• १६ वैशाख २०८१, आइतबार

जब आकाशमै विमानको छत उड्यो

blog

सन् १९८८ मा हवाईमाथिको आकाश उड्डयन इतिहासको एक  अविश्वसनीय र विस्मयकारी घटनाको साक्षी बनेको थियो । अलोहा एयरलाइन्सको फ्लाइट–२४३ सँगको त्यो घटना चानचुने थिएन । उड्दाउड्दै त्यस विमानको संरचना नै ध्वस्त भएको थियो । चमत्कार नै मान्नु पर्छ विमानको छत नै उड्दा पनि चालकदलका सदस्यले विमानलाई सकुशल अवतरण गराए । मात्र एक जनाको त्यस घटनामा ज्यान गयो । 

अलोहा एयरलाइन्सको फ्लाइट–२४३ ले हवाई राज्यको एक टापु हाइलोबाट ओआहु टापुको होनोलुलु जान अन्तर्राष्ट्रिय उडानका लागि सन् १९८८ अप्रिल २८ अपराह्न प्रस्थान गरेको थियो । विमानमा चालकदलका पाँच जना र ९० यात्रु थिए । 

विमान थियो बोइङ ७३७–२०० । आफ्नो सुरक्षा र विश्वसनीयताका लागि परिचित यो विमान व्यावसायिक फ्लाइटमा प्रयोग भइरहन्थ्यो । विमानले उडान भर्नुपहिले फ्लाइटको सुरक्षाका लागि अनिवार्य मानिएका सबै सुरक्षा जाँचसमेत गरिएको थियो तर कसैले पनि चिताएका थिएनन् यसरी आकाशमै विमानको छत उड्ने छ । 

विमानले उडान भरेको लगभग २३ मिनेट भएको थियो । २४ हजार फिटको उचाइमा उडान भरिरहेका बेला अचानक ठूलो आवाज गर्दै विमानको छतको एक भाग हावामा उछिट्टियो । पाइलटले फर्केर हेरे जहाँ पहिले प्रथम श्रेणीको क्याबिनको छत थियो त्यहाँबाट आकाश देखिँदैछ । ककपिटको ढोका भएको स्थानको छतमा प्वाल भएको थियो ।   

क्याबिनदेखि विमानको पखेटासम्मको भागमा छत थिएन । न्यून दबाबले छत उड्दा त्यसैमुनि उभिइरहेका ‘फ्लाइट अटेन्डेन्ट’ ५८ वर्षका सिबी लान्सिङ हावामै उडे । उनको शव फेला परेन ।भाग्यले त्यतिबेला सबै यात्रुले ‘सिट बेल्ट’ बाँधिराखेका थिए । यस कारण थप कसैको ज्यान गएन तर ६५ यात्रुलाई चोट लाग्यो । 

छत उडेपछि अचानक न्यून चाप सिर्जना भएर विमानमा ठूलो तनाव उत्पन्न हुन पुगेको थियो । हावाले विमानको संरचना नै ध्वस्त पार्ने र विमानलाई टुक्राटुक्रा बनाउने खतरा उत्पन्न भयो । जसै विमानमा न्यून चापले कम्पन्न भयो क्याप्टेन रोबर्ट सर्नस्टाइमर र ‘फस्र्ट अफिसर’ मेडलिन मिमी टम्पकिन्सले आपत्कालीन कारबाही गर्न थाले । ती दुवैसँग समग्रमा यस आधुनिक विमानलाई १० हजार घण्टाभन्दा बढी उडाएको अनुभव थियो ।     

कप्तान रोबर्टले आफ्नो बहुमूल्य अनुभव प्रयोग गरे । उनले हावाको घनत्व बढी हुने कम उचाइमा विमानलाई तत्काल झार्ने निर्णय लिए, जहाँ यात्रु र चालकदललाई सास लिन सजिलो भयो । अगाडि बढ्दै चालकदलले रेडियो सम्पर्क गरी माउईको काहुलुई विमानस्थलतिर लिएर गए । अगाडि बढ्दै जाँदा विमानको एउटा इन्जिन काम नलाग्ने भयो ।   

रनवेतिर बढ्दै गर्दा विमानको ‘नोज गियर’ अर्थात् अगाडिको पाङ्ग्रा सही किसिमले तयार छ कि छैन चालकदल यकिन थिएन तर जस्तो समस्या आए पनि चालकदल विमानलाई सकुशल अवतरण गराउन सफल भयो, विमानका बाँकी सबै यात्रुको सुरक्षित उद्धार भयो । 

विमान अवतरण भएपछि सबै यात्रुलाई पर्यटक गाडीमा राखेर स्थानीय अस्पताल लगिएको थियो किनभने त्यस टापुमा मात्र दुई एम्बुलेन्स थिए । यस्तो खतरनाक अवस्थासँग जुझ्न त्यस सानो टापुमा त्यति बन्दोबस्त थिएन । 

त्यसपछि सुरु भयो दुर्घटनाको अनुसन्धान । अमेरिकाको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले यस घटनाको विस्तृत अनुसन्धान ग¥यो र आफ्नो निष्कर्ष दियो । अनुसन्धानको मुख्य ध्यान विमानको संरचनामा उत्पन्न समस्याको कारण खोज्नु थियो । संरचना कसरी असफल भयो ? प्रश्न यही थियो ।   

अनुसन्धानले निष्कर्ष दियो, फ्युजलाज (विमानको ढाँचा) विफल हुनुको कारण हो त्यसमा प्रयुक्त धातु वर्षौंदेखिको कैयौँ दबाब शृङ्खलाले कमजोर पर्नु । हवाईको समुद्री आद्र्र र नुनिलो वायुयुक्त वातावरणमा लामो समय निरन्तर छोटो दूरीमा उडान भर्दा विमानको ढाँचामा क्षय उत्पन्न भएको तथा त्यो कमजोर पर्न गएको अनुसन्धानको निष्कर्षमा उल्लेख गरियो । 

विमानमा यात्रा गरिरहेका गायल यामामोटोले समेत यस तथ्यलाई पुष्टि गर्ने गरी भने, “विमानले उडान भर्नुपहिले नै मैले छतमा चिरा परेको देखेको थिएँ तर मैले कसैलाई भनिनँ ।” पछि बोइङ कम्पनीले समेत यसरी धातु कमजोर पर्दै जाने पनि नियमित जाँच गर्न निर्देशिका नै जारी गरेको थियो । 

– युवामञ्च