• ६ साउन २०८१, आइतबार

तातोपानीका मुहानै मुहान

blog

पुथाउत्तरगङ्गा–६ स्थित डिमुरगैरा तातोपानीमा नुहाउँदै गरेका स्थानीयवासी ।

जयमान बुढामगर

रुकुमपूर्व, साउन ३१ गते । रुकुमपूर्वका धेरै ठाउँमा तातोपानीका मुहान छन्। विभिन्न खोला र सानीभेरी नदीका किनार गरी जिल्लाका पाँच ठाउँमा तातोपानीको मुहान भए पनि तिनको संरक्षण व्यवस्थापनमा भने समस्या छ। 

पुथाउत्तरगङ्गा गाउँपालिकामा मात्र चार र सिस्ने गाउँपालिकामा एक गरी जिल्लामा पाँच तातोपानीका मुहान छन्। पुथाउत्तरगङ्गा वडा नम्बर २ को जार्लुङ, ३ को रन्मा, ६ को डिमुरगैरा तथा १२ र १३ को ओख्मामा तातोपानीका मुहान छन्। सिस्ने गाउँपालिकाको वडा नम्बर ४ धाउने नजिकै सानीभेरी नदी छेउमै पनि तातोपानीको मुहान छ। यी पाँच मुहानमध्ये हालसम्म सिस्ने ४ को धाउनेस्थित सानीभेरीको किनारमा रहेको र पुथाउत्तरगङ्गाको डिमुरगैरा र जार्लुङमा रहेका तातोपानी मुहानको मात्र केही संरक्षणको काम गरिएको छ । पुथाउत्तरगङ्गा–१२ र १३ को ओख्मा र पुथाउत्तरगङ्गा–३ को रन्माको तातोपानीमा संरक्षणको काम गरिएको छैन । 

जिल्लामा यति धेरै तातोपानी मुहान हुँदा पनि पर्यटन प्रवद्र्धनका निम्ति र संरक्षणमा सरकारले चासो नदेखाएको गुनासो पुथाउत्तरगङ्गा १३ का तेजेन्द्र श्रीर्पालीले गर्नुभयो। “संरक्षणका लागि बजेट आउँछ” उहाँले भन्नुभयो– “तर दीर्घकालीन योजनासाथ सरकार अघि बढ्न नसक्दा संरक्षणको काम टालटुले मात्र हुने गरेको छ।” श्रीर्पाली मात्र नभई यहाँका स्थानीयवासीले जिल्लामा तातोपानीको मुहान धेरै ठाउँमा भए पनि संरक्षणमा सरकारको चासो कम भएको भनी गुनासो गर्ने गरेका छन्। 

पुथाउत्तरगङ्गा गाउँपालिकाले स्वास्थ्य पर्यटनका लागि यी मुहानको संरक्षण र प्रचारप्रसारको प्रयास गरिरहेको गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले बताउनुभयो। “पर्यटन प्रवद्र्धन गर्न मुख्य कुरा सडक सञ्जालको पहुँच हुनुपर्ने रहेछ” उहाँले– “तर यी मुहानमा सडकको पहुँच पुगेको छैन।” 

त्यसकारण पनि मुहानको संरक्षण र प्रवद्र्धनमा अपेक्षाअनुसारको काम हुन नसकेको अध्यक्ष घर्तीले बताउनुभयो। स्वास्थ्य पर्यटन प्रवद्र्धनका लागि यी मुहानलाई विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) बनाई दीर्घकालीन योजनासाथ संरक्षण गर्ने गाउँपालिकाको सोच रहेको उहाँले बताउनुभयो। 

यसैगरी सिस्नेको धाउने तातोपानी संरक्षणका लागि डीपीआर तयार भइसकेको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो। विगतका वर्षमा पनि सानातिना बजेटमार्फत संरक्षणको काम भएको उहाँले बताउनुभयो। अबदेखि सङ्घ, प्रदेश र गाउँपालिकाको साझेदारीमा डीपीआरअनुसार क्रमागत रूपमा पर्यटन प्रवद्र्धनका लागि काम गर्ने योजना रहेको उहाँको भनाइ छ। तातोपानीमा नुहाउन र लुगा धुन कात्तिकदेखि फागुनसम्म मान्छेको भीड लाग्ने गर्छ।