दैलेख जिल्लाको नारायण नगरपालिका–१, पुरानो बजारमा कोतगढी छ । यो गढी नेपाल एकीकरणताका विसं १८४६ कात्तिकमा दैलेख नेपालमा विलय भएपछि राजा रणबहादुर शाहको राज्यकाल र बहादुर शाहको नायबीकालमा त्यसबेला सरदार रहेका अमरसिंह थापा (पछि बडाकाजी) को निर्देशन, रेखदेख र सक्रियतामा नेपाली फौजले निर्माण गरेको थियो । आधुनिक नेपाल एकीकरणअघि हाल दैलेखमा पर्ने भूभाग दुल्लु र विलासपुर राज्यमा पर्थे ।
विसं १८४६ मा दुल्लु र विलासपुर (दैलेख) विजय भएको र त्यसपछि उक्त स्थलमा निर्माण गरिएको गढीबारे धेरै लेखकले कलम चलाएको पाइन्छ ।
दैलेख जिल्लाको गढीलाई ‘कोतगढी’ भनिन्छ । नेपाली सेना, जङ्गी अड्डाबाट विसं २०७७ मा प्रकाशित पुस्तक ‘नेपालका ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलहरूको परिचय’ मा दैलेखको गढीलाई ‘कोत गढी/कोत किल्ला’ भनिएको छ ।
सोमध्वज विष्ट लिखित ‘नेपाल–गढ’ मा दैलेख गढीबारे चर्चा छ । विष्ट लेख्नुहुन्छ, “दैलेखमा एउटा विशाल किल्ला छ । त्यसको विवरण यसप्रकार छ । किल्लाको चौतर्फी गोलाइ ४९१ फिट एक इन्च, अग्लाइ पर्खाल ११ फिट नौ इन्च, गारो बाक्लो छ फिट छ इन्च छ । एउटा ढोका उत्तर फर्केको छ । यसको अग्लाइ आठ फिट १० इन्च र चौडाइ पाँच फिट दुई इन्च छ । किल्लाको वरिपरि १३ प्वाल छन् । तोप वा बन्दुक भित्रबाट बाहिरतर्फ तेस्र्याएर गोली चलाउन हुने गरी भित्रबाट बाहिर फर्केका विशेष प्वालहरू छन् । गढीभित्र दुई घरहरू छन् । ... ...”
दैलेखको विलय र गढी निर्माण
विसं १८४५ ताका नेपालले तिब्बतसँग पहिलो पटक युद्ध लडेको थियो । सो युद्धको समयमा जुम्लाका नाबालक राजा चक्रसुदर्शन साहका काका नाताका हर्ताकर्ता नायब सोभन साहले मुस्ताङमा आक्रमण गरेर त्यहाँका पुराना राजा आङ्ग्यल दोर्जेलाई भगाइदिएका थिए । यसकारण तिब्बतसँगको युद्धलगत्तै नेपालले जुम्लामाथि हमला गरी नेपालमा विलय गर्ने योजना बनायो ।
विसं १८४६ असोजमा बहादुर शाहको निर्देशनमा जुम्लामाथि नेपाली सेनाले आक्रमण गरी विजय गर्ने योजना भयो र काजी शिवनारायण खत्री र सरदार प्रबल रानाको नेतृत्वमा सेना त्यसतर्फ रवाना भए । जुम्ला त्यसबेला बाइसी समूहका राज्यमध्ये शक्तिशाली थियो । जुम्ला विजयका लागि नेपाली सेनाले घेराउ गर्ने र आक्रमण गर्ने योजना थियो । जुम्ला छिनासिममाथि आक्रमणका लागि दैलेखको बाटो महाबैको लेक काटेर (मुहुडाबाट) गई आक्रमण गर्नु नेपाली सेनाका लागि सहज हुन सक्थ्यो । तथापि, विलासपुरका राजा कर्ण शाही जुम्ला, डोटी र अछाम जस्ता नेपालविरोधी समूहमा भएकाले उनले दैलेखको भूमिबाट बाटो दिएनन् । तसर्थ जुम्ला आक्रमणका लागि नेपाली सेना बागलुङ, प्युठानतिरबाट डोल्पा हुँदै तिब्रीकोट निस्केर जुम्लाको राजधानी छिनासिम आक्रमण गर्न गएको थियो । विसं १८४६ को दसैँको समय असोज २३ गते (महानवमीको रात) नेपाली सेनाले जुम्ला विजय गरेको थियो ।
