• २२ असार २०८१, शनिबार

प्रविधिको उपयोगले मकै खेतीमा सुधार

blog

गोकर्ण पौडेल 

तुलसीपुर, भदौ १ गते । प्रविधिको प्रयोगबाट गरिएको मकै खेतीमा सुधार आएको छ । मकै खेतीमा रोग प्रकोप नियन्त्रण र उत्पादनमा बृद्धि भएको किसानको भनाइ छ । परम्परागत शैलीले गरिएको मकै खेतीमा रोग किराले क्षति गरेपछि प्रविधिको प्रयोग गरिएको कृषकले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका भित्र करिब ३५ सय हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका मकै खेती गरिएको छ  । तीमध्ये परीक्षणका रुपमा यो वर्ष नयाँ प्रविधिको प्रयोग गरेर मकै खेती गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिका ८ का लोककुमारी गिरीले ६ कठ्ठा खेतमा नयाँ प्रविधिबाट मकै खेती गरिएको बताउनुभयो । मकै खेतीमा अहिले रोग प्रकोप देखिएको छैन र उत्पादन समेत राम्रो देखिएको छ । 

छिमेकीले लगाएको मकैबारीमा रोग किराको प्रकोपले मकैका बोट सुकेका छन् । नयाँ प्रविधिमा लाइनमा प्राविधिक यन्त्रको प्रयोग गरेर मकै रोपिने गरिन्छ । दुई पटक गोडमेल गर्ने गरिन्छ । परम्परागत शैलीमा हलोको सियोमा मकै  रोप्ने र एक पटक गोडमेल गर्ने गरिन्छ । 

तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका प्रमुख धनराज गौतमले ३५ सय हेक्टर क्षेत्रफलमध्ये तीस प्रतिशत क्षेत्रफलमा मकै खेतीमा रोग किराको प्रकोप देखिएको बताउनुभयो । किसानहरुले मकै खेती गर्नेक्रममा माटोको उपचार र मकै खेतीमा परम्परागत शैलीका कारण रोग किराको प्रकोप देखिएको गौतमले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाको वडा १, २, ८ वडामा सबैभन्दा बढी मकै खेतीमा क्षति पुगेको बताइएको छ । साना किसान परियोजना दाङका संयोजक सुधा मिश्रले यो वर्ष परीक्षणका रुपमा खेती गरिएको र परीक्षणकै क्रममा गरिएको खेतीमा उत्पादन बढी र रोग किरा कम देखिएको बताउनुभयो ।

आगामी वर्षदेखि व्यवसायिकरुपमा उत्पादनका लागि अघि बढाइने मिश्रले बताउनुभयो । परियोजनाले किसानका लागि प्रविधियुक्त मेसिन उपलब्ध गराउँदै आएको बताएको छ । निरीक्षणका क्रममा पुग्नु भएका तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले नयाँ प्रविधिको प्रयोगका साथै रैथाने प्रजातिको मकैको बिउँ रोप्ने कार्यलाई समेत प्रोत्साहन गरिने बताउनुभयो । 

मकै रोप्न किसानलाई समूहमा प्रविधियुक्त यन्त्र वितरण गर्न सकिने उहाँको भनाइ छ ।  वडा ८ का वडाध्यक्ष धर्म वलीले परीक्षणका रुपमा मात्रै गरिएको मकै खेतीलाई व्यावसायिक रुपमा उत्पादन गर्न वडाको तर्फबाट अभियानकै रुपमा अघि बढाइने उहाँले  बताउनुभयो । निरीक्षणका क्रममा सबैभन्दा बढी वडा नम्बर १ मा मकैमा रोग देखिएको थियो । 

त्यस वडामा किसानहरुलाई बिउ चक्र परिवर्तन र माटोको उपचार गरेर मात्रै बाली लगाउन सुझाव दिए पनि कार्यान्वयन नगर्दा थप समस्या देखिएको कृषि शाखाका प्रमुख धनराज गौतमले जानकारी दिनुभयो ।