• १२ वैशाख २०८१, बुधबार

जापानको अनैतिक युनिट ७३१

blog

सन् १९३९ देखि १९४५ सम्म विश्वले इतिहासको सबैभन्दा भयङ्कर यस्तो युद्ध देख्यो जसमा ३० भन्दा बढी देश आपसमा कटुता, कलह र रक्तपातको अवस्थामा पुग्दा मच्चिएको लडाइँले संसारभरि १० करोड मानिसको ज्यान गयो । इतिहास साक्षी छ युद्ध त्यस्ता कैयौँ उपकथाले भरिपूर्ण थियो जसका हरेक अध्यायले हाम्रो मानवताको साझा भावना खिल्ली उडाएको देखिन्छ ।

तर युद्धका सबै मोर्चामध्ये द्वितीय विश्वयुद्ध अवधिमा सबैभन्दा बढी शृङ्खलाबद्ध लडाइँ भएको प्रशान्त क्षेत्रमा भएका कारबाही सोचनीय छन् ।

इतिहासवेत्ताहरूले लेखेका छन् सन् १९३१ मा मन्चुरिया र सन् १९३७ मा चीनमाथि आक्रमण गरेर जापानले युद्ध थालनी गरेको थियो । यी हमलाले तत्काल यस्तो हलचल र उथलपुथल सुरु भयो जसले चीनको आधारशिला हल्लाइदियो । त्यहाँ गृहयुद्ध भयो र अकाल उत्पन्न भएर लगभग छ करोड ३० लाख मानिसले ज्यान गुमाए । यस्तो विषम परिस्थिति सन् १९४५ मा चीनको मुक्तिसम्म जारी रहेको थियो ।

आफ्नो प्रभुत्वकालमा साम्राज्यवादी जापानले चीनमाथि बयान गर्न नसकिने आतङ्क मच्चायो । तैपनि ‘युनिट ७३१’ द्वारा गरिएको अत्याचारको तुलनामा त्यो कम नै थियो भन्न सकिन्छ । ‘युनिट ७३१’ जापानको जैविक युद्ध एकाइको केन्द्रबिन्दु थियो, जसले पहिले नै जातिसंहार युद्धलाई आतङ्कको नयाँ गहिराइमा जाकिदियो ।

‘युनिट ७३१’ ले जैविक हतियारको यस्तो भण्डार तयार पार्न खोजेको थियो जसले यस पृथ्वीका हरेक प्राणीलाई घातक रोगद्वारा मार्न सक्थ्यो । बन्दीलाई रोग परीक्षणको साधन बनाएर उनीहरूमा सङ्क्रमण र बिरामीको सहन शक्ति हेर्ने अनैतिक कार्य उद्देश्यले ‘युनिट ७३१’ लाई डिजाइन गरिएको थियो । सन् १९४५ मा बन्द गरिनुपहिलेसम्म ‘युनिट ७३१’ मा यस्तो कार्य चलिरह्यो, मानव इतिहासमा यत्तिको अत्यन्त क्रुर यातना र परीक्षण भएको थिएन ।

सम्भवतः योसिमुरा हिसातोलाई ‘युनिट ७३१’ को जिम्मेवारी दिइनु  चिनियाँ बन्दीका लागि प्रलयको दिन सुरु हुनु थियो । हाइपोथर्मिया परीक्षणप्रति अस्वाभाविक लगाव भएका एक फिजियोलोजिस्ट थिए हिसातो, जसको क्रुरताको कुनै सीमा थिएन । मानव जीवनलाई उनले कुनै महत्व नै दिँदैनथे ।

त्यहाँ मानवजातिमाथि परीक्षण गर्नका लागि विशेष परियोजना चलाइएको थियो, जसलाई मारुता कोड नाम दिइयो । मानिसका हातगोडामा लाग्ने चोटमा मारुताको अनुसन्धान सशक्त बनाउन हिसातोले चिनियाँ बन्दीको हातगोडा पानी र बरफमा डुबाएर त्यतिबेलासम्म राख्दथे जबसम्म हातगोडा जमेर छालामा बरफ नै जमेको देखिँदैनथ्यो । प्रत्यक्षदर्शीहरूलाई इतिहासले उद्धृत गरेर लेखेको छ, जमेका हातगोडा काठ जस्ता हुन्थे । तिनमा हिर्काउँदा काठ बजेको जस्तो आवाज आउँथ्यो तर हिसातोका लागि त त्यो सुरुवात मात्र थियो ।