जुम्ला विजयपछि नेपाली सेनाले विलासपुर विजयका लागि योजना बनायो । जुम्ला आक्रमणमा विलासपुरबाट बाटो नदिइएकाले विलासपुरका राजासँग नेपाली सेनाका कमान्डरहरू रुष्ट थिए । उनीहरूले काठमाडौँमा लेखापढी गरेर तत्कालै विलासपुर राज्य नेपालमा विलय गराउनुपर्ने अर्जी पठाए । वस्तुस्थिति बुझेपछि सल्यानमा रहेका नेपाली सेनाका कमान्डर सरदार कालु पाँडे र सरदार शत्रुसाधन शाही, कास्कीका द्वारे जयभद्र बोहोरासमेतलाई दुई कम्पनी सेना लिएर विलासपुर आक्रमण गर्न बहादुर शाहको आदेश पुगेपछि नेपाली सेना विलासपुर आक्रमण गर्न खटिए । नेपाल सरकारको आदेशमा सरदार अमरसिंह थापा नेतृत्वमा थप सेना लिएर खटिए । विलासपुरका सेनासँग नेपाली सेनाको सुर्खेतमा लडाइँ भयो । सुर्खेत त्यसबेला विलासपुर राज्यमा पथ्र्याे । युद्धमा कर्ण शाहीका सेना पराजित भएपछि सुर्खेतसहित विलासपुर नेपालमा गाभियो ।
प्राडा त्रिरत्न मानन्धर र अरू ‘नेपाल एकीकरणको इतिहास’ (विसं १८०१–१८७२), काठमाडौँ : नेपाली सेना, जङ्गी अड्डा, २०७७, पृ.२२६ मा उल्लेख भए अनुसार विलासपुर राज्य नेपालमा गाभिएको विसं १८४६ कात्तिकमा हो । विलासपुरमा अधिकार भएपछि नेपाली सेनाले दैलेखमा गढी बनायो ।
विलासपुर (दैलेख) मा नेपाली सेनाको अधिकार भएपछि दुल्लुका राजा उत्तिम शाहीले नेपाली सेनासँग युद्ध नगरी नेपालको अधीनता स्वीकार गरे र उनले आफ्ना सेनासहित नेपालको विजय अभियानमा सहयोग गरे । विसं १८४६ कात्तिक २१ गते दुल्लुले नेपालको आधिपत्य स्वीकार गरेको थियो ।
संशोधनमण्डलबाट प्रकाशित ‘पूर्णिमा’, पूर्णाङ्क ६५, २०४२ मार्ग, पृ. २० का अनुसार विसं १८४६ असोजमा सल्यानमा रहेका सरदार कालु पाँडे र शत्रुसाधन शाहीलाई दैलेख हान्न जानू भन्ने आदेश काठमाडौँबाट पठाइएको थियो । योगी नरहरिनाथबाट सङ्कलित, सम्पादित ‘इतिहास प्रकाश’ अङ्क २, भाग ३ (विसं २०१३) पृ. ४८७ मा पनि यसबारे उल्लेख छ ।
‘पूर्णिमा’, पूर्णाङ्क ६५, २०४२ मङ्सिर, पृ. ११–१२ मा विलासपुर (दैलेख) मा रहेका सरदार कालु पाँडेलाई विसं १८४६ आश्विन सुदी १२ रोज ५ मा कान्तिपुरबाट पठाइएको पत्र प्रकाशित छ । उक्त पत्रमा कालु पाँडेलाई सम्बोधन गरी “तिमिलाई अबिश्वास गरिएको होइन, दुई सर्दारबिच च्याताच्यात (हानाथाप) हुँदा सर्कारको कौडि बगला भन्ना निमित्त एताबाट मानिस पठाएको हो” भन्ने