• २५ चैत २०८२, बुधबार

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

blog

१. विसं २०८२ चैत २२ को प्रतिनिधि सभा बैठकद्वारा सभामुखमा पदमा कसलाई चयन गरियो ? 

डोलप्रसाद (डिपी) अर्याल 

अन्य दलबाट कुनै उम्मेदवारी नपरेपछि उहाँ उक्त पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । 

१० औँ सभामुखको रूपमा निर्वाचित अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराइएको हो ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–९ बाट सांसद निर्वाचित अर्यालले यसअघि नेपाल सरकारको ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री’ को जिम्मेवारीसमेत समाल्नु भएको थियो ।

पहिलो सभामुख : कृष्णप्रसाद भट्टराई 

पहिलो महिला सभामुख : ओनसरी घर्तीमगर 


२. हालै नासाले चन्द्रमाको परिक्रमा गर्ने उद्देश्यका साथ अन्तरिक्षयात्रीसहित पठाएको ऐतिहासिक मिसनको नाम के हो ? 

आर्टेमिस–२

सन् २०२६ अप्रिल १ मा फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको हो ।

यस मिसनका चार जना यात्रीमध्ये क्रिस्टिना कोच चन्द्रमाको कक्षमा पुग्ने पहिलो महिला र भिक्टर ग्लोभर पहिलो अश्वेत अन्तरिक्षयात्री हुन् ।

यात्रीहरूले चन्द्रमामा पाइला टेक्ने छैनन् । उनीहरूले यानमार्फत चन्द्रमाको नजिकबाट परिक्रमा गर्ने छन् र १० दिने यात्रापछि पृथ्वी फर्कने छन् ।

५० वर्षपछिको यो पहिलो मानवसहितको चन्द्र–उडानद्वारा आगामी मिसन (आर्टेमिस–३) मार्फत मानिसलाई सुरक्षित रूपमा चन्द्रमामा उतार्नुअघि प्रविधिको परीक्षण गरिने जनाइएको छ । 


३. वानीरा प्रज्ञा पुरस्कार २०८२ कसलाई प्रदान गरियो ? 

कवि तथा गीतकार माधव खनाल ‘भावुक’

यसै गरी, कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई ‘वानीरा शङ्कर पुरस्कार’ प्रदान गरिएको छ । 

दुवै पुरस्कारको राशि जनही एक/एक लाख रुपियाँ रहेको छ । 

आख्यान, कविता र हास्यव्यङ्ग्य लेखनमा समर्पित चितवनका धनराज गिरीलाई पचास हजार रुपियाँ राशिसहित ‘वानीरा पुरस्कार’ बाट सम्मान गरिएको हो । 

त्यसै गरी किशोरावस्थादेखि नै समाज सेवामा समर्पित काठमाडौँका सरोज ढकाललाई ‘वानीरा सेवा सम्मान’ प्रदान गरिएको छ । 

नेपाली साहित्य जगत्की प्रतिभा डा. वानीरा गिरीको सम्झनामा यी पुरस्कार स्थापना गरिएको हो । 


४. काठमाडौँ महानगरपालिकाद्वारा साझा यातायातसँगको सहकार्यमा रात्रिकालीन सार्वजनिक यातायात सेवा कहिलेदेखि सञ्चालन गर्ने निर्णय भएको छ ? 

विसं २०८३ वैशाख १ 

यस सेवा अन्तर्गत हाल एउटा रुट ललितपुरको लगनखेलदेखि पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गङ्गालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म हुने छ । त्यस्तै अर्को रुट थानकोटदेखि सतुङगल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म रहेको छ । 

यी दुई रुटमा चार वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने महानगरपालिकाले जनाएको छ । साँझ ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने बसमा सिसिटिभी क्यामरा जडान हुने छन् । सुरक्षाका लागि नगर प्रहरी हुने छन् ।


५. आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशु–कल्पना स्रष्टा सम्मान, २०८२’ कसलाई प्रदान गरियो ? 

वरिष्ठ गीतकार किरण खरेल

नेपाल स्रष्टा समाजद्वारा आयोजित विशेष कार्यक्रममा वरिष्ठ समालोचक प्राडा दयाराम श्रेष्ठद्वारा गीतकार खरेललाई सम्मानपत्रका साथ नगद राशि एक लाख १११ रुपियाँ प्रदान गरिएको छ । 

सम्मानित स्रष्टा खरेलको पहिलो गीत ‘ए दूरका सितारा मेरो चाँदनी कहाँ छ...’ २०१४ सालमा रेकर्ड भएको थियो साथै हिमालको काखमा छ सानो मेरो गाउँ..., तिमीले चुमेका पाइला..., उसको मायाले मा¥यो..., यो मौसम यो हरियाली..., नमान लाज यस्तरी..., वसन्त नै बस्न... लगायत सात सयभन्दा बढी गीत उहाँले सिर्जना गर्नुभएको हो ।


६. सरकारले नागढुङ्गा सुरुङमार्ग सञ्चालन तथा व्यवस्थानको जिम्मा कुन कम्पनीलाई दिने भएको छ ? 

युसिन–एआरटी जेभी (चिनियाँ कम्पनी)

सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि गत कात्तिक १६ गते ठेक्का आह्वान भएको थियो । १० कम्पनीले टेन्डर दिएकामा युसिन–एआरटी जेभीले सबैभन्दा कम रकममा ठेक्का प्रस्ताव गरेको थियो ।

सो सुरुङमार्ग विसं २०८३ वैशाख अन्तिममा परीक्षण तथा साउन पहिलो सातादेखि व्यावसायिक सञ्चालन हुने जनाइएको छ । 


७. नेपालमा कृषि तथा पशु बिमाको सुरुवात कहिलेदेखि भएको हो ?

