अर्जुन काफ्ले
स्याङ्जा, वैशाख २१ गते । चापाकोट नगरपालिका–सुन्तलीटारस्थित गंगालाल माध्यमिक विद्यालयको खेलमैदानमा ‘मुन लाइट ग्रुप’ प्रथम चापाकोट क्रिकेट लिग आयोजना हुने भएको छ ।
चापाकोट क्रिकेट संघले नगरपालिकाको संरक्षकत्वमा आयोजना गर्न लागेको प्रतियोगिता यही वैशाख २६ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।
पाँच समूहको सहभागिता रहने उक्त प्रतियोगिता टी–ट्वान्टी राउन्ड रोबिन प्रणालीमा खेलाइने चापाकोट नगर क्रिकेट संघका अध्यक्ष प्रेमनारायण रेग्मीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख १० हजार रुपियाँ तथा दोस्रो हुने टोलीले ६० हजार रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विभिन्न विधागत पुरस्कारहरू पनि खेलाडी तथा टिमलाई प्रदान गरिने अध्यक्ष रेग्मीले बताउनुभयो ।
प्रतियोगितामा जिल्लाभित्रका पाँच टिमको सहभागिता रहनेछ भने अक्सनमार्फत देशभरका खेलाडीको पनि सहभागिता रहनेछ । साथै, प्रत्येक टिममा एक जना अन्डर–१६ र एक जना अन्डर–१९ खेलाडी अनिवार्य रूपमा खेलाउनुपर्ने व्यवस्था गरिएको छ ।
प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने टोली सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो स्थानका टोलीले सेमिफाइनल खेल्दै फाइनलमा प्रवेश गर्नेछन् ।
स्थानीय स्तरमा क्रिकेटको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष रेग्मीले बताउनुभयो ।
आयोजकले प्रतियोगिताबाट १५ लाख रुपियाँ आम्दानी हुने र करिब १० लाख रुपैयाँ खर्च भई बाँकी पाँच लाख रुपैयाँ खेलकुद क्षेत्रमा लगानी गरिने जनाएको छ ।