कुरा परेको छ । यसबाट उनको बदलामा अर्का सरदार अमरसिंह थापालाई उक्त स्थान अथवा दैलेखको तैनाथी दिएर कालु पाँडेलाई काठमाडौँ झिकाउने नेपाल दरबारको पूर्वयोजना थाहा हुन्छ । नेपाल दरबारको यस योजना अनुसार विलासपुर विजयलगत्तै विसं १८४६ माघमा भएको पजनीमा सरदार कालु पाँडे काठमाडौँ झिकाइए । विलासपुर विजयका लागि पठाइएका अर्का सरदार अमरसिंह थापाले दैलेखको सुरक्षा जिम्मेवारी समाले ।
विलासपुरको तैनाथी समालेका सरदार अमरसिंह थापाले त्यहाँ रहेर काठमाडौँसँग समन्वय गरी दैलेखपश्चिम विजयका लागि १० कम्पनी सेना तयार गरे । उनले दुल्लुमा बसेर पश्चिमतर्फ बझाङ, दर्ना, बाजुरा, अछाम, थलहरा, कुमाउ, गढवालसम्म विजय अभियान विस्तारका खातिर राम्रो तयारी गरे । कर्णालीपश्चिमका यी भूभाग विजयका लागि अमरसिंह थापाले दैलेखमा बलियो गढी (किल्ला) बनाए ।
अमरसिंह थापा र दैलेख गढी
विलासपुरका सेनासँग धेरै घरेलु हातहतियार थिए । विलासपुर विजयपछि ती हातहतियार नेपाली सेनाले हात पारेको र त्यसलाई सुरक्षित राख्नु अपरिहार्य थियो । तसर्थ तत्काल गढी निर्माण गरियो र हतियारहरू सुरक्षित राखियो । विलासपुर राज्यका हातहतियार राखेपछि त्यस गढीलाई स्थानीय र सेनाले ‘कोतगढी’ भन्न थालेका हुन् ।
जुम्लाको सीमा तिब्बतसँग जोडिएकाले जुम्लाका पराजित राजा र उनका नायब सोभन शाहीले मुगु र हुम्लामा लुकेर बसी तिब्बतसँग सहयोग मागी जुम्ला राज्य फिर्ता गर्न प्रयास गरेका थिए । तिब्बतको सहयोगमा जुम्ला, अछाम र पूर्वको चैनपुरमा नेपाली सेनाविरुद्ध विद्रोह भएको थियो । नेपाली सेनाको विजयसँग असन्तुष्ट समूहले तिब्बती सहयोगमा जुम्ला र पश्चिमका विजित भूभागमा पटक पटक विद्रोह गरेको थियो तर नेपाली सेना ती विद्रोह नियन्त्रण गर्न सफल भएको थियो । त्यस इलाकामा र खास गरी विलासपुर (दैलेख) मा कुनै पनि समयमा आक्रमण हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी नेपाली सेनाबाट उत्तर मोहडा पारेर दैलेखमा बलियो किल्ला/गढी निर्माण गरिएको थियो ।
भेरीपारि, दैलेख, दुल्लुसम्म विजय भएकाले नेपाली सेना दैलेखभन्दा पश्चिमको पहाडी भूभाग विजयको तयारीमा थियो । पश्चिम विजयका लागि दैलेखलाई मुकाम बनाएर पश्चिमतर्फको युद्ध सञ्चालन गर्न बलियो, मजबुत किल्ला/गढी आवश्यक थियो । गढीमा पर्याप्त मात्रामा हातहतियार, सैनिक आदि बन्दोबस्तीका सामान सुरक्षित राख्न सकियोस् भन्ने उद्देश्यले किल्ला निर्माण गरिएको थियो ।
