पुस्तकालयले यस क्षेत्रको शिक्षा, भाषा, कला, संस्कृति र इतिहासलाई जोगाउन महत्वपूर्ण भूमिका खेलेको जनाउँदै उहाँले अब यसलाई सक्रिय पार्ने र अगाडी बढाउने अभियान शुरु गरिएको बताउनुभयो । 

यादवका अनुसार अमृत महोत्सवमा पुस्तकालय स्थापनाकालदेखि २०५४ सालसम्मको कार्यसमितिमा रहेका सदस्य तथा पुस्तकालयका कर्मचारी गरेर ७५ जनालाई अमृत महोत्सव पदकसहित सम्मान गरिनेछ । 

त्यसैगरी, सो अवसरमा महेन्द्र पुस्तकालयको इतिहास, पुस्तकालयसम्बन्धि आलेखहरु र अन्य सिर्जनात्मक रचनाहरु तथा अमृत महोत्सवका कार्यक्रमहरु समेत समावेश गरी वाङ्मय जगत अमृत महोत्सव स्मारिका पनि प्रकाशित गरिनेछ । 

सो पुस्तकालयलाई ई–लाईब्रेरीमा पनि परिवर्तित गरिने र भौतिक पूर्वाधारलगायत अन्य कुरामा समेत सुधार गर्दै लग्ने योजना रहेको पुस्तकालय व्यवस्थापन समितका सदस्य प्राज्ञ तथा वरिष्ठ कथाकार सनत रेग्मीले बताउनुभयो । 

उहाँले पुस्तकालयको सदस्यता वितरण गरेर नयाँ व्यवस्थापन समिति गठन गरी नयाँ तारिकाले पुस्तकालयलाई निरन्तर सक्रिय रुपमा सञ्चालन गरिने योजना रहेको बताउनुभयो ।