मध्ययुगमा हस्पिस सेवा निकै फल्यो, फुल्यो । लगत्तै खुम्चियो पनि । सत्रौँ शताब्दीमा सेन्ट भिन्सेन्ट पल च्यारिटीका छोरीको पहलमा फ्रान्समा यसले पुनर्जीवन पायो । सन् १९०० मा अन्य छ वटा हस्पिस सेवा सदन स्थापना भए ।
ल्याटिन शब्द ‘हस्पिस’ को अर्थ आतिथ्य प्रदान गर्ने वा आराम गर्ने वा रोगबाट संरक्षण प्रदान गर्ने स्थान भन्ने हुन्छ । आधुनिक चिकित्सामा हस्पिस स्वास्थ्य सेवाको एक यस्तो प्रकार नै हो जहाँ मृत्युनजिक पुगेकालाई सहजता प्रदान गर्ने गरिन्छ ।
यसो भन्दैमा इच्छामृत्युलाई बढावा दिन खोजिएको होइन । हस्पिस सेवा बिरामी केन्द्रीकृत हुन्छ । जस अन्तर्गत बिरामीको पीडा कम गर्ने उपायका साथै अन्य लक्षणको यथोचित सम्बोधन, बिरामीको मानसिक, भावनात्मक एवं आध्यात्मिक चाहना परिपूर्ति पनि गरिन्छ । हस्पिस सेवामा बिरामीको सहजता र तिनीहरूको जीवनको गुणस्तरलाई यथाशक्य प्राथमिकता राखिन्छ ।
पहिलो पटक हस्पिस सेवा सन् १०६५ तिर माल्टाबाट सुरु भएको थियो । त्यसबेला सख्त बिरामी र मर्नै लागेका मानिसलाई पवित्र थलोतिर लैजाने र फर्काउने क्रममा सहज पुर्याउने हेतुले यो सुरु गरिएको थियो । चौधौँ शताब्दीको आरम्भतिर जेरुसेलमका सन्त जोनले रोडेस भूमिमा पहिलो पटक हस्पिस सेवा सुरु गराएका थिए ।
मध्ययुगमा हस्पिस सेवा निकै फल्यो, फुल्यो । लगत्तै खुम्चियो पनि । सत्रौँ शताब्दीमा सेन्ट भिन्सेन्ट पल च्यारिटीका छोरीको पहलमा फ्रान्समा यसले पुनर्जीवन पायो । सन् १९०० मा अन्य छ वटा हस्पिस सेवा सदन स्थापना भए । १९ औँ शताब्दीको मध्यतिर ल्यान्सेट र ब्रिटिस मेडिकल जर्नलमा सख्त र गम्भीर बिरामीको राम्रो हेरचाह तथा सरसफाइका लागि बेलायतमा हस्पिस सेवाको आवश्यकता रहेको उल्लेख गरिएको थियो ।
विस्तारै यो सेवा अन्यत्र पनि फैलिन थाल्यो । सन् २००३ सम्म आइपुग्दा ब्रिटिस मेडिकल जर्नलमै प्रकाशित भए अनुसार विश्वभर आठ हजारभन्दा बढी हस्पिस वा प्यालियाटिभ सेवा प्रदान गर्ने संस्था स्थापना भएको देखिन्छ । एसियाको हकमा सन् १९८१ मा जापानमा सर्वप्रथम पहिलो हस्पिस सेवा सुरु भएको थियो ।
राष्ट्रिय तथा क्षेत्रीयस्तरका हस्पिस तथा प्यालियाटिभ केयर दिने सङ्गठनको नेटवर्क– विश्व प्यालियाटिभ केयर एलायन्सले पहिलो पटक सन् २००६ मा विश्वव्यापी हस्पिस तथा प्यालियाटिभ दिवस मनाएको थियो । ती एलायन्सको उद्देश्य विश्वभर हस्पिस र प्यालियाटिभ सेवाको विकास गर्न टेवा दिने हो । यो दिवस बर्सेनि अक्टोबर महिनाको दोस्रो शनिबार मनाइन्छ । हस्पिस सेवा छ महिनाभन्दा कम समय बाँच्नेले लिन सक्छन् भने उपचारात्मकबाट सहजात्मकमा मोडिन चाहने सेवाग्राहीले पनि यो सेवा लिन सक्छन् ।
अचेल तुलनात्मक रूपमा अधिकतर क्यान्सरको उपचार सम्भव भए पनि धेरैजसो प्रभावित व्यक्ति अन्तिम अवस्थामा मात्र अस्पताल वा स्वास्थ्य संस्थामा आइपुग्ने कारणले क्यान्सर पूर्ण रूपमा निको पार्न नसकिने अवस्थामा पुग्दछ । कतिपय बिरामीमा भने बेलैमा उपचार गरे पनि वा शल्यक्रियाको क्रममा केही अंश बाँकी भएर फेरि दोहोरिने हुन्छ । कतिपय अवस्थामा स्थान विशेषको क्यान्सर शरीरका अन्यत्र भागमा पनि फैलिन्छ । यस्तो अवस्थामा अस्पतालमा उपचार सम्भव नभएपछि घरमै राखेर हेरचाह गर्नुको विकल्प हुँदैन । घरमै राखेर क्यान्सर प्रभावित व्यक्तिको मेडिकल हेरचाह गर्ने ज्ञानको अभावमा बिरामीका आफन्तलाई झन् समस्या हुन्छ । यस्तो परिस्थितिमा हस्पिस सेवा सहयोगीसिद्ध हुन सक्छ ।
