जीवछ यादव
लहान, फागुन ३० गते। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मत परिणाम सार्वजनिक भएपछि लहानका सचेत नागरिक अगुवाहरूले आफ्ना क्षेत्रबाट निर्वाचित सांसदलाई आफ्नो प्रतिवद्धता पूरा गराउन निरन्तर खवरदारी गर्दै जाने बताउनुभएको छ।
फागुन २१ गते सम्पन्न भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि सचेत मतदाताहरूले सिरहा–१ मा विकास र निकासका काम पूरा गराउन निरन्तर खवरदारी गर्नुपर्ने निष्कर्ष निकालेका छन्।
स्थानीय पत्रकार विजय यादवले भन्नुभयो, “पहिला निर्वाचित सांसदहरूले किन जनभावना अनुसार काम गर्न सकेनन्? जनतासँग सुमधुर सम्बन्ध राख्न सकेनन्। अब यो कमजोरी देखाउने छुट सिरहा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बब्लु गुप्तालाई नदिन हामी निरन्तर खवरदारीमा रहनुपर्छ।”
सिरहा–१ को प्रमुख समस्यामा ठाडी–नेपालटार सडक निर्माण, खुटी नहरको सञ्चालन, दलित र विपन्न बस्तीमा सुरक्षित आवास, शिक्षा–स्वास्थ्य सुधार, ठाडी भन्सारको स्तरोन्नति, सिँचाइ, मलखाद्य, रोजगारीका अवसर र दाइजोमुक्त समाज रहेका छन्। प्रेस चौतारी सिरहा शाखाका अध्यक्ष शिव कुमार साहले भने, “यी प्रमुख प्रतिवद्धताहरू पूरा गराउन हाम्रो भूमिका महत्त्वपूर्ण हुनेछ।”
नागरिक अगुवा तथा वातावरणविद् दिनेश यादवले भने, “सरकार गठन भएसँगै निर्वाचित सांसद गुप्तालाई स्वस्थ्य सुझाव र निरन्तर सहयोग गर्ने कार्यक्रमलाई सचेत अगुवाहरूले कहिल्यै भुल्न हुँदैन र गलत काम गराउन दबाब दिन पनि हुँदैन।”
स्थानीय नेनीलाल रामले भने, “जेनजी आन्दोलनलाई निर्वाचनले अनुमोदन गरेको र ठुलो मत अन्तरले सिरहा–१ बाट एक अगुवा नेताको छवि बनेको छ। जेनेजी सहिलहरूको सपना साकार गर्ने कार्यलाई विर्सन हुँदैन।”
निर्वाचित सांसद बब्लु गुप्ताले चुनावमा गरेका प्रतिवद्धताहरू डायरीमा नोट गरेर राखेको बताउनुभयो। उहाँले भन्नुभयो, “मलाई नेताभन्दा पनि मतदाताबाट असीम माया र स्नेह प्राप्त भएको छ। गल्ती वा अहंकार पाल्ने छुट छैन।”