• २३ कात्तिक २०८२, आइतबार

बुढ्यौलीमा दाँतको समस्या

blog

नेपालका ज्येष्ठ नागरिकमा मुटु एवं रक्तसञ्चार प्रणाली, श्वासप्रश्वास प्रणाली, मेटाबोलिक, हाड तथा मांसपेशी एवं मूत्र प्रणालीसम्बन्धी समस्या अधिक भए पनि दाँतको समस्या भएका पनि उत्तिकै छन् तर पनि दाँतको समस्यालाई त्यति प्राथमिकतामा राखिएको देखिँदैन । 

बुढ्यौलीसँगै आइपर्ने डिमेन्सिया, अल्जाइमर्स, पार्किन्सन, डेलेरियम, पिसाब थाम्न नसक्ने, रिँगटा लाग्ने, बेहोस हुने, हाडजोर्नी खिइने, जोर्नी सुन्निने, मधुमेह, उच्च रक्तचाप, हृदयाघात, मस्तिष्काघात, निमोनिया, जीर्ण खालको श्वासप्रश्वास समस्या (सिओपिडी), जीर्ण खालको मिर्गौला समस्या, क्यान्सर, निद्रा नलाग्ने समस्या, दृष्टि समस्या, नसासम्बन्धी समस्या, सुनाइ समस्या, पाचन एवं पेटको समस्या, कुपोषण जस्तै दाँतको समस्या पनि एक हो । 

अमेरिकी संस्था सिडिसी (सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन) का अनुसार ६५ वर्ष वा सोभन्दा बढी उमेरका पाँचमध्ये एक जनाले आफ्ना सबै दाँत गुमाउँछन् । पूर्ण रूपमा दाँत झर्ने समस्या वयस्कको तुलनामा ७५ वर्षको उमेरमा १३ प्रतिशतले बढी हुन्छ । अस्ट्रेलियाको उदाहरण लिने हो भने ६५ वर्ष उमेरमाथिका १९ प्रतिशत मानिसमा प्राकृतिक दाँत नै झरिसकेको पाइयो । सन् २००४ देखि २००६ को अवधिमा गरिएको एक अध्ययन अनुसार ६५ वर्षमाथिका करिब २४ प्रतिशत मानिसमा दाँत खिइएको, झरेको, भरेको पाइयो भने सन् २०१५ मा ७५ वर्षमाथिका करिब ९५ प्रतिशत मानिसमा कम्तीमा एकातिर गिजा खिइएको पाइएको थियो । 

बुढ्यौलीमा पनि दाँतको काम गाला, ओठलाई भरथेग गरी गालालाई पुष्ट देखाउने, ओठ एवं अनुहारको सौन्दर्य बढाउने, खानालाई टुक्रा पारी चपाउन, निल्न सहयोग पु¥याउने, जिब्रो एवं ओठको सहकार्यमा शब्दको स्पष्ट उच्चारण गर्ने, खाना पाचनमा सघाउने हुन्छ तर बुढ्यौली उमेरमा दाँत खराब हुँदै जानु, दाँत खिइँदै जानु, फुत्किनु, भाँचिनुका साथै गिजा पनि खिइँदै जानुका कारण के हुन् ?

बुढ्यौलीमा शारीरिक सक्रियतामा कमी आएर तथा हाडजोर्नीको समस्या एक कारण हुन सक्छ । उच्च रक्तचाप, मधुमेह, मानसिक समस्याबाट प्रताडितहरूले बहुऔषधी प्रयोग गर्नुपर्ने हुन सक्छ । तिनीहरूको स्वास्थ्य स्थिति पनि सही अवस्थामा नहुन सक्छ । मधुमेह प्रभावित मानिसका जिब्रोको सतह एवं मुखभित्रको सतहमा परिवर्तन आउने तथा घाउ (अल्सर) विकसित हुने जोखिम बढी हुन्छ । 