हिसातोले बन्दीहरूको जमेका हातगोडा यथाशीघ्र तातो बनाउन अनेक विधि परीक्षण गरे । केही प्रयासमा उनले जमेका हातगोडा तातो पानीमा डुबाए । उनले जमेका हातगोडालाई आगोमा सेकाए पनि । पुनः रक्तसञ्चार भएर बरफ पग्लन गई हातगोडा तात्न कति समय लाग्दो रहेछ भनी उनले जमेका हातगोडालाई रातभरि त्यत्तिकै राखेर पनि हेरे ।

मारुता र जीवच्छेदनको असह्य वेदना

एक अनुसन्धान केन्द्रका रूपमा स्थापना गरिएको ‘युनिट ७३१’ सशस्त्र बलको लड्ने क्षमतामा चोट र रोगले पार्ने असरको जाँच गर्नमा तल्लीन थियो । त्यस केन्द्रको एक विभाग मारुताचाहिँ चिकित्सा विज्ञानका परिभाषित सीमा पार गएर आफ्नो अनुसन्धानलाई एक कदम अगाडि लिएर गयो, जबकि उसले रोगीमा चोट र रोगको अवस्थालाई मात्र हेर्नुपर्ने थियो ।

यस परियोजनाले सेनाका स्वयम्सेवीबाट अनुसन्धान सुरु गरेको भए पनि जसै जसै अनुसन्धानले गति लिन थाल्यो स्वयम्सेवीको अभाव हुन थाल्यो र परियोजनाको ध्यान चिनियाँ युद्धबन्दीमा केन्द्रित भयो । सहमति भएका देशको कथा भयो तथा अनुसन्धानमा के कति हदसम्म जाने भन्ने कुनै सीमा नै बाँकी राखिएन ।

यहाँ विशेष रूपमा उल्लेख गर्नैपर्ने हुन्छ, ती दिनमा जीवच्छेदन निकै अभ्यासमा थियो । यो यस्तो प्रक्रिया थियो जसअन्तर्गत जीवन प्रणालीको अध्ययन र परीक्षणका लागि अचेत नपारी मानव शरीरलाई अपाङ्ग बनाइन्थ्यो । ती दिनमा प्लेग र हैजा जस्ता रोगले ग्रस्त हजारौँ कैदी (मुख्य रूपमा चिनियाँ), बूढापाका, किसान र बालबालिकाको अङ्गच्छेदन गरी परीक्षण गरिएको थियो ।

यी सबैको उद्देश्य उनीहरूको मृत्युपछि शरीर कुहिनुपहिले उनीहरूमा लागेका विभिन्न रोगको सम्भावित असरका बारेमा अध्ययन गर्नु थियो । केही घटनामा मानिसका हातगोडा काटेर शरीरको अर्को भागमा जोड्ने कामसमेत गरियो । शरीरमा ग्याङ्ग्रिन अर्थात् अवसाद सङ्क्रमण विस्तारको अध्ययन गर्नका लागि कसै कसैको हातगोडा बरफले जमाउने, कुल्चने वा काट्ने समेत गरिएको थियो ।

जब कुनै व्यक्तिको शरीर यस्ता परीक्षणका लागि अनुपयोगी हुन जान्थ्यो उसलाई घातक इन्जेक्सन लगाएर वा गोली हानेर मारिन्थ्यो । केहीलाई त जिउँदै गाडिएको कुरा पनि इतिहासमा उल्लेख छ । ‘युनिट ७३१’ का यी कैदीबन्दीमध्ये कोही पनि यस्तो अमानवीय कृत्यबाट बचेनन्, चाहे ती चिनियाँ हुन् वा कोरियाली वा रुसी वा मङ्गोलियाली ।


नृशंस शस्त्र परीक्षण

प्रत्येक युद्धमा हतियारमा श्रेष्ठता महाशक्तिहरूमाझ मुख्य चर्चाको विषय हुने गर्छ । जापानीहरू यसमा भलिभाँती जानकार थिए । फरक यति मात्र हो उनीहरूले यसलाई बढी गम्भीरतापूर्वक लिए ।

