• १२ पुस २०८१, शुक्रबार

माघीको मेलमिलाप

blog

थारूको सबैभन्दा ठूलो पर्व माघी थारूहरूले परापूर्वकालदेखि धूमधामसँग मनाउँदै आइरहेका छन् । थारू समुदायले स्थान विशेष अनुसार फरक फरक तरिकाले विशेष महत्व दिएर माघी मनाउने गर्छन् । यस पर्वलाई थारूले विशेष गरेर नयाँ वर्ष, उन्मुक्ति दिवस, सदभाव र मेलमिलापका रूपमा तथा चेलीबेटीलाई कोसेली उपहार दिने पर्वका रूपमा मनाउने चलन रहिआएको छ ।  यस पर्वमा धुमरु गीत गाउने, डफ, मादल बजाउने र मघौटा आदि नाच नाच्ने गरिन्छ ।

महान् पर्व माघीको ठूलो सामाजिक महत्व छ । माघी पर्वले थारू जातिमा रमाइलो तथा रमझम मात्र होइन यस महान् पर्वले थारू जातिमा आपसी मेलमिलाप, सदभावना, मान मर्यादा, सेवा सत्कार, आदर र सम्मानका नैतिक पाठ सिकाएर जाने गर्दछ । माघी पर्व खासगरी पुसको २७ गतेदेखि माघको पहिलो हप्तासम्म विभिन्न रूपमा मनाउने गरिन्छ । जसमध्ये माघ १ गतेलाई प्रमुख रूपमा लिइन्छ । तिथि अनुसार यो दिन मकर सङ्क्रान्ति पर्दछ । यस दिन कुनै किसिमको  बलि चढाउने र काटमार गर्नु हुँदैन भन्ने सामाजिक मान्यता रहिआएको छ ।

माघी पर्व मनाउनका लागि कम्तीमा एक महिना अगाडिदेखि तयारी सुरु हुन्छ । जसमा प्रमुख रूपमा अनदीको गुलियो जाँड, दाउराको व्यवस्था, वनबाट पात टिपेर ल्याई दुना टपरी गाँस्ने, माछा मार्ने, ढिक्री खानका लागि नयाँ चामल पिसाउने, तोरीको तेल पेल्ने आदि कार्य गरिन्छ । साथै नाचगानका लागि पनि विभिन्न स्तर तथा समूहमा तयारी गरिन्छ । जस्तै : केटाकेटी समूह, युवती समूह, युवा समूह, किसान समूह आदि । 

थारूले आआफ्नो गच्छे अनुसार यस पर्वमा नयाँ लुगा लगाउने चलन छ । नयाँ कपडा किनेर ल्याई सिलाउने पनि गरिन्छ । आर्थिक अवस्था कमजोर भएकाहरू पनि आफ्ना छोराछोरीका लागि अनिवार्य रूपमा लुगा किनिदिने गर्छन् ।

माघी पर्वको सुरुवात र अन्त्य

माघी पर्व पुस महिनाको अन्तिम साता सुरु भएको मानिन्छ । अर्थात् ‘जिता मर्ना दिन’ (मासुको व्यवस्था गर्ने दिन) देखि माघी सुरु हुन्छ । यस दिन छिमेकीको घरमा गई ‘माघक टिप्पा’ चाख्ने (माघीको सुरुवात) भनी अनदीको गुलियो जाँड र सुँगुरको मासु खाने गरिन्छ । 

माघ लहान (माघ १ गते नुहाउने दिन)

पुस महिनाको अन्तिम रात डफ बजाउने ढमरु गीत र छोकरा, झुमरा नाच नाच्ने गरिन्छ । जब बिहान पहिलो प्रहर सुरु हुन्छ त्यही बेला घरका साना ठूला पुरुष सबैजना सकेसम्म नदीको दोभानमा बाजागाजासहित नुहाउन जाने गरिन्छ । महिलाले घरको काममा बढी व्यस्त हुनुपर्ने भएकाले सबभन्दा नजिक पर्ने कुवा, घाट वा खोलानालामा गएर नुहाउने गर्छन् र खानेकुरा तयार गर्नमा लाग्छन् ।

