• १३ साउन २०८१, आइतबार

खोला मिचेर व्यक्तिगत संरचना

blog

दिवाकर पोख्रेल

देउखुरी, साउन ३१ गते । दाङको लमही र आसपासमा बजार विस्तार हुँदै जाँदा खोलाको भाग अतिक्रमण गरेर व्यक्तिगत संरचना बनाउने क्रम सुरु भएको छ । लमही नगरपालिका–४ स्थित अर्नहवा खोला मिचेर व्यक्तिगत संरचना बनाउने काम भइरहेको छ । लमही नगरपालिका–५ निवासी प्रताप केसीले खोला मिचेर पक्की संरचना बनाउन थाल्नुभएको हो ।

खोला क्षेत्र मिचेर पक्की संरचना बनाउँदा पनि सम्बन्धित निकायले चासो दिएका छैनन् । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, न्यायिक समितिका सदस्य केशव अधिकारीलगायतको टोलीले केही दिनअघि स्थलगत अनुगमन गरेको थियो । त्यस क्रममा खोला मिचेर संरचना नबनाउन निर्देशन दिएको थियो । त्यो निर्देशनविपरित अहिले पनि त्यहाँ संरचना बनाउने काम चलिरहेको छ । यसपालि राम्रोसँग पानी नपरेको र खोलामा बाढी नआएको मौका छोपेर व्यक्तिगत संरचना खडा गर्न थालिएको हो । 

यसरी खोलाको क्षेत्र मिचेर संरचना बनाउँदा आफूहरूको जग्गा कटान हुने जोखिम रहेको स्थानीय मीनबहादुर केसीले बताउनुभयो । “आफ्नो मनोमानी ढङ्गले संरचना बनाउने काम जारी छ । अहिले बनिरहेको संरचनाका कारण अर्काे किनारमा कटानको जोखिम बढ्यो,” केसीले भन्नुभयो, “सार्वजनिक सम्पत्तिमाथि व्यक्तिगत रजाइँ चलिरहेको छ । यसमा सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।”

पूर्वपश्चिम राजमार्ग क्षेत्रसमेत संरचनामा मिचिएको छ । पक्की पर्खाल उठाएर जग्गा सुरक्षित गर्ने र त्यसमाथि संरचना बनाउने उद्देश्य केसीको देखिन्छ । यसरी खोलाको क्षेत्र मिचेर पक्की संरचना बनाउँदा भविष्यमा जोखिम हुनसक्ने भन्दै सम्बन्धित निकायमा ध्यानाकर्षण गराइएको छ । “हामी एक पटक पुगेका थियौँ । बिम ढलाइ गरेर संरचना उठाइँदै थियो, रोक्न भन्यौँ,” न्यायिक समितिका सदस्य केशव अधिकारीले भन्नुभयो, “हामीले नबनाउन भनेर फर्कियौँ र अहिले पनि बनिरहेको छ भन्ने सुनेका छौँ ।” 

खोलाको क्षेत्र मिचेर पक्की संरचना बनाउन थालेको विषयमा वडा कार्यालयमा मौखिक उजुरी परेको वडाध्यक्ष सुवास न्यौपानेले जानकारी दिनुभयो । “हामीकहाँ मौखिक उजुरी आएको छ । लिखित रूपमा जानकारी दिनुहोस् भनेका छौँ,” उहाँले भन्नुभयो, “खोलाको क्षेत्र मिचेर व्यक्तिगत संरचना बनाउन पाइँदैन । हामी नियमन गर्छौं ।” स्थानीयले हाल बनाइसकेको संरचनाले समेत असर गर्ने भन्दै काम रोक्नुको सट्टा बनाएको संरचना भत्काउनुपर्ने अडान राखेका छन् । खोला क्षेत्र मिचेर घर बनाइरहेका प्रताप केसीले जग्गा सुरक्षाका लागि मात्रै संरचना बनाएको दाबी गर्नुभयो । “खोलाको क्षेत्र छोडिएकै छ । यसमा माटो हालेर अग्लो गराउँछु,” उहाँले भन्नुभयो, “खोलाको पानी बग्ने भाग छँदै छ ।”

खोलामा घडेरी र पक्की घर

खोलाको क्षेत्र मिचेर पक्की संरचना बनाउने रोग नयाँ मात्र होइन । विगतदेखि खोला क्षेत्र मिचेर पक्की संरचना बनाउने काम चलिरहेको छ । यस विषयमा स्थानीय सरकारले ध्यान दिएको पाइँदैन । सामान्य रूपमा टहरो बनाएर बस्ने, विस्तारै भोगचलन गर्ने र त्यहाँ पक्की संरचना बनाउने यस प्रकारको समस्या बढ्दै गएको छ । घर बनाउँदा पनि खोलाको भाग मिचेर बनाउने, पछि पानी निकास नहँुदा जोखिम बढ्ने देखिएको छ । यसमा लोहटिया, लमही, सुनखोली, अर्नहवा र बगई खोला (सोता) पर्छन् ।