• ६ साउन २०८१, आइतबार

अवैध नदीजन्य पदार्थ स्थानीय सरकारको नियन्त्रणमा

blog

दाङको गढवा गाउँपालिका राप्ती नदीको छेउछाउमा जम्मा गरेर राखिएको अवैध नदीजन्य पदार्थ नियन्त्रणमा लिइँदै । तस्बिरः दिवाकर पोख्रेल

दिवाकर पोख्रेल

देउखुरी, भदौ २ गते । दाङको गढवा गाउँपालिकाको राप्ती नदी किनार आसपासमा अवैध रुपमा डम्पिङ गरेर राखेको नदीजन्य पदार्थ गाउँपालिकाले नियन्त्रणमा लिएको छ । लामो समयसम्म सूचना जारी गरेर नदीजन्य पदार्थ हकदार खोजी गर्दा समेत सम्पर्कमा नआएपछि अवैध ठहर गर्दै नियन्त्रणमा ल्याउने काम थालिएको हो । गढवा गाउँपालिकाले पटक पटक जानकारी, छलफल र सूचना दिँदा पनि कोही सम्पर्क नआएकाले बेवारिसे नदीजन्य पदार्थलाई पालिकाले उठाउन सुरु गरेको छ ।  

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको संयोजकत्वमा बनेको चोरी निकासी नियन्त्रण तथा क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगहरुको नाप जाँच समितिले अवैध नदीजन्य पदार्थको निगरानी बढाउन थालेको छ ।


गढवा गाउँपालिकाका अध्यक्ष पोख्रेलले गढवा गाउँपालिका अन्तर्गत नदी तथा खोलाहरुको किनारमा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगको छेउछाउमा अवैधरुपमा संकलन गरी डम्पिङ गरि राखेको नदीजन्य पदार्थ उठाई सुरक्षित स्थानमा डम्पिङ गर्ने निर्णयअनुसार अवैधरुपमा डम्पिङ गरेर राखिएको ढुङ्गा पालिकाले आफ्नो नियन्त्रणमा लिएको जानकारी दिनुभयो । 

पालिकले ५६.६ घनमिटर ढुङ्गा आफ्नो नियन्त्रणमा लिएको छ भने छ हजार दुईसय १७ घनमिटर ढुङ्गाको सम्बन्धित व्यक्तिहरु सम्पर्कमा आएर दाबी गरेको हुनाले पालिका र सुरक्षा निकायको रोहबरमा नापजाँच गरी उल्लेखित परिणाम बराबरको राजश्व बुझाउन आग्रह गरिएको छ । गढवा गाउँपालिकाले क्रसर उद्योगको पनि कानुनी प्रक्रियाहरु अघि बढाइरहेको छ ।