टीका लगाउने

माघी पर्वको उपलक्ष्यमा नुहाइसकेपछि टीका लगाउने क्रम सुरु हुन्छ । यस क्रममा घरमुलीले पहिले आफूलाई टीका लगाइसकेपछि आफ्ना भाइ, छोरा, भतिजा, नाति र अन्य सबैलाई टीका लगाइदिने तथा साइनो अनुसार आफूभन्दा ठूलाबडालाई ढोग्ने र सानालाई शुभ आशीर्वाद दिने गर्छन् । 

निश्राउ कहर्ना (कोसेली छुट्याउने)

नुहाइधुवाई गरेर घरमा फर्केपछि घरका सबै पुरुषले सर्वप्रथम ‘निश्राउ कहार्ने’ गर्छन् । यसका लागि घरको एउटा कोठामा एउटा भाँडोमा चामल, नुन र मासको दाल राखिएको हुन्छ । यिनै चामल, नुन र मासलाई छु्ट्टाछुट्टै भाँडामा पाँच पाँच मुठी झिकेर राखिन्छ । यो प्रक्रियालाई ‘निश्राउ कहर्ना’ भनिन्छ । ‘निश्राउ’ जति झिकेर राखेको छ त्यसैमा केही थपेर माघीको दोस्रो दिनमा आफ्ना दिदीबहिनीलाई दिन जाने गरिन्छ ।


सेवा ढोग लाग्ने र खानेकुरा खाने 

‘निश्राउ कहर्ना’ सकेपछि घरको सबैभन्दा जेठो महिला वा पुरुषबाट सुरु गरी आफूभन्दा पाका सबैसँग सेवा ढोग लाग्ने र आशिष लिने गरिन्छ । आआफ्ना घरमा सेवा ढोग लागेर खानपिनपछि छरछिमेक तथा गाउँघरमा आफ्ना मान्यजनसँग सेवा ढोग लागेर आशीर्वाद लिने र सानालाई आशीर्वाद दिनुका साथै माघी पर्वको खस्रा मिठा परिकार खाने गरिन्छ । 

देशमा थारू जातिले आआफ्नो स्थान विशेष फरक फरक परिकार खाने गर्छन् । जस्तै अनदीको जाँड, दारु, माछा, सुँगुर र बङ्गुरको मासु, ढिकरी, रोटी, तिलको लड्डु, तरुल, सक्खरखण्ड अनदीको उसिनेको भात, खँरिया, खिचडी आदि । यस दिन सम्बन्ध बिग्रेको र बोलचाल बन्द भएकासँग गएर पनि सेवा ढोग लाग्ने गरिन्छ । यसले खेतीपातीको क्रममा तथा अन्य बेला हुन गएका मनमुटाव र रिसइबी बिर्सेर सहिष्णुता, सदभाव पुनस्र्थापना गर्न गराउन मद्दत पुग्छ ।

‘निश्राउ दिह जैना’ (कोसेली दिन जाने)

माघी पर्वको भोलिपल्ट माघी दिवानीको दिन दाजुभाइले आफ्ना दिदीबहिनीलाई ‘निश्राउ’ (कोसेली) अनिवार्य रूपमा दिन जाने गर्छन् । कोसेलीमा माघ १ गते छुट्याइएको चामल, नुन, दाल र विभिन्न मिठा मिठा परिकार दिन जाने चलन रहेको छ । 

दाजुभाइले आफ्ना दिदीबहिनीलाई सदभावका साथ बर्सेनि दिने ‘निश्राउ’को ठूलो महत्व रहेको छ । माघ २ गते हरेक दिदीबहिनीले ‘निश्राउ’ दिन आउने आफ्ना दाजु वा भाइको प्रतीक्षा गर्छन् । यस दिन चेलीहरूले ‘निश्राउ’ दिन आउने दाजुभाइको विशेष स्वागत गरी मिठा मिठा परिकार खान दिने गर्छन् । यसले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध अझ प्रगाढ र जीवन्त बन्न मद्दत पुग्छ ।  यस कुराबाट दाजुभाइले आफ्ना दिदीबहिनीलाई आर्थिक सहयोग, माया, ममता र स्नेह गरेको कुरा प्रस्ट हुन्छ । 

