कुनै व्यक्तिमा (विशेषतः बुढ्यौलीमा) यदि असामान्य प्रकारको चालढाल हुन गयो भने पार्किन्सन पो भयो कि भनेर आशङ्का गर्न सकिन्छ ।
पार्किन्सन रोगमा शरीरको आसन, बसाइ र हिँडाइ पनि अलि फरक खालको हुन जान्छ । यसरी पार्किन्सन रोगमा शारीरिक क्रियाकलापमा त असर हुन्छ नै त्यसका अतिरिक्त मानव संवेदना र ज्ञानेन्द्रियको काम गराइमा पनि असर पुग्दछ । पार्किन्सन रोग मुख्यतः केन्द्रीय स्नायु प्रणालीका स्नायुमा क्षय पुग्नाले हुन्छ ।
मध्य मस्तिष्कको सबस्टेन्सिया नायग्रा भन्ने भागमा विशिष्ट प्रकारका स्नायु कोष हुन्छन् । त्यहीँबाट मस्तिष्कको बेसल ग्याङ्लियालाई डोपामिन नामक हर्मोन निरन्तर आपूर्ति हुन्छ । डोपामिन हर्मोनले मानिसलाई उत्प्रेरणा जगाउने, सन्तुष्ट र खुसी भाव जगाउने हर्मोन उत्पादनमा योगदान गर्छ । यस भागमा पनि लाखौँ सङ्ख्यामा स्नायु कोषिका रहेका हुन्छन् । जसले शरीरका सूक्ष्म खालका क्रियाकलापमा भूमिका निर्वाह गर्छन् ।
उमेर अनुसार हिँड्ने, बस्ने, खाने, बोल्ने, हाँस्ने वा कुनै पनि कुरामा स्वाभाविक प्रतिक्रिया जनाउने कार्य कम हुँदै जान्छ । उमेरका कारण वा अन्य कारणले मस्तिष्कको बेसल ग्याङ्लियाको क्षयीकरण वा नष्टीकरण हुँदै गएपछि मानिस क्रमशः प्रतिक्रियाविहीन हुँदै जान्छ । पार्किन्सन रोगको ठ्याक्कै कारण अहिलेसम्म पत्ता लागेको छैन । भलै यसको कारणबारे अध्ययन–अनुसन्धान निरन्तर नै भइरहेको छ ।
पार्किन्सन रोग प्रायः ६० वर्ष उमेर काटेकामा हुन्छ तर अचेल युवामा पनि यो समस्या देखिन थालेको छ । सन् २०२४ को तथ्याङ्क अनुसार विश्वका करिब ०.२ प्रतिशत मानिसमा यो समस्या रहेको अनुमान गरिए पनि नेपालमा यो समस्या भएका मानिसको ठ्याक्कै तथ्याङ्क छैन । हाल स्नायुसँग सम्बन्धित रोगमध्ये पार्किन्सन दोस्रो मुख्य रोगमा पर्दछ । यो समस्या तीव्र गतिमा बढिरहेको छ । यही गतिमा बढिरहेमा सन् २०४० सम्ममा एक करोड २० लाख मानिस यस रोगबाट प्रभावित हुने प्रक्षेपण गरिएको छ ।
नामकरण र कारक तत्व
बेलायती सर्जन, औषधि आविष्कारक, भूगर्भशास्त्री, जीवाश्म अध्येता, राजनीतिक अभियन्ता जेम्स पार्किन्सनले सन् १८१७ मा ‘सेकिङ पाल्सी’ नामक निबन्ध प्रकाशित गरेका थिए । जुन निकै चर्चित भयो । पछि उनकै सम्मानमा यस रोगको नामकरण गरियो ।
नेपालका चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठ यसै रोगले प्रभावित छन् । उनी जस्तै विश्व परिवेशमा महान् मुक्केबाज मोहम्मद अली, एडोल्फ हिटलर पनि यस रोगबाट प्रभावित थिए ।
