बैतडी समाचारदाता
बैतडी, वैशाख २१ गते । पञ्चेश्वरका सुकुमवासीलाई महाकाली कोरिडोरछेउको जग्गा दिने तयारी भएको छ । पञ्चेश्वर गाउँपालिका र भूमि समस्या समाधान अयोगको जिल्ला कार्यालयले प्राविधिकमार्फत नापजाँचको काम सकेर हकदाबीसम्बन्धी सात दिने सूचना प्रकाशित गरेको छ ।
सुकुमवासीलाई एकै ठाउँमा जग्गा दिन पञ्चेश्वर गाउँपालिका–४ को महाकाली कोरिडोरसँग जोडिएको जाइबाटामा जग्गा नापजाँचको काम भएको भूमि समस्या समाधान अयोगका जिल्ला अध्यक्ष रमेश पाण्डेयले बताउनुभयो । उहाँले पहिलो चरणमा त्यहाँ २० जना सुकुमवासीलाई जग्गाको लालपुर्जा प्रदान गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जग्गा नापजाँच भएको स्थान वनजङ्गलमा नपरेको सरकारी खाली जग्गा भएको पुष्टि भएको छ । सो जग्गामा कसैको दाबी विरोध भएमा उजुरी गर्न यही वैशाख १७ गते जिल्ला आयोगले कित्ता नम्बर २१८ को जग्गामा हकदाबी गर्नेसम्बन्धी सात दिने सूचना प्रकाशित गरेको छ ।” आयोगले सूचनामा जग्गा प्राप्त गर्ने व्यक्तिको नामावलीसमेत प्रकाशित गरेको छ ।
सुकुमवासीलाई जग्गा दिन गाउँपालिकाले प्रमाणीकरण गरेको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । उहाँले सुकुमवासीको एकीकृत बस्ती बसाल्न सके बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पूर्ति गर्न सहज हुने भएकाले पञ्चेश्वर गाउँपालिका–४ को महाकाली कोरिडोरनजिकैको जाइबाटाको भूगोल छनोट गरिएको बताउनुभयो ।
सुकुमवासीलाई जग्गा दिन पटक पटक आयोग बने पनि काम सुरु हुन सकेको थिएन । यो पटक जग्गा नापजाँचको काम सकिएर लालपुर्जा पाउने प्रक्रिया अघि बढेको गाउँपालिका अध्यक्ष चन्दले बताउनुभयो । यहाँका सुकुमवासी २०५२ सालदेखि जग्गा पाउने आसमा थिए । त्योबेला गठन भएको गोविन्दप्रसाद कलौनी अध्यक्ष रहेको आयोगले बैतडीका २५० जनालाई लालपुर्जासमेत बाँडेको थियो । यद्यपि सो लालपुर्जा अनुसारको जग्गा भने कतै भेटिएको छैन । यो पटक साँच्चै जग्गा पाउने आशा बढेको पञ्चेश्वरका सुकुमवासीले बताएका छन् ।