• २१ वैशाख २०८३, सोमबार

पाठेघरको शल्यक्रियापछि फेरियो दैनिकी

blog

निःशुल्क शल्यक्रियापछि सामूहिक तस्बिर खिचाउँदै । तस्बिर : चित्र मिजार

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, वैशाख २१ गते । आङ खस्ने रोगबाट ग्रसित त्रिपुरासुन्दरी गाउँपालिका–५, तौथलीकी ७८ वर्षीय सानुमाया विकको दैनिकी यतिबेला फेरिएको छ । ११ वर्षदेखि रोगबाट जुधिरहेकी उहाँको पाठेघरको शल्यक्रिया भएसँगै उहाँ खाना पकाउने, घरधन्दा गर्ने, खेतबारीको काम गर्ने सक्ने हुनुभएको छ । 

त्रिपुरासुन्दरी–४, पिस्करकी पाँच सन्तानकी आमा ५७ वर्षीय कदममाया थामी पाठेघर खसेको समस्यापछि शल्यक्रियाको उपचार पाउँदा हर्षित हुनुहुन्छ । पहिले कुनै काम गर्न कठिन हुने तर पाठेघरको शल्यक्रियापछि सबै काम गर्न सकेको बताउनुभयो । त्रिपुरासुन्दरी गापा–४ कै ८० वर्षीय सोममाया तामाङ शल्यक्रियापछि हिँडडुल गर्न सहज भएको बताउनुभयो । सोही पालिका पिस्करकी ७० वर्षीय कृष्णकुमारी विकले पाठेघरको शल्यक्रियापछि जीवन सहज भएको जानकारी दिनुभयो । “पहिले यही रोगले मरु जस्तो लाग्थ्यो तर अहिले धेरै वर्ष बाचौँ जस्तो लाग्छ,” विकले भन्नुभयो । त्रिपुरासुन्दरी गाउँपालिकाले विगत वर्षदेखि १०४ जना आङ खसेका महिलाको निःशुल्क सफल शल्यक्रियाको व्यवस्थापन गरेको छ । गाउँपालिकाले ‘आमा बचाउ’ कार्यक्रममार्पmत काभे्रपालञ्चोकको बनेपास्थित शिर मेमोरियल हस्पिटलमा पाठेघरको शल्यक्रिया गराउँदै आएको पालिकाका अध्यक्ष भक्तध्वज बोहोराले जानकारी दिनुभयो । 

सो गाउँपालिकाका छ वटा वडाकै पाठेघरका समस्या रहेका महिलाको पहिचान गर्दे निःशुल्क शल्यक्रिया गराउन थालेपछि महिलाले स्वास्थ्य लाभ पाएको स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण साहले बताउनुभयो । सबैको खर्च गाउँपालिकाले बेहोर्दै आएको बोहोराले थप्नुभयो ।

कम उमेरमा विवाह, धेरै सन्तान, गहुङ्गो भारी बोक्ने, लामो समय टुक्रक्क बस्ने महिलामा पाठेघर खस्ने समस्या धेरै देखिएको अध्ययनले देखाएको छ । सो पालिकाका महिलाले आर्थिक अभाव, लाज, चेतनाको अभावले गर्दा घरपरिवारलाई आफ्नो समस्या बताउन नसकिरहेका बेला पालिकाले नै त्यस्ता सेवा घरदैलोमा ल्याएपछि पीडितलाई लाभ मिलेको छ ।