अधिकतरमा कारण नै कोट्याउन नसकिने भए पनि पारिवारिक इतिहास, खाना अपच, अपरेसनका क्रममा पूर्ण बेहोस पार्ने औषधि, कीटनाशक औषधिको प्रभाव, टाउकोमा लागेको चोट आदि यस रोगका जोखिम तत्व हुन सक्छन् ।
लक्षण
मानिसका क्रियाकलापलाई मोटर र ननमोटरमा वर्गीकरण गरिएको हुन्छ । मोटर भन्नाले शारीरिक क्रियाकलाप भन्ने बुझिन्छ । ननमोटर चाहिँ मानवीय संवेदना, स्पर्शसँग सम्बन्धित छ ।
पार्किन्सन रोगका मोटर लक्षणमा शारीरिक कम्पन छुट्ने, आफूले चाहेको चालको सुरुवात सुस्त हुने, मांसपेशीमा कडापन आउने र बसाइको असन्तुलन वा अस्थिर हुने देखिन्छ । त्यसो त यी लक्षण एचआइभी सङ्क्रमण र लागूपदार्थको दुव्र्र्यसनीमा पनि देखिन सक्छ ।
समयक्रमसँगै शरीर कुप्रो पर्दै जाने, शारीरिक गतिविधि अचानक सुस्त हुन थाल्ने, फटाफट हिँड्न नसक्ने, हिँड्ने बेलामा हात र खुट्टाको चालमा सामञ्जस्यता नहुने, उठबस गर्न गाह्रो हुँदै जाने हुन्छ । हात र खुट्टामा बढी प्रभाव देखिन्छ । प्रभावित व्यक्तिको हातको बुढीऔँला र चोरऔँलाको चाल कपास (धुप बाटेको) जस्तो हुन्छ । त्यसै गरी प्रभावित व्यक्तिलाई हाँस्न, सहज रूपमा बोल्न, खानेकुरा राम्ररी चपाउन गाह्रो हुने र थकान महसुस हुने गर्छ । शरीरको बाह्य भागका स्नायुमा असर पर्न जान्छ ।
ननमोटर अर्थात् सेन्सरी डेफिसिट (संवेदनात्मक दुर्बलता) मा अन्तर्गत व्यावहारिक परिवर्तन एवं मनोगत समस्या देखा पर्दछ । यस क्रममा निद्रामा गडबडी, अवसाद, असामान्य पीडा, अस्वाभाविक पीडा, दृष्टिमा गडबडी, गन्धमा असामान्यता हुन जान्छ । प्रभावित व्यक्तिको जैविक घडीमै असर पर्न जान्छ । छालाजन्य समस्या देखा पर्न थाल्छन् ।
प्रभावितमध्ये ९० प्रतिशतमा र प्रारम्भिक चरणमै यस्ता सेन्सरी लक्षण देखा पर्दछ । यसरी प्रभावित व्यक्तिको खाने, बस्ने, सुत्ने, उठ्ने, हिँड्ने, खेल्ने, काम गर्ने सबै काममा दखल पुग्छ ।
यसरी हिँडाइ नै असामान्य हुने बाहेक भकभकाउने, स्वर सानो हुने नरम वा कमजोर हुने, बोली लर्बराउने (¥याल चुहिन लागेको बेलामा बोले जस्तो हुने), बोली छिटो छिटो र अस्पष्ट हुने, बसेर उभिँदा रक्तचाप स्वाट्टै घट्ने, टाउको हल्का महसुस हुने, रिँगटा लागे जस्तो हुने, कब्जियत हुने, अपच हुने, वाकवाकी लाग्ने, ¥याल बढी आउने, निल्न गाह्रो हुने, पिसाब फेर्न गाह्रो हुने, यौन दुर्बलता हुने, शरीरको तापक्रम नियन्त्रण गर्न गाह्रो हुने लक्षण पनि देखिन्छ ।
