• २१ वैशाख २०८३, सोमबार

पाल्पामा घाटु संस्कृति संरक्षण गर्दै स्थानीय

blog

निस्दी–४ भोर्माका कन्याहरू घाटु नाच प्रस्तुत गर्दै । तस्बिर : इमान सिं राना

इमान सिं राना
रामपुर (पाल्पा), वैशाख २१ गते ।
वैशाख पूर्णिमाको अवसरमा पाल्पाका ग्रामीण बस्तीहरूमा स्थानीयहरूले तीन दिनसम्म घाटु नाच प्रस्तुत गरेका छन् । सदियौँदेखि जिल्लाको पूर्वी क्षेत्रका मगर समुदायमा नाचिँदै आएको घाटु नाचलाई स्थानीयले यस वर्ष पनि निरन्तरता दिएका हुन् ।

पूर्णिमाको अवसरमा गत शुक्रबारदेखि सुरु भएको घाटु नाच आइतबार पूजा–अर्चनासहित विधिपूर्वक समापन गरिएको हो । मगर समुदायको बाहुल्यता रहेको पाल्पाका अधिकांश स्थानमा पहिले घाटु नाचिने भए पनि लोप हुँदै जाँदा अहिले निस्दी र पूर्वखोलाका केही बस्तीमा मात्र सीमित रहेको छ । निस्दी गाउँपालिका–३, ४, ५ र ७ का केही बस्तीमा अझै पनि घाटु नाच जीवित रहेको छ ।

घाटु नाचमा गुरुआमाले गीत सुरु गरेपछि सहभागी महिलाहरूले साथ दिने गर्छन् । यस क्षेत्रमा सती घाटु नाच्ने परम्परा रहेको छ, जसमा राजाको निधनपछि रानी सती गएको कथालाई गीतमा समेटिएको हुन्छ । घाटु नाचमा परशुराम राजा र यम्पावती रानीको कथावस्तुलाई आधार बनाई नाच्ने र गाउने गरिन्छ ।

तीन दिनसम्म नचाइने घाटुमा राजारानीको विवाह, प्रेम, गृहस्थी, राजकाज, शिकार, पुत्रबढाइँ, लडाइँ र मृत्युसम्मका कथाहरू गीतमार्फत प्रस्तुत गरिन्छन् । निस्दी–४ भोर्माका ७४ वर्षीय गुरुआमा पार्वती ठाडाले बताउनुभयो ।

घाटु नाचमा गुरुआमाले गीत सुरु गरेपछि अन्य सहभागी महिलाहरू गाउने र घाटुसरी ९कन्या तथा बालिका० नाच्ने गर्छन् । शिकारको प्रसङ्गमा प्रवेश गर्दा पुरुषहरूले समेत अभिनय गर्ने गर्छन् । घाटु गीत सुरुदेखि अन्त्यसम्म नबिराई गाउनुपर्ने भएकाले सबैले गुरुआमा बन्न नसक्ने हुँदा यसको संरक्षणमा चुनौती देखिएको छ । यही कारण एक समय व्यापक रूपमा नाचिने घाटु अहिले केही स्थानमा मात्र सीमित भएको हो ।

भोर्माका ७६ वर्षीय सर्मौती खाम्चाका अनुसार प्रत्येक वर्ष वैशाख शुक्लपञ्चमीदेखि गीत सुरु गरी चण्डी पूर्णिमासम्म तीन दिन घाटु नाच्ने परम्परा छ । गीतमार्फत सबै देवीदेवताको नाम लिएर विधिवत् रूपमा घाटु सुरु गरिन्छ । पछिल्लो समय केही स्थानमा अन्य समयमा पनि घाटु नाच्ने गरिएको छ । घाटु नाचेमा देवीदेवता प्रसन्न हुन्छन् भन्ने विश्वास रहेकाले परम्परा निरन्तरता दिइएको उहाँले बताउनुभयो ।

कन्याहरू एकपटक घाटु नाचेपछि विवाह नभएसम्म प्रत्येक वर्ष नाच्नुपर्ने मान्यता रहेको छ । यस कारण अभिभावकहरूले प्रेरित गरे पनि नयाँ पुस्ता भने सहभागी हुन इच्छुक नदेखिएको विगत ८ वर्षदेखि घाटु नाच्दै आउनुभएकी किशोरी विष्णुमाया ठाडाले बताउनुभयो ।

भोर्माका महिला नेतृ सुमित्रा ठाडाले कन्याहरू आफ्नै खर्चमा सजिएर घाटुमा सहभागी हुने गरेको बताउनुभयो । व्यवस्थापनका लागि प्रत्येक घरबाट सहयोग संकलन गरेर संस्कृति जोगाइँदै आएको स्थानीय नरेश सुनारीले जानकारी दिनुभयो ।

घाटु नाच महिलाको नेतृत्वमा गरिए पनि निस्दी–५ बेलौजीमा भने ७८ वर्षीय गुरुबा हुमबहादुर सुनारीको नेतृत्वमा घाटु प्रदर्शन हुँदै आएको छ । पछिल्लो वर्षदेखि उहाँकै नेतृत्वमा घाटु नाच निरन्तर भइरहेको स्थानीय युवा यमबहादुर सारुले बताउनुभयो । टोलस्तरीय संस्कृति जगेर्ना समितिमार्फत व्यवस्थापन हुँदै आएको उहाँले जानकारी दिनुभयो ।

निस्दी–५ का बेलौजी, बाङ्लाङ, गाबुडाँडा र खरकडाँडा, निस्दी–३ को दुनीडाँडा, ४ को भोर्मा र भिरपानीमा आइतबार साँझ घाटु समापन गरिएको हो । निस्दी–७ ज्यामिरे बतासामा भने तीन दिनअघि सुरु गरी पूर्णिमाकै दिन घाटु समापन गरिएको थियो । यस वर्ष पनि घाटु नाच हेर्न अवलोकनकर्ताको उपस्थिति बाक्लो रहेको थियो । पूर्वखोला गाउँपालिकाको जल्पा ढोलीमारामा पनि घाटु नाच्ने परम्परा रहेको छ ।