विसं २०६९ माघ


८. प्रमुख निर्वाचन आयुक्त वा निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता कति हो ?

स्नातक तह


९. सर्वप्रथम सुशासन शब्दको आधिकारिक प्रयोग कहिले गरिएको हो ? 

सन् १९८९ (विश्व बैङ्कद्वारा)

विश्वमा पहिलोपल्ट विश्व बैङ्कद्वारा प्रस्तुत सन् १९८९ को ‘सब–सहारन अफ्रिका ः फ्रम क्राइसिस टु सस्टेनेबल ग्रोथ’ प्रतिवेदनले अफ्रिकाको विकास नहुनुको मुख्य कारण ‘शासन व्यवस्थाको कमजोरी’ लाई मानेको छ । सन् १९९० को दशकबाट दिगो विकास र गरिबी न्यूनीकरणको अनिवार्य सर्तको रूपमा सुशासनको अवधारणाको उदय भएको हो ।

सन् १९९२ को विश्व बैङ्ककै अर्को प्रतिवेदन ‘गभर्नेन्स एन्ड डेभलपमेन्ट’ मार्फत सुशासनका मुख्य तत्व जस्तै : पारदर्शिता, उत्तरदायित्व आदि स्थापित भएको छ ।

विश्वव्यापी मान्यताः सन् १९९५ को ‘सामाजिक विकाससम्बन्धी विश्व सम्मेलन’ ले सुशासनलाई प्रजातान्त्रिक र मानवकेन्द्रित दिगो विकासको आधारशिलाको रूपमा घोषणा गरेको छ ।

मुख्य उद्देश्य : शासन व्यवस्थामा सुधार ल्याई जनतालाई उपलब्ध गराउने सेवा प्रवाहमा गुणस्तरीयता, पारदर्शिता र प्रभावकारिता बढाउनु हो ।


१०. विसं २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थी सङ्ख्या कति रहेको छ ? 

पाँच लाख १२ हजार ४२१ 

नियमिततर्फ : चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ : ७० हजार ८५५ विद्यार्थी । 

परीक्षा सञ्चालन मिति : विसं २०८२ चैत १९–२९

परीक्षा केन्द्र : १,९६६ (जापानमा एकसमेत गरी) । 

राष्ट्रिय परीक्षा बोर्डले यस पटक एसइईको उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गरेको छ । 


११. सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त ग¥यो ? 

डा. गुणाकर भट्ट 

नियुक्त मिति : विसं २०८२ चैत २४ । 


१२. कुन पुरस्कारलाई वैकल्पिक नोबेल पुरस्कार भनी चिनिन्छ ?

राइट लिभ्लिहुड पुरस्कार 


१३. अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ?

प्राकृतिक प्रकोपबाट पीडित जनतालाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थायी रूपमा सञ्चालित कार्यक्रम ।


१४. सर्वोच्च अदालतको कायममुकायम प्रधान न्यायाधीशमा कसलाई नियुक्त गरियो ? 

सपना प्रधान मल्ल (विसं २०८२ चैत १८)

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ बर्से उमेर हदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले कामु प्रधान न्यायाधीशको रूपमा जिम्मेवारी समाल्नु भएको हो । 

उहाँ विसं २०७३ साउन १७ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुनुभएको थियो । 

नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेकी मल्लले दिल्ली विश्वविद्यालयमा कानुनमै स्नातकोत्तर तथा अमेरिकाको हार्वर्डबाट जनप्रशासनमा स्नातकोत्तर गर्नुभएको छ । 


१५. सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय कहिले गरेको हो ? 

विसं २०८२ चैत २२

सरकारले हप्ताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

कार्यालय समय बिहान नौ बजेदेखि बेलुका ५ बजेसम्म कायम गरिएको छ । 

सार्वजनिक बिदाका दुई दिन सबै सरकारी कार्यालय र शैक्षिक संस्था बन्द रहने छन् । 


१६. नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको सुरुवात कहिले गरेको हो ?

विसं २०८१ मङ्सिर २

सुन्धारास्थित टेलिकमको कार्यालयमा ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको हो । 

सामान्य सोधपुछदेखि एनटिसी सेवाका थुप्रै प्रश्नको उत्तर ग्राहकले रोबोटमार्फत पाउन (सुन्न) सक्ने छ ।

रोबोटमा अङ्ग्रेजी र नेपाली भाषाबाट सेवाको व्यवस्था मिलाइएको छ । 


१७. विमानमा जडित बल्याक बक्सको रङ कस्तो हुन्छ ?

सुन्तला रङ


१८. साना तथा मझौला उद्यम विकास केन्द्रको स्थापना कहिले गरिएको हो ?

विसं २०८१ मङ्सिर ३


१९. ‘सपना कतिपय’ नामक कथाकृतिका सर्जक को हुनुहुन्छ ? 

कुमार काफ्ले (विपना कतिपय कृतिका सर्जक : इन्द्रबहादुर राई)


२०. प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कस्तो निर्वाचन प्रणाली अपनाउने व्यवस्था छ ?

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली 


२१. सरकारको मुख्य कानुनी सल्लाहकारको भूमिकामा रहने महान्यायाधिवक्ता पदमा कसलाई नियुक्त गरियो ? 

डा. नारायणदत्त कँडेल 

नियुक्त मिति : विसं २०८२ चैत २२

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त । 

प्रथम महान्यायाधिवक्ता : कालीप्रसाद उपाध्याय (विसं २००८ पुस ८) 

पहिलो महिला महान्यायाधिवक्ता : सविता भण्डारी बराल (विसं २०८२ भदौ २९)

प्रस्तुतकर्ता : टङ्क केसी