युद्ध जसै भड्कियो निर्मित हतियारको प्रभावकारिता एक महत्वपूर्ण प्रश्न तथा सेनाको मुख्य चासोको क्षेत्र बन्न गयो । आफ्ना हतियारको मारक क्षमता निर्धारण गर्ने प्रयासअन्तर्गत ‘युनिट ७३१’ ले कैदीबन्दीलाई आफ्नो ‘फायरिङ रेन्ज’ मा भेला गर्दथ्यो ।

‘युनिट ७३१’ ले जापानी हतियारहरू जस्तै ‘बोल्ट–एक्सन राइफल’, ‘नाम्बु ८ एमएम’, ‘मेसिन गन’, ‘ग्रिनेड’ र ‘पिस्तोल’ आदि प्रयोग गरेर उनीहरूमाथि फरक फरक दूरीबाट गोली प्रहार ग¥यो । प्रभावकारिताको विभिन्न स्तरको मूल्याङ्कन गर्न अनुसन्धानकर्ताहरूले घाउको प्रकृति र गहिराइको तुलना गोली लागेर मरिरहेका बन्दी र वास्तविक मृत्युबीच गर्दथे ।

परम्परागत हतियारहरू जस्तै छुरा, तरबार र सङ्गिनको समेत समान रूपले प्रभावकारिता जाँच गरियो । यस परीक्षणका लागि बन्दीलाई बाँधिएको हुन्थ्यो । ‘युनिट ७३१’ ले ढाकिएको र खुला छालामा ‘फ्लेमथ्रोवर’ को पनि परीक्षण गर्‍यो भने ‘ब्लिस्टर एजेन्ट’ र ‘नर्भ ग्यास’बाट बन्दीहरूमा पर्ने प्रभाव जाँच्न रणनीतिक एकाइका भवनमा ‘ग्यास च्याम्बर’समेत बनाइएको थियो ।

बन्दीलाई कुनै स्थानमा बाँधेर उसमा माथिबाट गह्रौँ वस्तु खसालेर कुल्चँदा लाग्ने चोटको अध्ययन पनि गरियो त्यहाँ । व्यक्तिलाई घाइते बनाएर खानेपानीबाट वञ्चित बनाई औसत मानिस पानीबिना कति समय बाँच्ने रहेछ भनी अध्ययन उनीहरूले गरे । अधिकांश मामिलामा ती पीडितले समुद्री पानी मात्र पिउन पाए वा उनीहरूमा रगत सारी र रक्तथेक्ला बन्ने प्रक्रिया विश्लेषण गर्न अमिल्दो मानव रगत वा पशुको रगत चढाइयो पनि ।

‘युनिट ७३१’ मा लामो समय एक्स–रेको प्रभावबाट अनुसन्धानमा प्रयोग गरिएका बन्दीमा नपुंशकता र अपाङ्गता भयो भने एक्स–रेका ‘प्लेट’ लाई गलत किसिमले राखिँदा वा गुप्ताङ्ग, अनुहार वा स्तनका मुन्टा नजिक राख्दा गम्भीर जलनका घटना पनि भए । पाइलट र विमानबाट हाम फाल्ने ‘प्याराट्रुपर’मा ‘जी–फोर्स’ को प्रभावका बारेमा समेत त्यहाँ अध्ययन गरिएको थियो । जसका लागि अनुसन्धानकर्ताले बन्दीलाई एउटा ठूलो अपकेन्द्रित यन्त्र (सेन्ट्रिफ्युज)मा राखेर त्यसलाई निकै तेज गतिमा तबसम्म घुमाए जबसम्म बन्दी अचेत हुँदैन वा मर्दैन । त्यस गतिले सामान्यतया १० देखि १५ ‘जी’ उत्पन्न हुने गथ्र्यो । यसबाट उनीहरूले के थाहा पाए भने बालबालिकामा प्रवेग बल सहन गर्ने क्षमता अधिक हुन्छ ।

