नवराज नेपाली
बागलुङ (गलकोट), फागुन ३० गते । जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ वडा नम्बर ७ को जैदीमा सम्पन्न गरेको छ।
कार्यक्रममा पालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले हालसम्म ४० प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिनुभयो। उहाँका अनुसार चालु आर्थिक वर्षमा ६६ लाख रुपैयाँभन्दा बढी आन्तरिक राजस्व संकलन भएको छ।
नगरपालिकाका ४१८ वटा योजनामध्ये हालसम्म ३६७ वटा योजना सम्झौता भई कार्यान्वयनमा गएको पौडेलले बताउनुभयो। साथै ‘नगरकी छोरी’ कार्यक्रमअन्तर्गत २४ जनालाई जनही दुई हजार ५०० रुपैयाँका दरले खातामा जम्मा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।
सार्वजनिक सुनुवाइमा स्थानीयले बाँदर आतंकका कारण गाउँ खाली हुँदै गएको गुनासो गरेका थिए। वन्यजन्तुले कृषि बाली नष्ट गर्दा ठूलो नोक्सानी व्यहोर्नुपरेको उनीहरूको भनाइ थियो। बाँदर नियन्त्रणका लागि ठोस योजना नल्याए गाउँमा बस्नै कठिन हुने स्थानीयले बताएका थिए।
स्थानीय इन्दु शर्मा, सरस्वती शर्मा चालिसे, कमल नेपाली, तिलकबहादुर थापा, दुरबहादुर नेपाली, किरण चालिसे, टंक राना, लोकराज शर्मा र तमसम रानालगायतले किसानले समयमै मल–बीउ नपाएको तथा विपद्मा परेका नागरिकलाई उचित राहतको व्यवस्था गर्न माग गरेका थिए।
कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको जैमिनी नगरप्रमुख नरबहादुर पुन, उपप्रमुख हरिहर शर्मा र प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेललगायतले जवाफ दिनुभएको थियो। कार्यक्रममा बोल्दै नगरप्रमुख पुनले सुशासन र पारदर्शिताका लागि घुम्ती रूपमा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले कृषि एम्बुलेन्समार्फत किसानले उत्पादन गरेको वस्तुको बजारीकरणमा सहयोग पुर्याइने जानकारी दिनुभयो।
उपप्रमुख हरिहर शर्माले पालिकाले नागरिकको हितलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। सीमित स्रोत–साधनका बाबजुद नागरिकका आवश्यकता र चाहना पूरा गर्न अनुगमन, राजस्व संकलनलगायतका कार्यमा सक्रिय रहेको उहाँले उल्लेख गर्नुभयो।
जैमिनी नगरपालिका सुशासन समितिका संयोजक तथा जैमिनी नगरपालिका–२ का वडाध्यक्ष प्रेम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका सह–सचिव नवराज नेपालीले नागरिक सन्तुष्टि सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
पत्रकार महासंघका उपाध्यक्ष सुवास आचार्यले कार्यक्रमको टिप्पणी गर्नुभएको थियो भने सह–सचिव डम्मर बुढामगरले सहजीकरण गर्नुभएको थियो।