असोज र कात्तिक शरद ऋतु हुन् । शरद ऋतु भन्ना साथ रातमा टह टह जून लागेको अर्थात् जुनेली रातको याद आउँछ । शरद ऋतुमा आकाश सफा हुने भएकोले आकाशीय पिण्ड राम्ररी देख्न सकिन्छ । त्यसैले यो समयमा आकाशतिर हेरेर अवलोकन गर्नुको मजा नै बेग्लै छ । रातको समयमा खुला आकाशमा हेर्यो भने त्यहाँ अनगन्ती चम्किला पिण्ड देख्दछौँ । तीमध्ये सबैभन्दा चम्किलो देखिने आकाशीय पिण्ड नै चन्द्रमा हो । चन्द्रमा धेरैअघिदेखि नै मानवका लागि रहस्यको वस्तु रहँदै आएको छ । यो हाम्रो पृथ्वीबाट सबभन्दा नजिक भएर मात्र हैन कि यसको हरेक दिन बदलिरहने आकारका कारण पनि यो अचम्मको वस्तुका रूपमा रहेको छ । यसपटक चन्द्रमाको आकार हरेक दिन किन बदलिन्छ भन्ने विषयमा चर्चा गर्ने छौँ ।
चन्द्रमा पृथ्वीको एक मात्र प्राकृतिक उपग्रह हो । यसको अर्थ चन्द्रमाले सधैँ पृथ्वीलाई फन्को मारिरहेको हुन्छ । चन्द्रमाले पृथ्वीलाई घुम्न २९ दिन लगाउँछ । यसरी घुम्दा पृथ्वीबाट चन्द्रमा कहिले पूर्ण गोलाकार देखिन्छ भने कहिले देखिँदै देखिँदैन । यस बिचमा हरेक दिन चन्द्रमाको आकार बदलिरहेको देखिन्छ । यसैलाई हामी चन्द्रमाको कला भन्दछौँ । धेरैको धारणा छ– पृथ्वीको छाया चन्द्रमामा पर्नु नै चन्द्रकला देखिनुका कारण हो । पृथ्वीको छायाका कारण चन्द्र ग्रहण त हुन्छ तर चन्द्रकला देखिनुमा यसको कुनै भूमिका हुँदैन ।
चन्द्रमा सूर्यको किरणका कारण चम्किने गर्छ भन्ने कुरा त हामी सबैलाई थाहा भएकै हो । यसको आफ्नै प्रकाश हुँदैन । चन्द्रमा पनि गोलाकार पिण्ड भएकोले पृथ्वीमा जस्तै चन्द्रमामा पनि आधा भागमा दिन र आधा भागमा रात हुन्छ । यसको मतलब सधैँ चन्द्रमाको आधा भाग उज्यालो र आधा भाग अँध्यारो हुन्छ ।
अब जिज्ञासा उठ्छ, चन्द्रमाको आधा भाग जहिल्यै चम्किलो हुन्छ भने हामी जहिले पनि चन्द्रमा पूर्ण गोलाकार किन देख्दैनौँ त ? त्यसको एउटा कारण पृथ्वीले सूर्यलाई, चन्द्रमाले पृथ्वीलाई सँगसँगै घुम्नु हो भने अर्को कारण चन्द्रमाले पृथ्वीलाई घुम्ने बाटो (चन्द्र कक्ष) को सतहले पृथ्वीले सूर्यलाई घुम्ने बाटो (पृथ्वी कक्ष) को सतह एउटै नहुनु हो । चन्द्र कक्ष पृथ्वी कक्षसँग नखप्टिई ती दुई सतहबिच कोण बनेको हुन्छ । तसर्थ चन्द्रमाको चम्किलो सतह पूर्ण रूपमा सधैँ पृथ्वीतिर फर्किंदैन । जुनबेला जति भाग पृथ्वीतिर फर्केको हुन्छ त्यतिबेला त्यति नै अंश चन्द्रमा पृथ्वीबाट देखिन्छ । पृथ्वी जस्तै चन्द्रमा पनि गोलाकार भएकाले चम्किलो भाग देखिँदा त्यसको आकार दुवै छेउमा वृत्तांशका रूपमा देखिन्छ । दिनैपिच्छे आकारमा परिवर्तन हुने भएकाले प्रत्येक १५ र १५ दिनको अन्तरमा क्रमशः परिवर्तित हुँदै गरेका चन्द्राकारको शृङ्खला देखिन्छ । यसैलाई हामी चन्द्रकला वा चन्द्रमाको कला भन्दछौँ ।
औँसीको रातमा चन्द्रमा पृथ्वी र सूर्यको बिचमा पर्न गएको हुन्छ । यस समयमा चन्द्रमाको पूरै चम्किलो भाग पृथ्वीबाट विमुख भएको हुन्छ । अर्थात् पृथ्वीतिर चन्द्रमाको अँध्यारो सतह मात्र फर्केको हुन्छ ।