उजिरसिंहले चलाएको भगवती जात्रा

हामी पुर्खाको पौरखमा निर्मित स्वतन्त्र तथा सार्वभौम देशमा रमाइरहेका छौँ । देशका लागि त्याग गरेका तर देशले चिन्न नसकेका व्यक्तिहरू पनि यो मुलुकमा छन् । नेपालको अस्तित्व रक्षामा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिमध्येका एक पुरुषार्थी हुन् कर्णेल उजिरसिंह थापा । रणबहादुर शाहको समयमा बलपूर्वक नसकी छलपूर्ण तरिकाले भए पनि पाल्पा राज्य (विसं १८६१) लाई नेपालमा विलय गराइयो तर पाल्पा राज्य अन्तर्गत पर्ने बुटबल र स्युराजलाई अङ्ग्रेजले आफ्नो हो भनी दाबी गर्‍यो । अङ्ग्रेजको चाहना पाल्पालाई कब्जा गरी पश्चिम नेपाललाई राजधानीबाट विच्छेद गर्ने र तराईको कृषियोग्य भूमि कब्जामा लिने थियो ।