युद्धबन्दीमाथि भिरिङ्गीको अध्ययन

प्राचीन इजिप्टका बेलादेखि थाहा भएको कुरा हो यौन रोगले सेनाको सङ्गठनमा नराम्रोसँग व्यवधान उत्पन्न गर्दछ । यस्तै खालको समस्या उत्पन्न हुनबाट रोक्न जापानी सेनाले भिरिङ्गीका लक्षण र उपचारको अध्ययनमा रुचि लियो ।

सुरुवातका लागि ‘युनिट ७३१’ मा चिकित्सकले युद्धबन्दीलाई भिरिङ्गीले सङ्क्रमित गराए, अनि उनीहरूको उपचार रोके र रोगको प्रभाव विस्तार हेरे ।

तथापि रोगको दुष्प्रभाव जान्न त्यतिबेला प्रचलनमा रहेको केमोथेरापीको प्राथमिक घटक तथा समकालीन उपचारक ‘साल्भार्सन’ लाई निश्चित अवधिका लागि प्रयोगचाहिँ गरियो । कतिसम्म अत्याचार गरियो भने भिरिङ्गीले सङ्क्रमित पुरुषलाई बन्दी पुरुष र महिलाको बलात्कार गर्न बाध्य पारेर रोग प्रभावकारी रूपमा सर्ने सुनिश्चितता गरिएको थियो ।

यस प्रकार बन्दीमा रोगको सुरुवात र विस्तारको अवस्था जाँचियो । त्यतिले नपुगेर पहिलो परीक्षणमा सङ्क्रमण नदेखिए थप बन्दीलाई बलात्कार गर्न लगाई सङ्क्रमण स्थापित गराइन्थ्यो ।

बलात्कार र सुनियोजित गर्भधारण

तपाईंलाई लाग्न सक्छ भिरिङ्गीमाथिको परीक्षण निकै क्रुर कृत्य थियो तर बलात्कार र जबरजस्ती गर्भधारणका जुन कार्य ‘युनिट ७३१’ मा भए त्यसका अगाडि सबै फिक्का हुन्छ । सबैभन्दा आमघटना थिए, महिला बन्दीलाई बलात्कार गर्नु र सुनियोजित रूपमा गर्भवती बनाएर उनीहरूमाथि मानसिक आघात र हतियारको परीक्षण गर्नु । 

ती महिलालाई जानाजान प्राणघातक रोगले सङ्क्रमित पार्ने, कुल्चेर घाइते बनाउने, रासायनिक हतियारले प्रभावित पार्ने, बमका छर्रा र गोलीले घाइते बनाउने कामसमेत ‘युनिट ७३१’ मा गरिएको थियो । यी सबैकाम सकेपछि ‘युनिट ७३१’ का चिकित्सकले गर्भवती महिला र भ्रूणमाथि त्यसको प्रभाव जाँच गर्दथे ।

चिनियाँहरूमथि उपियाँ र प्लेग परीक्षण

जसैजसै समय व्यतीत हुँदै गयो यदि समय मिल्छ भने जापानको ‘युनिट ७३१’ सन् १९३९ सम्म आमसंहारको हतियार विकास गर्ने, चिनियाँ नागरिकलाई सखाप पार्ने र मित्र राष्ट्रको सैन्य शक्तिलाई नष्ट पार्ने परम उद्देश्यले परिचालित रहेको स्पष्ट हुन गयो ।

‘युनिट ७३१’ ले मच्नुरियाका विभिन्न स्थानमा हजारौँ बन्दी भेला गरेर राखेको थियो । विज्ञानले त्यतिबेलासम्म थाहा पाएका घातक भाइरस र रोगाणुद्वारा जापानीहरूले ती बन्दीलाई सङ्क्रमित गरे । त्यस्ता रोगाणुको प्रमुख उदाहरण हुन सक्छ ‘यार्सिनिया पेस्टिस’ । यसले ‘न्युमोनिक प्लेग’ र ‘ब्युबोनिक प्लेग’ रोग लाग्दछ । साथै अनुसन्धानकर्ताले जानाजान बन्दीलाई ‘टाइफस’द्वारा सङ्क्रमितसमेत गर्दथे । 

चिकित्सकहरूले रोगाणुका अनेक नश्ल पनि बनाएका थिए । रोगको विभिन्न चरणमा बन्दीमा त्यसको प्रभाव उनीहरू जाँच गर्दथे र जो रोगी बन्दी बाँच्दथ्यो उसलाई गोली हानेर मारिन्थ्यो र रोगले थला परेकोलाई शवगृहमा लगेर त्यत्तिकै छाडिदिन्थे ।