त्यसो त हस्पिस सेवा घरमा पनि सम्भव छ तर पनि संस्थागत रूपमा खोलिएको ठाउँबाट दिइने सेवा अलि बढी प्रभावकारी हुन्छ । नेपालमै पनि कतिपय ठाउँमा हस्पिस अर्थात् क्यान्सर प्रताडित राख्ने आवास सुविधा खुल्न थालेका छन् । क्यान्सरका कारण मृत्युको मुखमा पुगेका व्यक्तिलाई बाँकी जिन्दगी आरामयुक्त तवरले बिताउन पनि हस्पिसले धेरै सघाउँछ । शल्यक्रिया गर्न नमिल्ने एवं औषधि (केमो) चलाएर पनि रोग निको नहुने अवस्थामा पुगिसकेको बिरामीलाई हस्पिसमा राख्नु राम्रो हुन्छ ।
हस्पिस अस्पताल नै होइन । यसमा प्रस्ट हुन जरुरी छ । हस्पिस सेवामा रोग वा समस्या पत्ता लगाउन वा रोगलाई निको पार्न खोजिँदैन । यो हस्पिस सेवाको उद्देश्य पनि होइन । त्यसो भन्दैमा मृत्युलाई नजिकै ल्याउने पनि होइन । हस्पिस सेवाको उद्देश्य बिरामीको पीडा कम गर्ने तथा बिरामीका परिवारजनलाई ढाडस दिने हो ।
हस्पिस सेवामा क्यान्सरसम्बन्धी जानकार भएका स्वास्थ्यकर्मीको सेवा पनि उपलब्ध हुन्छ । मोटामोटी छ महिनाभन्दा कम समय बाँकी भएका तथा विभिन्न कारणले घरमै स्याहार्न अप्ठ्यारो भएकाले हस्पिस सेवा लिन सक्छन् । विशेषतः प्यालियाटिभ केयर दिइन्छ । प्यालियाटिभ केयर भन्नाले प्रभावितको लाक्षणिक उपचार मात्र गरिन्छ र गम्भीर रोगबाट प्रभावितको जीवनको गुणस्तर उकास्न मद्दत गरिन्छ ।
वास्तवमा हस्पिस सेवा बहुविधागत उपचार सेवा हो । यसमा संलग्नलाई जीवनको अन्त्यतिर पुगेकालाई सेवा गर्ने कार्यमा दखल प्राप्त हुन्छ । तिनीहरूले इच्छा अनुसार खान दिने, दुखाइ कम हुने औषधि दिने गर्दछ । मेडिकल टिमको सामीप्यमा रहेर खुराक तलमाथि गरी पीडा कम गर्ने औषधि सही मात्रामा दिने गर्छन् । यसका अतिरिक्त सेवाप्रदायकले बिरामीको भौतिक (शारीरिक), भावनात्मक, आध्यात्मिक तथा सामाजिक आवश्यकता सम्बोधन गर्नुपर्ने हुन्छ ।
हस्पिस सेवामा बिरामी केन्द्रित उपचार दिइन्छ । जसमा बिरामीको सहन क्षमता र बिरामीको परिवारको अपेक्षालाई प्राथमिकतामा राखिन्छ ।
यो अस्पतालभन्दा किन पनि फरक छ भने यहाँ रोग निको हुँदैन भनेर विस्तारै परामर्श दिई मानसिक रूपमा सबल बनाउने गरिन्छ । उस्तै समस्या भएका अन्य व्यक्तिका कथाव्यथा पनि थाहा पाएपछि आत्मबल बढ्छ । यसका अतिरिक्त कतिपय क्यान्सर रोगीले घरमै हस्पिस सेवा लिन चाहन्छन् । हस्पिसमा बसेका केही समयपछि घर फर्किन चाहन्छन् भने ४० प्रतिशतको त्यहीँ मृत्यु हुने गरेको छ ।
‘मर्नु बाँच्नु प्रकृतिको नियम हो, जीवन रहेसम्म आराम साथ बाँच्न पाउनु पर्दछ’ भन्ने मान्यता नै हस्पिस सेवाको हुन्छ । अन्य उपचार प्रविधिले बढ्ता जटिलता निम्त्याउने भएमा वा अन्य उपचार बिरामी एवं परिवारको प्राथमिकता परेन भने हस्पिस सेवालाई वैकल्पिक उपचार सेवाका रूपमा लिइन्छ ।
हस्पिसमा क्यान्सर जस्ता जीर्ण खाले समस्याबाट मृत्युनजिक पुगेका प्रभावितहरूलाई हौसला प्रदान गर्न, तिनीहरूलाई सहजता प्रदान गर्ने, जीवनस्तर बढाउने र व्यक्तिगत चाहना (सम्भवतः अन्तिम क्षणका) को कदर गरिन्छ तर सहजता व्यक्तिविशेष अनुसार फरक हुन सक्छ । अनि यो हस्पिस सेवामा संलग्न स्टाफले बिरामी र परिवारजनलाई कस्तो व्यवहार गर्छ भन्ने कुरामा पनि भर पर्दछ ।
हस्पिसकर्मीले बिरामीसँग र तिनका परिवारजनसँग बोलीचाली गर्ने बेलामा छुट्टै पहल हुनु पर्दछ । तिनीहरूले भविष्यमा आइपर्ने समस्याको अनुमान लगाउनुपर्ने पनि हुन्छ ।
हस्पिस सेवामा हस्पिसकर्मीका अतिरिक्त फिजिसियन, सामाजिक कार्यकर्ता, आध्यात्मिक परामर्शदाता समेटिएको टिम हुन्छ । विशेषतः ती हस्पिसकर्मीले बिरामी तथा परिवारजनको धार्मिक, सांस्कृतिक विविधताको आवश्यकता विचार गरी परिपूर्ति गर्दछन् ।
–युवामञ्च