गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २३ गते । अर्थतन्त्रमा कर्जा प्रवाह बढाउने उद्देश्यसहित नेपाल राष्ट्र बैङ्कले साना तथा मझौला उद्योग (एसएमई) कर्जाको जोखिमभार घटाएको छ । नयाँ व्यवस्थालाई उत्पादनमूलक क्षेत्र पुनर्जीवनतर्फको सङ्केतका रूपमा हेरिएको छ ।
उत्पादन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानी बढाउने वातावरण बनाउन राष्ट्र बैङ्कले एकीकृत निर्देशिका संशोधन गर्दै एसएमई कर्जामा सहुलियतपूर्ण व्यवस्था लागु गरेको हो । राष्ट्र बैङ्कले वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीलाई निर्देशन जारी गर्दै तीन करोड रुपियाँसम्मको एसएमई कर्जाको जोखिम भार ६० प्रतिशतमा झारेको हो ।
नयाँ व्यवस्थासँगै बैङ्क तथा वित्तीय संस्थाले कृषि, सूचना प्रविधि, उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्दा ६० प्रतिशत जोखिमभार कायम गर्दा हुने भएको छ । यसअघि यस्तो भार ७५ प्रतिशत रहेको थियो ।
यस्तै राष्ट्र बैङ्कले कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सुरक्षित मानिएको घरजग्गा धितोको बजार मूल्यमा कम्तीमा २५ प्रतिशत अन्तर भएको हुनुपर्ने व्यवस्था राखेको छ । बैङ्क तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्ने आयोजनाको बिमा भने अनिवार्य गरेको हुनुपर्ने एकीकृत निर्देशिकामा उल्लेख छ । राष्ट्र बैङ्कका अनुसार कर्जामा जोखिमभार घटेसँगै बैङ्क तथा वित्तीय संस्थालाई कर्जा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।