थारूले माघ १ गतेदेखि नयाँ वर्षको थालनी भएको मान्दछन् । यसले पुस मसान्तमा गत सालको सबै कारोबारको अन्त्य र माघ १ गतेदेखि नयाँ कारोबारको थालनी गर्ने चलन छ । यस क्रममा गरिने विभिन्न क्रियाकलापलाई दुई समूहमा वर्गीकरण गरिएको छ ।

सामूहिक कामकाज

सामूहिक कामकाजको सम्बन्धमा पनि माघीको तेस्रो दिनदेखि करिब सातौँ दिनसम्म धेरै कामकुराको छिनोफानो लगाउने  गरिन्छ । यसका लागि गाउँको हरेक किसानको घरबाट खासगरी घरमुली, बरघरिया वा भलमनसाको घरमा भेला हुने गर्छन् । यस भेलालाई ‘खे¥या खैना’ भन्ने चलन छ । यस भेलामा गरिने छलफलका बुँदा यस प्रकार हुन्छन्–

  • गाउँको साझा कुलो, भरुवा, वेगारी तथा सार्वजनिक काममा कसले कति जना लगाउने ।
  • गाउँको साझा देवीदेवता तथा विभिन्न पूजापाठ गर्ने गुरुवा राख्ने ।
  • बरघर, भलमनसा, चौकीदार, कामी, चिरक्या राख्ने ।
  • तिहाइ कसरी दिने र उठाउने सम्बन्धमा कुरा गर्ने ।
  • बसाइँसराइ सर्ने कि नसर्ने  सम्बन्धमा  छलफल गर्ने आदि ।

माघी थारूको राष्ट्रिय महान् पर्व हो । यस पर्वले थारूको सामाजिक व्यवहारलाई मर्यादित, सम्मानित, आदरणीय तथा आतिथ्यपूर्ण बनाउन तथा सो अनुसारको पाठ सिकाउने गर्दछ । यस पर्वलाई नयाँ वर्षका रूपमा, उन्मुक्ति दिवसका रूपमा, सदभाव र मेलमिलापका रूपमा मनाउने चलन छ । नेपाल सरकारले समेत यस पर्वलाई थारूको राष्ट्रिय पर्वका रूपमा मान्यता दिएकाले यस पर्वको महत्व अझै बढेर गएको छ । 

घरायसी कामकाज

माघीको पहिलो र दोस्रो दिनपछि घरका सबै जना एकै ठाउँमा बसेर तयार गरिएका मिठा मिठा परिकार खाँदै घर व्यवहारबारे छलफल गर्छन् । यस क्रममा आगामी वर्षका लागि के के गर्ने के नगर्ने बारेमा समेत छलफल हुने गर्दछ । जस्तै :

  • घरमुली कसलाई बनाउने ।
  • बसाइ सर्ने कि नसर्ने ।
  • घर छुट्टिने कि नछुट्टिने ।
  • विवाह गर्ने कि नगर्ने ।
  • कमैया, कमलरी लाग्ने कि नलाग्ने ।
  • खेत जोत्ने वा छोड्ने ।
  • जग्गाधनी र जोताहाका सर्तबारे छलफल गर्ने ।
  • घरमा काम गर्ने मानिस राख्ने वा नराख्ने ।
  • घरको लेनदेनबारे छलफल ।
  • घरको काम गर्ने अगुवा कसलाई बनाउने ।
  • साहुमहाजन कोसँग व्यवहार गर्ने ।
  • आगामी वर्षका लागि योजना बनाउने आदि ।

  

Author

निशा चौधरी