दैलेख काठमाडौँभन्दा धेरै टाढा र त्यसबेला यातायातको सुविधा नभएकाले सैनिकहरू पैदल हिँड्थे । लगातार लामो यात्रा गर्दा सैनिक थाक्ने हुनाले ठाउँ ठाउँमा बलिया गढी निर्माण गरेर सैनिकका मुकाम कायम गरिएको थियो । त्यहाँ सैनिक र हतियार सुरक्षित छन् भनी ढुक्क हुने नेपाली सेनाको रणनीति थियो । यसर्थ दैलेखको गढीमा धेरै सैनिक, हतियार, खाद्यान्न सुरक्षित राखेर त्यहाँ सैनिक जम्मा गरिन्थ्यो । सैनिकलाई तालिम दिएर पश्चिमतर्फ आक्रमण गर्न यो गढी मजबुत र बलियो ढङ्गबाट बनाइएको थियो ।
कोतगढी निर्माणका योजनाकार
दैलेखको कोतगढी निर्माणका मुख्य योजनाकार सरदार अमरसिंह थापा (पछि बडाकाजी) हुन् । दैलेखमा सरदार अमरसिंह थापाका सहायक कप्तान गोलैया भण्डारी (खवास), कप्तान रणवीर षत्रीलगायत थिए ।
कोतगढी उत्तरी मोहडाबाट आउन सक्ने शत्रुसेनालाई ध्यानमा राखेर निर्माण गरिएको छ । दैलेख विजयका लागि खटिएका दुईमध्ये एक सरदार कालु पाँडे लगत्तै काठमाडौँ झिकाइएकाले (कालु पाँडेलाई माघमा काठमाडौँ फर्कनुपर्ने जानकारीपत्र केही समयअगावै पुगेको थियो) कालु पाँडेको नेतृत्वमा उनले त्यस गढी बनाएको हुन सक्दैन । त्यसबेला दैलेखको नेपाली सेनाको तैनाथी सरदार अमरसिंह थापाले समालेका र उनी नै त्यहाँको उच्च तहका कमान्डर भएकाले दैलेख गढीको निर्माण अमरसिंह थापाको रेखदेख र निर्देशनमा भएको थियो ।
ज्वाला भगवतीका नाममा विसं १८४२ वैशाख ८ मा नायब महारानी राजेन्द्रलक्ष्मीको कार्यकालमा नेपाली सेनामा ‘ज्वालादल कम्पनी’ स्थापना गरिएको थियो । दैलेख विजयपछि ज्वालादल कम्पनी दैलेखमा धेरै समय बसेकाले सो गढीको निर्माण, संरक्षण र हेरचाहमा सो कम्पनीको भूमिका थियो । दैलेख र दुल्लुको बिचमा ज्वालामाई भगवतीको थान (मन्दिर) छ ।
विसं १९२३ ताका ज्वालादल मिलिसिया कम्पनी दैलेख, दुल्लुमा तैनाथ रहेको तथ्य दिनेशराज पन्तसमेत लिखित पुस्तक ‘नेपाली सेनाको इतिहास’ (विसं १८७२–२००७), काठमाडौँ : जङ्गी अड्डा, २०७९, पृ. ३० मा उल्लेख छ ।
गढीलाई किल्ला पनि भनिन्छ । गढी, गढ, गडी, गौँडा समान अर्थ दिने शब्द हुन् । कतिपय ग्रन्थमा ‘गढी’ लाई जङ्गी अफिसर बस्ने पहाडी अफिस भनिएको पाइन्छ । गढी सेनाको हातहतियार, खरखजाना राख्ने कोतघर पनि हो । दैलेखमा नेपाली सेनाको तैनाथी समालेर बसेका सरदार अमरसिंह थापाले नेपाली सेनाका लागि १० कम्पनी सेना तयार गरेका थिए । थापाले यिनै सेनाको सहयोगमा सेना र हतियार राख्ने गढी निर्माण गरेर पश्चिमको डोटी, डडेलधुरा, बझाङ, बाजुरालगायतका भूभाग विजय गरेका थिए ।
