• ६ साउन २०८१, आइतबार

अन्तिम गर्भजाँच गराउँदैनन् गर्भवती

blog

बर्दिया समाचारदाता

बर्दिया, भदौ १ गते । बर्दिया जिल्लाका गर्भवती महिलामा अन्तिम पटक गर्भजाँच गराउन आउनेको सङ्ख्यामा कमी देखिएको छ। स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा पहिलो पटक गर्भवती जाँच गराउनेभन्दा अन्तिम पटक गर्भजाँच गराउनेको सङ्ख्यामा एक हजार ३८४ जनाले कमी देखिएको हो।  स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा पहिलो पटक छ हजार ९६५ जना गर्भवतीले जाँच गराएका थिए। अन्तिम पटक पाँच हजार ५८४ जना गर्भवतीले जाँच गराएका थिए। पहिलो पटकभन्दा अन्तिम पटक गर्भवती महिलाले स्वास्थ्य संस्थामा जाँच गराउन नआउनेको सङ्ख्या एक हजार ३८४ ले कमी रहेको छ। आर्थिक वर्ष २०७७/७८ मा पहिलो पटक सात हजार जना गर्भवती महिलाले जाँच गराएका थिए। अन्तिम पटक भने पाँच हजार ९८४ जना गर्भवतीले जाँच गराएका थिए। 

गर्भवती भएपछि नेपाल सरकारको स्वास्थ्य मापदण्डअनुसार चार पटक अनिर्वाय स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ। पहिलो पटक (चौथो महिना), दोस्रो (छैटाैँ महिना), तेस्रो (आठाैँ महिना) र चौथो (नवौँ महिनामा) गर्भजाँच गराउनुपर्ने हुन्छ। चिकित्सकको प्रत्यक्ष निगरानीमा रही औषधि र स्वास्थ्य सेवा लिनुपर्ने स्वास्थ्य माापदण्डभित्र पर्छ।

गर्भवतीको अन्तिम गर्भजाँचमा घटबढको विषयमा बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुभाष पाण्डेले पहिलो पटक गर्भजाँच गर्र्ने गर्भवतीमध्ये केही गर्भवतीले सिधै चिकित्सकसँग जाँच गर्ने गरेको पाइन्छ र केही गर्भवती नौ महिना नपुग्दै सुत्केरी हुँदा पनि तथ्याङ्कमा फरक पर्ने गरेको बताउनुभयो।  स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले पहिलो पटक गर्भवती जाँच गरेपछि केहीले कानुनविपरीत असुरक्षित गर्भपतन गर्नु, गर्भ खेर जानु, गर्भावस्थामा शिशु अपाङ्ग देखिएमा र आमा असुरक्षित भएमा गरिने शल्यक्रियालगायतका कारण पनि पहिलो पटक (चौथो महिना) र अन्तिम पटक (नौ महिना)मा गर्भवती जाँच गर्न आउने सङ्ख्यामा फरक पर्ने गरेको बताउनुभयो।