उमेरका कारण पाचन नली, मूत्र प्रणाली, रक्तसञ्चार, श्वासप्रश्वास, प्रतिरोधात्मक क्षमता एवं हाड जोर्नी प्रणालीमा पनि समस्या आउँछ । डिमेन्सिया एवं अल्जाइमर्स प्रभावितमा अस्पष्टताका कारण असहयोगी व्यवहार, सक्रियताको सीमितता, निपुणतामा ह्रास, शारीरिक बलमा कमी, पीडाका कारण बङ्गाराको जोर्नीको कार्यमा असामान्य, निल्न गाह्रो हुने, जिब्रो र मुख चलाउन असहज हुने हुन्छ । यी सबै कारणले तिनीहरूमा दाँतका साथै पूरै शरीरमा प्रतिकूल असर पुग्दछ ।

बुढ्यौली उमेरमा मुख सुक्खा हुने समस्या हुन्छ । मुखमा आउने ¥यालले मुखमा भएको खानेकुरा चपाउन मद्दत गर्नुका साथै मुखलाई सफा गर्छ । यसबाट दाँतमा हुने कुनै प्रकारले क्षतिलाई रोक्न र गिजा स्वस्थ राख्न सहयोग पुग्दछ तर उमेर बढेसँगै ¥यालको उत्पादनमा कमी आउँछ । ¥याल उत्पादनमा कमी आएपछि अम्लीयपनाबाट बचाउन पनि कठिनाइ हुन्छ ।

यसका साथै बुढ्यौली उमेरमा गरिने विभिन्न औषधीको प्रयोग, क्यान्सरका बिरामी, सिओपिडी, मुटुरोग, मानसिक रोग एवं पक्षाघातमा प्रयोग गरिने औषधीका कारण पनि मुख सुक्खा हुने समस्या निम्तिन्छ । मुख सुक्खा भएपछि दाँत र मुख आवश्यक मात्रामा सफा हुन पाउँदैन । मुखभित्र हानिकारक किटाणु बढी सक्रिय भएर सास गनाउने, फोहोर हुने, गिजा र दाँतमा विभिन्न असर पुग्ने गर्छ ।  

बुढ्यौली लागेसँगै खाना खाइसकेपछि मुख कुल्ला गर्न, दाँत सफा गर्न जाँगर चल्दैन । जसले गर्दा गिजा सुन्निने र गिजाको सङ्क्रमण हुने गर्छ । यसै कारण दाँतको जरा कमजोर हुँदै जान्छ । सबै जसोलाई मुखभित्र घाउ आउने समस्या हुन सक्छ र अधिकतरमा यस्ता घाउ (अल्सर) आफैँ निको हुने गर्छन् तर बुढ्यौली उमेरका मानिसमा मुखभित्र घाउ आएपछि सहजै निको नहुन सक्छ । यसै कारण दाँतको जरा र गिजा बिग्रन सक्छ । धूमपान र सुर्तीजन्य पदार्थ सेवन गर्ने वृद्धमा यो समस्या अझ बढी आउँछ । 

उमेर बढ्दै गएपछि रोगसँग लड्ने क्षमता कमजोर हुँदै जान्छ । यसले गर्दा दाँत तथा गिजामा आउने सानोतिनो समस्या पनि बढ्दै जान्छ । बुढ्यौलीसँगै गिजामा हुने हड्डीको घनत्व घट्दै जान्छ । नसा (स्नायु) पनि सुक्दै जान्छन् । यसको सोझो असर दाँतमा पर्छ । दाँतलाई दह्रोसित टेवा दिइराख्ने हड्डी र त्यसमा कुनै समस्या आउनेबित्तिकैको संवेदनशीलता देखाउने नसामा समस्या आउँछ । जसले गर्दा दाँतको जरा देखिन थाल्छन् । यसले गर्दा दाँतले गिजाको भर नपाउने, दाँत पनि विस्तारै सर्दै जाने, हल्लिने हुन्छन् । दाँत पनि अघिपछि देखिन थाल्छन् ।

बुढ्यौली उमेरसँग सम्बन्धित दन्त समस्याको निदान, रोकथाम एवं उपचार व्यवस्थापनलाई जेरियाट्रिक डेन्टिस्ट्री भनिन्छ । 

