• २१ वैशाख २०८३, सोमबार

सङ्ग्रहालय भवन पन्ध्र वर्षदेखि अलपत्र

blog

बागलुङ समाचारदाता

बागलुङ, वैशाख २१ गते । जिल्लाका आदिवासी जनजातिको सांस्कृतिक पहिचान झल्काउने उद्देश्यसहित निर्माण थालिएको जनजाति सङ्ग्रहालय विगत पन्ध्र वर्षदेखि अलपत्र परेको छ । लामो समयदेखि काम रोकिँदा बनेका संरचना पनि जीर्ण बन्दै गएका छन् । तत्कालीन जिल्ला विकास समितिको २५ लाख र विभिन्न दाता खोजेर झन्डै ३५ लाख रुपियाँको लगानीबाट बागलुङ नगरपालिका–१, रामरेखाको कालिका मन्दिर परिसरमा भवन निर्माण थालिएको थियो । एक तला ढलान गरेपछि भवनको काम अलपत्र परेको हो । 

२०६८ सालमा निर्माण थालनी भएर दुई वर्षसम्मको बजेटले पहिलो तला ठड्याइएको भए पनि त्यसयता बजेट आउन छाडेपछि भवनको निर्माणकार्य अलपत्र परेको हो । जीर्ण भवनको भित्तामा झार उम्रेको छ । ढलानमा लेउ लागेको छ भने रडमा खिया लागेर कामै नलाग्ने भएका छन् । अलपत्र भवन अहिले साधुसन्त र बटुवाको आश्रयस्थल बनेको छ । 

बजेट अभावमा भवनको काम अलपत्र परेको आदिवासी जनजाति जिल्ला समन्वय समितिका तत्कालीन उपाध्यक्ष ओमकार थापाले बताउनुहुन्छ । तीनतले भवन बनाएर सङ्ग्रहालयसहित आदिवासी जनजाति जिल्ला समन्वय समितिको कार्यालय राख्ने योजना बने पनि जग्गा विवाद र बजेट आउनै छाडेपछि काम अलपत्र परेको थापाको भनाइ छ ।  

थापाले भन्नुभयो, “वनक्षेत्रको जग्गामा कुनै पनि कानुनी प्रक्रिया नपु¥याई काम थाल्दा भवन नै कानुनविपरीत बनेको देखियो ।” भवनमा बागलुङका आदिवासी जनजातिको संस्कृति झल्कने पोसाक र दैनिक जीवनका परम्परागत सामग्री राख्ने लक्ष्य राखिएको थियो । यहाँमा मगर, छन्त्याल, नेवार, गुरुङ र थकालीलगयात जनजातिको बसोबास छ । मौलिक पहिचान झल्काउने संस्कृति संरक्षणमा स्थानीय सरकार र समुदायले चासो नदिँदा भवन अलपत्र परेको आदिवासी जनजाति जिल्ला समन्वय समितिका पूर्व उपाध्यक्ष तेजेन्द्र थापाले बताउनुभयो । तत्कालीन जिल्ला विकास समिति र आदिवासी जनजाति जिल्ला समितिले ३३ प्रतिशत स्वामित्व लिने सहमतिपछि विवाद टुङ्गिए पनि अगुवाले बेवास्ता गरेको तत्कालीन जिल्ला विकास समितिका योजना शाखाका कर्मचारी ससबहादुर पुनले बताउनुभयो ।