• १३ साउन २०८१, आइतबार

नेपालगञ्ज र कोहलपुरमा पाँच वटा आकाशे पुल निर्माण गरिने

blog

आकाशे पुल निर्माण गरिने अति व्यस्त धम्बोझी चोक क्षेत्र । तस्विर – सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, भदौ १ गते । नेपालगञ्ज र कोहलपुरका सडकमा अत्यधिक सवारी साधन गुड्न थालेका कारण विभिन्न महत्वपूर्ण चोकमा सर्वसाधारणलाई सडक पार गर्न समस्या देखिएकाले पाँच वटा आकाशे पुल निर्माण गरिने भएको छ । 

रत्न राजमार्गका चोकहरुमा सर्वसाधारणलाई सडक पार गर्न समस्या भएको र दुर्घटनाको जोखिम समेत बढेका कारण नेपालगञ्जमा चार र कोहलपुरमा एक गरि पाँच वटा आकाशे पुल निर्माण गर्ने निर्णय भएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख होमबहादुर एसीले बताउनुभयो । 

उहाँले यो योजना बाँकेका सङ्घीय सांसद मोहम्मद ईश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएपछि उहाँकै निर्देशनमा तयार गरिएको बताउनुभयो । 

पाँच वटा आकाशे पुलका लागि टेण्डर आह्वान भैसकेको जनाउँदै प्रमुख एसीले टेण्डर प्रक्रिया सकिएलगत्तै निर्माणको काम शुरु गरिने बताउनुभयो । 

उहाँका अनुसार नेपालगञ्जको अति व्यस्त मानिने चोकहरु गणेशमान चोक, धम्बोझी चोक, कारकाँदो चोक, राँझा चोक र कोहलपुरको हाइस्कुल चोकमा आकाशे पुल निर्माण गरिनेछ । सोका लागि लागि १० करोड रुपियाँको बजेट छुट्टयाइएको सडक डिभिजन कार्यालयले जनाएको छ । 

सोही प्रकारले जमुनाहादेखि राँझासम्मको राजमार्गमा स्ट्रिट लाइटको अभाव देखिएकाले सो सडकमा दुबैतिर मुख फर्काइएका स्ट्रिट लाइटहरु जडान गर्ने निर्णय पनि गरिएको सडक डिभिजनका प्रमुख एसीले बताउनुभयो । 

जमुनाहादेखि राँझासम्म हरेक ३० मिटरको दुरीमा स्ट्रिट लाइटहरु जडान गरिने तथा हाइमास्ट लाइट जडान भएको ठाउँमा सो भन्दा १५० मिटरको दुरीमा जडान गरिनेछ । दुबै योजनाका लागि ठेक्का सम्झौता भएको १५ महिना भित्र निर्माण गरिसक्नु पर्ने शर्त राखिएको पनि सडक डिभिजन कार्यालयले जनाएको छ ।