• ३० फागुन २०८२, शनिबार

अभियन्तादेखि संसद्सम्म

blog

विदुर आचार्य 

चौतारा, फागुन  ३० गते  । सामाजिक अभियन्ताको परिचय बनाएका भरतप्रसाद पराजुली सिन्धुपाल्चोक–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्दै स्थापित दललाई पछि पारेर निर्वाचित हुनुभयो ।  सिन्धुपाल्चोकका पहाडी बस्तीमा एक समय पानीको अभाव दैनिक जीवनकै ठुलो चुनौती थियो । घन्टौँ पैदल हिँडेर खोलाबाट पानी बोकेर ल्याउनु स्थानीयको बाध्यता जस्तै थियो । त्यही समयमा केही युवाले गाउँमै समाधान खोज्ने प्रयास थाले । तीमध्ये अग्रपङ्क्तिमा हुनुहुन्थ्यो पराजुली ।

२०५५ सालमा साबिकको माङ्खा गाविसको जोगीडाँडाबाट सुरु भएको खानेपानी योजनाले पहिलो पटक ६० भन्दा बढी घरधुरीमा धारा पु-याउँदा अग्रस्थानमा हुनुहुन्थ्यो । उहाँ साबिक माङ्खा गाविस तथा हाल बलेफी गाउँपालिका–६ का स्थानीयसमेत हुनुहुन्छ । सरकारी बजेट सीमित भएर राज्यको उपस्थिति कमजोर जस्तै देखिएको समयमा स्थानीय सहभागिता र गैरसरकारी पहलमार्फत पराजुलीले नेतृत्व गरेको अभियानले गाउँमा ठोस परिवर्तन ल्याएको थियो । 

एकीकृत ग्रामीण विकास तथा वातावरण संरक्षण मञ्चमार्फत करिब सात वर्षसम्म उहाँले सिन्धुपाल्चोकका विभिन्न बस्तीमा खानेपानी, सरसफाइ, साक्षरता र आयआर्जन कार्यक्रम सञ्चालन गरेको सम्झनुहुन्छ । खानेपानीसँगै पराजुलीले ऊर्जा क्षेत्रमा ध्यानकेन्द्रित गर्नुभयो । बलेफी कोरिडोर र जलबिरेखोलामा निर्माण भइरहेका दुई ठुला  जलविद्युत् आयोजनाको उहाँले नेतृत्व गर्नुभएको छ । जुगल गाउँपालिका–२ मा निर्माणाधीन ४५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाले अहिले सयाँै स्थानीयलाई रोजगारी दिएको छ । पराजुलीका अनुसार विकासको वास्तविक अर्थ स्थानीयको सहभागिता हो । त्यसैले उहाँले स्थानीय बासिन्दालाई प्रमोटर सेयरमार्फत परियोजनामा साझेदार बनाउने योजना अघि बढाएको बताउनुहुन्छ । “स्थानीयलाई सेयरधनी बनाउँदा मात्र विकासको प्रतिफल गाउँमै रहन्छ,” उहाँ भन्नुहुन्छ । 

लामो समय नेकपा (एमाले) सँग सम्बन्धित रहे पनि पराजुली सक्रिय राजनीतिक पदमा कहिलै देखिनुभएन । उहाँ सामाजिक अभियान र विकास आयोजनामै केन्द्रित हुनुभयो । पछिल्ला वर्षमा भने नागरिकमा राजनीतिप्रति बढ्दो निराशा देखेपछि राजनीतिमा प्रवेश गर्ने निर्णय लिएको उहाँ बताउनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिएपछि खुला रूपमा राजनीतिक भूमिकामा देखिँदै सोही पार्टीबाट उम्मेदवार हुनुभयो र संसदीय यात्रा तय गर्नुभयो । उहाँको विचारमा राजनीति सेवा हो, पेसा होइन । “मेरो व्यवसाय संस्थागत भइसकेको छ,” उहाँ भन्नुहुन्छ, “अब समाजका लागि काम गर्न राजनीतिमा आएको हुँ ।”

आर्थिक समृद्धि नै मेरो प्रमुख एजेन्डा हो । निर्वाचन अभियानका क्रममा पराजुलीले उठाएको मुख्य मुद्दा थियो जनताको आर्थिक समृद्धि । उहाँ भन्नुहुन्छ, “सिन्धुपाल्चोकको विकासका लागि कृषि, पर्यटन, ऊर्जा र उद्योगलाई सँगै अघि बढाउन आवश्यक छ ।”  कृषिमा आधुनिकीकरण, स्थानीय उत्पादनको बजारीकरण, विदेशमा रहेका नेपालीको सिप र लगानी भिœयाउने तथा धार्मिक पर्यटनको विकास गर्ने योजनाबारे सार्वजनिक रूपमा उहाँले बताउनुभएको छ । 

त्यस्तै केही समय सञ्चालनमा आएर २०३८ सालदेखि बन्द रहेको नेपाल ओरियन्ट म्याग्नेसाइड उद्योगलाई आधुनिक प्रविधिसहित पुनः सञ्चालन गर्ने लक्ष्य उहाँले अगाडि सार्नुभएको छ । सामाजिक अभियन्ताबाट जनप्रतिनिधि बनेका पराजुलीप्रति स्थानीयको अपेक्षा पनि ठुलो छ । पराजुली भन्नुहुन्छ,  “समृद्ध सिन्धुपाल्चोक निर्माणका लागि जनप्रतिनिधि, स्थानीय र निजी क्षेत्रबिच सहकार्य आवश्यक छ । जनताको विश्वासलाई सम्मान गर्दै इमानदारी, पारदर्शिता र प्रतिबद्धताका साथ काम गर्ने छु ।” काकाकुल बस्तीमा पानीको धारा ल्याउने त्यो अभियानले अब अर्को यात्रा सुरु गरेको छ आर्थिक समृद्धिको । उहाँ २४ हजार ४१३ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपाका माधव सापकोटाले १७ हजार ३२७ मत प्राप्त गर्नुभयो ।