बाबुराम आचार्यले ‘बहादुर शाहको मुख्तियारी (२) भेरीदेखी गङ्गासम्म राज्यविस्तार’, ‘पूर्णिमा’, पूर्णाङ्क ६१, काठमाडौँ : संशोधनमण्डल, २०४१ फागुन, पृ. २६ मा लेखेका छन्, “...यस समयमा परवतको सदर मुकाम बागलुंगमा सरी त्यसपट्टिका रक्षाको भार लिएर अमरसिंह थापा रहेका थिए । उत्तम शाहको प्रार्थना पत्र आएपछि बहादुर शाहले यि दुबै सरदारलाई अघि बढ्ने आज्ञा दिए । यि दुबै सरदारले दुई कम्पनी सैनिकका साथ उत्तम शाहीलाई लिएर जांदा सुरिखेतमा सङ्ग्राम साहले रोके । तर मामुली लडाइँमा हारेर भागी पदनाहा (अचेलको बर्दिया) मा अडिए । विलासपुर दखल गरी त्यहाँनेरै दैलेख भन्ने ठाउँमा गढी बनाई गोरखाली सैनिक रहेर विलासपुर र दुल्लुको समेत रक्षा गर्न लागेका हुनाले यि दुई रियासत मिलेर दैलेख कहिन लाग्यो ।”
आचार्य लिखित उपर्युक्त तथ्यबाट सरदार अमरसिंह थापा दैलेख विजयमा सहभागी भएका र दैलेख विजयपछि लगत्तै सरदार कालु पाँडेलाई काठमाडौँ फिर्ता बोलाइएको, दैलेखको सैनिक कमान्डको नेतृत्वमा रहेर त्यसबेला सरदार र पछि बडाकाजी भएका अमरसिंह थापाले ‘कोतगढी’ भनिने ‘दैलेखगढी’ निर्माण गरे/गराएको प्रस्ट हुन्छ ।
दैलेखको ‘कोतगढी’ बारे अर्का लेखक गोपीनाथ शर्माले ‘बाइसी राज्यको इतिहास (शिक्षा, कला र संस्कृति)’, काठमाडौँ : मकालु प्रकाशनगृह, २०७०, पृ. १५०–१५६ मा सङ्क्षिप्त चर्चा चर्चा गरेको पाइन्छ । लेखक शर्माका अनुसार ‘...कालु पाँडे दैलेखको राजधानी विलासपुर पुगी आक्रमण गरे । त्यसै गरी शत्रुसाधन साही दुई कम्पनी सेनासाथ दिएर अघि बढेका थिए भने जयद्रथ बोहरा कास्कीका थर घर उमरा सुर्खेत र दैलेखको युद्ध मोहडामा पुगे । काठमाडौँबाट सरदार अमरसिंह थापाको नेतृत्वमा अर्काे पल्टन पनि पठाइएको थियो ।”
चारैतिरबाट नेपाली सेनाले घेरेका र दुल्लुका राजा उत्तम शाहीले नेपाली सेनालाई साथ दिएकाले विलासपुरका राजा कर्ण शाही भागे । त्यसपछि विलासपुर नेपालको अधीनमा भयो ।
माथिको चर्चाबाट विसं १८४६ मा विलासपुर राज्य विजयपछि दैलेखमा नेपाली सेनाका तत्कालीन सरदार अमरसिंह थापा (पछि बडाकाजी) को नेतृत्वमा दैलेख गढी निर्माण भएको थियो । यो गढी निर्माण भएर यहाँ हातहतियार थुपारिएपछि यसलाई ‘कोतगढी’ भन्न थालियो ।
सोमध्वज विष्टले ‘नेपाल–गढ’ पुस्तकको पृ. ८९ मा डोटीको “...तिखा गाउंको पुर्व डांडामा अमरसिंह थापाले निर्माण गराएको अमरसिंहगढी छ” भनी उल्लेख गरेका छन् । डोटीको तिखा गाउँको पूर्वमा रहेको डाँडा दैलेखबाट एक दिन आसपासको पैदलयात्राको बाटोमा छ । नेपाल एकीकरणको सोही समयताका केही महिनाअघि अमरसिंह थापाबाट निर्माण भएको दैलेखको कोतगढीमा शिलालेख छैन । ऐतिहासिक सामग्रीको अध्ययनबाट यो गढी अमरसिंह थापाको नेतृत्वमा निर्माण भएको स्पष्ट हुन्छ ।
