काठमाडौँ, चैत २५ गते ।नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले इन्धन आयात लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रुपमले नै घटाउन आग्रह गर्नुभएको छ ।
राष्ट्रिय सभाको बुधवार बसेको बैठकको विशेष समयमा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।सरकारले गरेको इन्धन आयातमा कर तथा अप्रत्यक्ष शुल्क घटाउने निर्णयलाई स्वागत गर्दै उहाँले यसलाई दीर्घकालिक रुपमा नै लैजान वा कर पुनरावलोकन गर्न सुझाव दिनुभयो ।
उहाँले इन्धनको मूल्य सुपथ बनाउँदा सँगै अर्थतन्त्र नै चलायमान हुने उल्लेख गर्नुभयो । उहाँले हाल मध्यपुर्वमा भइरहेको युद्धका कारण इन्धन आपुर्तिमा समस्या देखिएको बताउनुहुँदै भारत सरकारसँग सहकार्य गरेर निरन्तर आपुर्तिको सुनिश्चितता गर्न सरकारसँग आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “आजको युगमा कुनैपनि द्वन्द्वले विश्वभर प्रभाव पार्दछ । विशेषगरी नेपाल जस्तो भुपरिवेष्टित देशमा यसको प्रभाव अझ बढी छ । हाम्रो उर्जा आपूर्ति भारतमार्फत निर्भर रहेको सन्दर्भमा म नेपाल सरकारलाई यस अवस्थालाई नजिकबाट निगरानी गर्न तथा भारत सरकारसँग समन्वय गरि इन्धन आपूर्तिमा निरन्तरताको सुनिश्चितता गर्न आग्रह गर्दछु । साथै इन्धनको मूल्यवृद्धिले समग्र अर्थतन्त्रमा गम्भिर प्रभाव पार्नेछ, यस सन्दर्भमा अर्थमन्त्रीज्यूले इन्धन आयातमा कर तथा अप्रत्यक्ष शुल्क घटाउने निर्णय लिनुभएकोमा म स्वागत गर्दछु । सरकारलाई दीर्घकालिक रुपमा यस्ता अप्रत्यक्ष करहरु स्थायी रुपमा घटाउने वा पुनरावलोकन गर्न आग्रह गर्दछु । इन्धनको मूल्य सुलभ राख्नु हाम्रो अर्थतन्त्रलाई गतिशीलता दिनुपनि हो ।”
उहाँले नेपाली नेपाली राजनीतिमा एकता, सहमति र सहकार्यको आवश्यकता देखिएको बताउँदै सरकारलाई राजनीतिक दलसँग सम्बाद गर्न सुझाव दिनुभयो ।