राजन रावत
हुम्ला, वैशाख २१ गते । चीनद्वारा नेपाल–चीन सीमा क्षेत्र हिल्सामा निर्माण गरिएको मितेरी पुल तत्काल सञ्चालनमा नआउने भएको छ । सीमा क्षेत्रसँग जोडिएका दुवै देशका प्रतिनिधिबिच हिल्सामा भएको अनौपचारिक छलफलपछि चिनियाँ पक्षले तत्काल पुल सञ्चालन नहुने जनाएको हो ।
दुवै देशका सीमा जोडिएका क्षेत्रका प्रतिनिधिबिच हिल्सास्थित पुल निर्माणस्थलमै कार्यस्थलमा आधारित सूचना आदानप्रदान कार्यक्रमसमेत गरिएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनुभयो ।
शुक्रबार भएको छलफलमा चिनियाँ पक्षले पहिले काठमाडौँमा चीन सरकारले नेपाल सरकारलाई उक्त पुल औपचारिक रूपमा हस्तान्तरण गर्ने र नेपाल सरकारले त्यसलाई स्वीकार गरेपछि मात्र दुवै देशको सहमतिमा सञ्चालन प्रक्रिया अघि बढाइने जानकारी दिएको उहाँले बताउनुभयो ।
हिल्साको मितेरी पुलसँगै पुलको नेपाली क्षेत्रतर्फको पिलरदेखि करिब साढे तीन सय मिटर कालोपत्रे सडक चीनले निर्माण गरेको छ । चिनियाँ पक्षले आफ्नोतर्फको प्रवेशद्वार निर्माण गरिसकेको छ भने नेपालतर्फको निर्माण बाँकी रहेको छ ।
पुल निर्माणका क्रममा भएका सम्पूर्ण गतिविधिबारे चिनियाँ पक्षले नेपाली प्रतिनिधिलाई जानकारी गराएको थियो । उक्त पुल नेपाल सरकार र चीन सरकारबिचको बेइजिङ सम्झौताको दफा ६ बमोजिम चीन सरकारले निर्माण गरेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो ।
छलफलमा सीमा सुरक्षा तथा हिल्सा क्षेत्रमा दुवै देशविरुद्ध हुन सक्ने गतिविधिबारे पनि विचारविमर्श भएको थियो । दुवै पक्षले त्यस्ता गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाली पक्षबाट प्रमुख जिल्ला अधिकारी रेग्मी, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, प्रहरी नायब उपरीक्षक शंकर खड्का, सशस्त्र प्रहरी नायब उपरीक्षक पुष्करबहादुर सिंह, राष्ट्रिय अनुसन्धान प्रमुख मेघराज कँडेल तथा हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीलगायतको सहभागिता रहेको थियो ।