रोगीको रगत लिएर चिकित्सकले अन्य बन्दीलाई सङ्क्रमित पार्ने र त्यस समूहको सबैभन्दा अशक्त रोगीलाई रक्ताम्मे हुन दिएर रोगाणुको अझै घातक नश्लद्वारा बन्दीको अन्य समूहलाई रोगद्वारा सङ्क्रमित बनाउनमा समेत उनीहरू पछाडि परेनन् ।

‘युनिट ७३१’ द्वारा बनाइएको प्लेगको एक अभिप्रायपूर्ण नश्ल थियो– प्लेग बासिलस । युनिटले यसलाई अत्यन्त घातक रोगाणुका रूपमा विकास गरेको थियो । अनुसन्धानका लागि राखिएका बन्दीको अन्तिम जत्थामाथि ठूलो सङ्ख्यामा उपियाँको आक्रमण गराएर प्लेगको जाँच गरियो । अनुसन्धानकर्ताले पहिले उपियाँलाई बम आकारका माटोको भाँडामा बन्द गरे । त्यसपछि सन् १९४० अक्टोबर ४ मा जापानी बम वर्षक विमानले उपियाँसहितका ती भाँडालाई लक्ष्यमा लगेर खसालेका थिए । प्रत्येक भाँडामा रक्तपिपासु ३० हजार उपियाँ राखिएको थियो र सुरुमा चिनियाँ गाउँ क्युझोउमा राखिएका कैदीमाथि ती उपियाँ छाडिए ।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै इतिहासमा उल्लेख गरिए अनुसार बमसँगै नगरका विभिन्न स्थानमा रक्तिम धुलो पनि देखिएको थियो र त्यससँगै त्यहाँ भएका मानिसमाथि रक्तपिपासु उपियाँको आक्रमण सुरु भयो । ती उपियाँले टोक्दा कम्तीमा पनि दुई हजार चिनियाँको प्लेग लागेर मृत्यु भएको थियो र रेल सेवामा काम गर्ने रोगी कर्मचारीले प्लेग सार्दा नजिकैको गाउँ यिउमा थप एक हजारभन्दा बढी मानिसले ज्यान गुमाए । ‘युनिट ७३१’ ले त्यस हमलालाई थप प्रभावकारी बनाउन एन्थ्राक्ससमेत प्रयोगमा ल्याएका कारण कम्तीमा छ हजार मानिसको अनाहकमा मृत्यु भएको थियो ।

द्वितीय विश्वयुद्धको समापनतिर जापानले तिनै उपियाँलाई बमका रूपमा अमेरिकामा प्रहार गर्ने कोसिस गर्‍यो तर कुनै फाइदा भएन । सन् १९४५ अगस्तमा हिरोसिमा र नागासाकीमा अमेरिकाद्वारा परमाणु बम आक्रमण तथा सोभियत सङ्घका सैनिकद्वारा मन्चुरियामाथि आक्रमण गरी जापानी सैन्य शक्तिलाई नष्ट पारेका कारण ‘युनिट ७३१’ को पतन सुरु भएकाले हुन सक्छ अमेरिका उपियाँ आक्रमणबाट जोगिएको । चारैतिरबाट आक्रमण, असफलता र घेराबन्दीमा परेपछि जापानका सम्राटले रेडियो सन्देशबाट आत्मसमर्पण गरेको घोषणा गरे साथै ‘युनिट ७३१’ बन्द भयो ।

‘युनिट ७३१’ ले गरेको सबै अनुसन्धानको रिपोर्ट र रेकर्ड जापानीले जलाइदिए तथा त्यस युनिटद्वारा १३ वर्षमा सङ्कलित सबै सूचनासमेत केही बाँकी नराखेर नष्ट पारियो ।त्यस युनिटमा रहेर काम गरेका केही अनुसन्धानकर्ता केही भएकै छैन जसरी जापानको दैनिक जीवनमा फर्किए । केहीचाहिँ शैक्षिक र चिकित्सा क्षेत्रमा लागेका थिए । 

–उमेश ओझाद्वारा अनुवादित र सम्पादित