अविनाश चौधरी
धनगढी, बैशाख २१ गते । कैलालीसहित सुदूरपश्चिम प्रदेशको विभिन्न ठाउँमा आज विहानैदेखि निरन्तर वर्षा भइरहेको छ । हावाहुरीसहित वर्षा भइरहेको हो । विहान ५ बजेदेखि अहिलेसम्म वर्षा जारी रहेको छ ।
वर्षाको पानी खेतमासमेत भरिन थालेको छ । पानी परेपछि यहाँ चिसो पनि महसुस भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको आज विहानको बुलेटिनअनुसार सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मकोे वर्षा भइरहेको छ ।
हाल यो प्रदेशमा पूर्णतया बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी, कोशी, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र र देशको हिमाली भू–भागमा बादल लागेको छ । त्यस्तै, पहाडी र तराई भू–भागमा आंशिक बादल लागेको छ ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ । नेपालको दक्षिणतिर अवस्थित पूर्वदेखि पश्चिमसम्म फैलिएकोे न्यून चापीय रेखाकोसमेत प्रभाव रहेको जनाइएको छ ।