अमरसिंह थापा गोर्खाको सिरानचोक, चिप्लेटीलगायतका स्थानमा हुर्किएर गढी र किल्ला निर्माण, बनावट र त्यसको सुरक्षामा गहिरो अनुभव सँगालेका योद्धा थिए । उनका पिता बाघ भीमसिंह थापा गोर्खामा गढी, किल्ला निर्माण र सुरक्षामा उच्च दक्खल भएका सैनिक अधिकारी (उमरा) थिए । काठमाडौँ उपत्यकाबाट पूर्वका विजयपुर र चौदण्डी राज्य विजयका खातिर बख्सी अभिमानसिंह बस्न्यात, सरदार रामकृष्ण कुँवर र सरदार पारथ भण्डारीसहितको दलमा खटिएर अमरसिंह थापाले पूर्वको विजय युद्धमा र त्यसपछि निर्मित गढी÷किल्ला निर्माणमा राम्रो अनुभव सँगालेका थिए । पछि पश्चिम विजयका सिलसिलामा दैलेखको कोतगढी र डोटीको तिखागढी एवं महाकालीपश्चिमका कुमाउ, देहरादुन, गढवाल, सिरमोरलगायतका भूभाग विजय एवं त्यस स्थलमा गढी/किल्ला निर्माणमा अमरसिंह थापाको प्रत्यक्ष निर्देशन, रेखदेख र भूमिका रहेको तथ्य प्रशस्त पाउन सकिन्छ ।
दोस्रो चरणको निर्माण
कोतगढी नेपाल–अङ्ग्रेज युद्ध, विसं १८७१–७२ पछि पुनर्निर्माण भएको थियो । नेपाल–अङ्ग्रेज युद्धपछि अथवा विसं १८७३ पछि १० वर्षसम्म नेपाली सेनाले नेपालका विभिन्न स्थानमा पुराना गढी मर्मत गर्ने र स्थानविशेषमा नयाँ गढीहरू निर्माण गर्ने काम गरेको थियो । त्यसबेला पश्चिम नेपालको दैलेखको कोतगढी पुनर्निर्माण गरिएको थियो ।
नेपालमा गढी बनाउने काम अनुभवी कालिगडहरूबाट हुन्थ्यो । सैनिक कमान्डरहरू खास गरी सरदार र काजीको निर्देशनमा गढीको निर्माण, पुनर्निर्माण एवं मर्मत गरिन्थ्यो । गढी निर्माणमा लामो अनुभव र योगदान गरेका नरवीर महतको नाम विशेष रूपमा पाउन सकिन्छ ।
पहिलो चरणमा झैँ दोस्रो चरणको पुनर्निर्माणमा प्रत्यक्ष नेतृत्व गर्ने अलग्गै सैनिक अधिकृत खटाइएको पाइँदैन । यस चरण अन्तर्गत विसं १८८० ताका राजधानी काठमाडौँबाट दिइएको निर्देशन अनुसार स्थानीय सैनिक अधिकारीको खटनपटनमा यो गढी पुनर्निर्माण भएको थियो । ढुङ्गैढुङ्गाले बनेको यो गढी वर्गाकार स्वरूपको छ । यसको परिधि ६७२ मिटर छ ।
नेपालका प्रमुख गढी
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपालमा धेरै गढी, किल्ला र कोट छन् । तीमध्ये नेपालका प्रमुख गढीमा हतुवागढी, उदयपुरगढी, चौदण्डीगढी, चैनपुरगढी, साँगुरीगढी, विजयपुरगढी, सिन्धुलीगढी, हरिहरपुरगढी, मकवानपुरगढी, दुगुनागढी, साँगाचोकगढी, पलाञ्चोकगढी, नुवाकोटगढी, बारागढी, अम्वासगढी, चिसापानीगढी, पर्सागढी, अमरगढी, अजयमेरुकोट, तिखागढी, मङ्गलगढी, उपरदाङगढी, नालदुमगढी, दहचोकगढी, रागीनासकोट, कास्कीकोट, सुमेश्वर (सोमेश्वर) गढी, जोरायलगढी, दैलेखगढी (कोतगढी), जितगढी, सतहुँकोटगढी, कविलासगढी आदि छन् ।