पार्किन्सनका कारण शारीरिक असन्तुलनले गर्दा मानिस लड्न सक्ने वा उसलाई चोटपटक लाग्न सक्ने जोखिम हुनुका साथै डिमेन्सिया हुने, सर्केर छातीको निमोनिया हुन सक्ने जटिलता रहन्छ । यो रोग लेविज बडिजयुक्त डिमेन्सिया, सुप्रान्युक्लियर पाल्सी (पक्षाघात), कारण नखुलेको कम्पन, एन्टिसाकोटिक औषधिको प्रयोग, फ्रजाइल एक्स सिन्ड्रोमसँग सम्बन्धित बेढङ्गका कम्पन, हन्टिङ्टन डिजिज, डोपामिन रेस्पोन्सिभ डिस्टोनिया, विल्सन्स डिजिजका साथै एगोनिस्टडिजिज र छारेरोग, डिप्रेसन, अब्सेसिभ कम्पल्सिभ डिजिज (ओसिडी) सँग झुक्किन सक्छ ।
निदान
प्रभावितमध्ये २५ प्रतिशतसम्ममा गलत निदान हुन सक्छ । निदानको क्रममा प्रभावितसँगको विस्तृत सोधपुछका साथै स्नायुजन्य प्रणाली लक्षित शारीरिक वा मानसिक परीक्षण महत्वपूर्ण हुन्छ । कतिपयमा विशेष खालको सिटी स्क्यान वा एमआरआई जस्ता रेडियोइमेजिङ चाहिन्छ । पिसाबमा डोपामिनको मात्रा परीक्षण गर्न सकिन्छ । कतिपय अवस्थामा औषधि दिएर लक्षणमा कत्तिको सुधार हुन्छ हेरेर पनि निदान गरिन्छ । अधिकतरमा मृत्युपछि पोस्टमार्टमबाट मात्रै ठ्याक्कै निदान गरिन्छ ।
उपचार
प्रभावित व्यक्तिको दिनचर्या नराम्ररी प्रभावित हुँदै जान्छ र उपचार नगरेको खण्डमा समस्या विस्तारै गम्भीर बन्छ । ढाडस दिने खालको, लक्षणको नियन्त्रण गर्ने खालको उपचार हुनु पर्छ । पार्किन्सनका लागि औषधि दिएर पाँच वर्षसम्म अनुगमनमा राखिन्छ । कतिपय पार्किन्सनका बिरामीमा औषधिले आशातीत सुधार नदेखाउन सक्छ । नियमित औषधि सेवनले प्रभावितको जीवन अवधि सामान्य मानिसको जत्तिकै हुन्छ ।
पार्किन्सन रोगको उपचारमा औषधिको उपयोगसहित केही प्रभावकारी नयाँ प्रविधि आएका छन् । ती हुन्, डिप ब्रेन स्टिमुलेसन र भेगल नर्भ स्टिमुलेसन ।
स्टिमुलेसन भन्नाले एक प्रकारको स्नायु उत्प्रेरक उपचार हो । यसले सुस्त स्नायुकोषलाई उत्तेजित पार्ने वा सक्रिय बनाउने भन्ने बुझिन्छ । डिप ब्रेन स्टिमुलेसनका क्रममा सामान्य शल्यक्रिया गरेर टाउकोमा सानो प्वाल पारेर प्रभावित भागमा सानो तार (इलेक्ट्रोड) राखिन्छ । उक्त तारलाई ब्याट्रीका माध्यमबाट उत्तेजित पारेर प्रभावित भागलाई सक्रिय बनाइन्छ ।
भेगल नर्भ (भेगस नामक स्नायु) स्टिमुलेसनमा छातीको माथिपट्टि रहेको हड्डीभित्र उपकरण जडान गरी भेगल स्नायुमा तार जडान गरिन्छ । उपकरण चालु गरेपछि भेगल स्नायुमार्फत मस्तिष्कमा सङ्केत पुग्दछ । यसरी मस्तिष्कको सक्रियता बढ्छ ।
छोटकरीमा भन्नु पर्दा यी दुवै उपचार प्रविधिमा मस्तिष्कको प्रभावित भागमा विद्युतीय आवेगमार्फत मानिसको शारीरिक एवं भावनात्मक गतिविधिको सक्रियता बढाइन्छ । यी प्रविधिबाट पार्किन्सनका साथै छारेरोग, डिप्रेसन, डिस्टोनिया, ओसिडी, शारीरिक कम्पन जस्ता समस्याको पनि उपचार गरिन्छ ।
–युवामञ्च