उपचार

नियमित तवरमा सही तरिकाले ब्रस गर्ने, सुर्ती, चुरोट सेवन बन्द गर्ने, विशेषतः ४० वर्ष कटेपछि नियमित अन्तरालमा दाँतको परीक्षण गराउनु पर्छ । दन्त स्वस्थ राख्ने, ¥याल उत्पादन बढाउने चुइगम खाने, दाँतको कापमा अड्केका खानेकुरा हटाउन फ्लस प्रयोग गर्नु पर्दछ । बुढापाकाले राम्ररी चपाउन सक्ने, राम्ररी पकाइएका तथा नरम खालका खानेकुरा मात्र खाने गर्नु पर्दछ । 

यसका अतिरिक्त बुढ्यौलीमा जेसुकै खाएपछि कुल्ला गर्ने, आवश्यकता अनुसार औँला छिराएर भए पनि अड्किएको खानेकुरा निकाल्ने गर्नु पर्दछ । परीक्षणकै क्रममा दन्त चिकित्सकले दाँत सफा गरिदिने (स्केलिङ गरिदिने), किराले खाएको भागमा सिमेन्ट भरिदिने, जरामा सङ्क्रमण छ भने आरसिटी गरिदिने, भाँचिएको वा टुटेको दाँत छ भने उखेलेर अर्को दाँत राखिदिने गर्दछन् । आवश्यकता अनुसार तलको वा माथिको वा पूरै सेट डेन्चर हालिदिन पनि सक्छन् । 

बुढा मानिसको दाँत सर्दै खाली देखिएमा अवस्था हेरी रिटेनर्स र क्लिन अलाइनर्स चिकित्सकले राखिदिन पनि सक्छन् । यसले  सरेको दाँतलाई बाँधिराख्ने तथा अन्यत्र सर्न दिँदैन । दाँतको सङ्क्रमण र दाँत झर्ने समस्यामा उमेरसँगै हुन्छ भनेर चुप लागेर बस्नु हुँदैन ।

दन्तको अस्वस्थले दाँत एवं गिजाको सङ्क्रमण र सुजनकै कारण मुटुको समस्या, पक्षाघात, निमोनिया हुने जोखिम रहन्छ । त्यसो भएर आवश्यकता अनुसार कृत्रिम दाँत (डेन्चर) हाल्नुपर्ने हुन्छ । विशेष परिस्थितिमा दाँत प्रत्यारोपण तथा शल्यक्रिया गरी बोन ग्राफ्टिङ (हड्डी प्रत्यारोपण) गर्नुपर्ने पनि हुन सक्छ । बुढापाकालाई दिइने दाँत तथा मुख स्वास्थ्यसम्बन्धी स्वास्थ्य सन्देश, निर्देशन सहज, सरल एवं छोटो वाक्ययुक्त सचित्र खालका हुनु पर्दछ । त्यसै गरी मुखको हाउभाउ, हात वा शारीरिक हाउभाउबाट पनि बुझाइदिने गर्नु पर्दछ । 

के हो डेन्चर ?

कृत्रिम दाँतको सेटलाई डेन्चर भनिन्छ । झरेका वा खाली भएका दाँत भर्न तल्लो वा माथिल्लो वा पूरै सेट नै डेन्चर हालिन्छ । एउटा, दुई वटा मात्र झरेको खण्डमा दायाँबायाँ अड्काउने हिसाबले आवश्यकता हेरी डिजाइन गरी डेन्चर हालिन्छ । 

डेन्चरका आफ्नै फाइदा, बेफाइदा छन् । डेन्चरले दाँतको जस्तै काम गरिदिने हुनाले फाइदा त छ नै तर दिनहुँ निकाल्नु पर्ने, सरसफाइ गर्नुपर्ने झन्झट तथा प्राकृतिक दाँत जस्तै महसुस नहुने, राम्ररी फिट नभएका डेन्चरकै कारण गिजाको समस्या (रातोपना हुने, घाउ, अल्सर विकसित) हुने, समयक्रमसँगै हड्डी वा गिजा खिइएर डेन्जर खुकुलो हुन थाल्ने, खस्दा डेन्जर टुटफुट हुन सक्ने जोखिम रहन्छ । भनेको बेलामा र सहजै दन्त सेवा उपलब्ध नभएका ठाउँमा डेन्चरमा समस्या आइहाल्यो भने आपत् पर्छ । यस्तो बेला सकेसम्म छिटो दन्त चिकित्सकको सेवा सल्लाह लिनु पर्दछ । 

 

–युवामञ्च