• २३ चैत २०८२, सोमबार

शुल्क फिर्ता गर्न निर्देशन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २३ गते । शैक्षिक सत्र सुरु नहुँदै विद्यालयले भर्नाको नाममा विद्यार्थीबाट शुल्क असुल्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै प्रकारका शैक्षिक संस्थालाई सचेत गराएको छ । 

शैक्षिक सत्र सुरु नहुँदै भर्ना गरेर विद्यार्थीबाट असुलेको रकम फिर्ता गर्न मन्त्रालयले आइतबार निर्देशन दिएको छ । शुल्क फिर्ता गराउने प्रक्रिया तत्काल सुरु गर्न स्थानीय तहलाई निर्देशन दिँदै मन्त्रालयले फिर्ता नगरेमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ । विगतमा वैशाख २ गतेबाट शैक्षिक सत्र सुरु हुन्थ्यो । यस पटक सरकारले वैशाख १५ गतेबाट मात्रै सुरु गर्ने निर्णय आइतबार गरेको छ तर राजधानीका नाम चलेका र महँगा भनिएकासहित मध्यमस्तरका विद्यालयले समेत विद्यार्थी भर्नाको सूचना सार्वजनिक गरिरहेका छन् । कतिपय विद्यालयले त विद्यार्थी भर्नासमेत गरिसकेका छन् । वार्षिक परीक्षाको नतिजासमेत सार्वजनिक नहुँदै भर्ना गर्दा विद्यार्थी समस्यामा पर्ने गरेका छन् । कतिसम्म भने वार्षिक परीक्षाको शैक्षिक प्रमाणपत्रसमेत हेर्न नपाउँदै विद्यालयले भर्ना खुलाउँदा समस्यामा पर्ने गरेको गुनासो विद्यार्थीले पटक गटक गर्दै आएका छन् । 

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले शैक्षिक सत्र प्रारम्भ हुनुअघि नै विद्यार्थी भर्ना गर्ने र भारी शुल्क लिने कार्य गैरकानुनी र अशोभनीय रहेको बताउनुभयो । शैक्षिक सत्र सुरु नहुँदै भारी शुल्क लिएर विद्यालयले भर्ना गरेको थुप्रै गुनासा आएको मन्त्रालयले जनाएको छ । सापकोटाका अनुसार कुनै पनि विद्यालयले गैरकानुनी रूपमा शुल्क लिएको पाइएमा कडा कारबाही गरिने छ । मन्त्रालयले आइतबार यस विषयमा जारी गरेको सूचनामा भनिएको छ, “कानुनविपरीत असुल गरिएको भर्ना शुल्क सम्बन्धितलाई फिर्ता गराउने प्रक्रिया अघि बढाउन सबै स्थानीय तहलाई अनुरोध गरिन्छ । अन्यथा प्रचलित कानुनबमोजिम कारबाही गरिनेतर्फ सचेत गराइन्छ ।”