• २३ मंसिर २०८१, आइतबार

शक्ति राष्ट्रलाई थला पारेको आर्थिक महामन्दी

blog

सन् १९३० को दशकमा विश्वले आधुनिक इतिहासकै सबैभन्दा ठूलो आर्थिक मन्दीको सामना गर्नुपरेको थियो । ‘ग्रेट डिप्रेसन’ का नामले समेत चिनिने उक्त आर्थिक मन्दी सन् १९२९ देखि सन् १९३९ सम्म कायम रह्यो । महामन्दीले उपभोक्ताको मागमा कमी, ऋण वृद्धि, महँगीजस्ता समस्या सिर्जना गरेको थियो । औद्योगिक उत्पादनमा समेत कमी आयो । 

अमेरिकी सेयर बजारबाट सुरु भएको उक्त आर्थिक महामन्दीले विश्व अर्थतन्त्रलाई धराशायी पारेको थियो । जसको प्रभाव विश्व अर्थतन्त्र र राजनीतिमा पर्‍यो । विश्वभर सबैतिरको जनजीवन कठिन बनेको थियो । लाखौँ मानिसले आफ्नो जागिर गुमाएका थिए । कैयौँ घरवारविहीन बने । कृषि उत्पादनमा पनि ६० प्रतिशतले गिरावट आएको थियो । मन्दीका कारण विश्वका अधिकांश मुलुकको आर्थिक गतिविधि अवरुद्ध हुन गई अन्तर्राष्ट्रिय व्यापारसमेत ठप्पप्रायः थियो । 

मन्दीको आरम्भ

महामन्दीको आरम्भ अमेरिकाबाट भएको थियो । अमेरिकाबाट सुरु भएको मन्दीको असरले सन् १९३३ सम्म सारा विश्वलाई चपेटामा पार्‍यो । सन् १९२९ अक्टोबर २९ मङ्गलबार अमेरिकी सेयर बजारमा आएको गिरावटलाई यस आर्थिक महामन्दीको प्रस्थान बिन्दु मानिन्छ ।

त्यसैले त्यस दिनलाई आज पनि कालो मङ्गलबारका रूपमा लिने गरिन्छ । अमेरिकी सेयर बजारमा गिरावटको मनोवैज्ञानिक असर त्यहाँका नागरिकमा पर्न गयो । सोही कारण अमेरिकी नागरिकले आफ्नो खर्चमा १० प्रतिशतसम्म कटौती गरे । जसले गर्दा माग प्रभावित बन्न पुग्यो । उपभोक्ताले बैङ्कको ऋण तिर्न छोडे । त्यसको असर समग्र बैङ्किङ प्रणालीमा पर्न गयो । बैङ्कहरूले कर्जा दिन छोडे । बैङ्कहरूले कर्जा दिन छोडेपछि बैङ्कबाट पैसा झिक्ने परिपाटी चुलियो । सोही कारण कैयौँ बैङ्कले टाट पल्टिएको घोषणा गरे ।

कारण

सन् १९२० को दशकमा अमेरिकी अर्थतन्त्र द्रुततर वृद्धि हुँदा सन् १९२९ सम्म कुल सम्पत्ति दोब्बरले बढ्न पुग्यो । जसलाई ‘द रोरिङ ट्वान्टिज’ भनिन्छ । वाल स्ट्रिटस्थित न्युयोर्क स्टक एक्सचेन्जमा केन्द्रित स्टक बजारमा अमेरिकी करोडपति, होटेल मजदुर, चौकीदार, कुल्लीसम्मका सबैले आफ्नो बचत स्टकमा खन्याए । परिणामतः सेयर बजार उकालो लाग्यो ।

सन् १९२९ मा आइपुग्दा अमेरिकी सेयर बजारले उचाइको शिखर चुम्यो । सन् १९२९ को मध्यमा आइपुग्दा अमेरिकी अर्थतन्त्रमा हल्का मन्दी देखिन थाल्यो । त्यसपछि उपभोक्ताले खर्च कटौती गरे । बजारमा सामान बिक्न छाडे । नबिकेका सामान फिर्ता हुन थाले । जसको असर कलकारखानामा पर्न गयो तर स्टकको मूल्य भने बढ्दै थियो ।

सन् १९२९ अक्टोबर २४ मा लगानीकर्ताले ठूलो मूल्यका सेयर सामूहिक रूपमा बेचेपछि स्टक बजार दुर्घटना मुखरित भयो । त्यस दिन एक करोड २९ लाख डलरको सेयर कारोबार भएको थियो । अक्टोबर २४ को त्यस दिनलाई ‘ब्ल्याक थर्डस्’ भन्ने गरिन्छ । त्यसको पाँच दिनपछि अर्थात् २९ अक्टोबरमा वाल स्ट्रिटमा आतङ्कको अर्को लहर छायो । ‘ब्ल्याक ट्युजडे’ भनिने त्यस दिन एक करोड ६० लाख डलरको सेयरको कारोबार भयो ।

त्यसरी कारोबार भएका सेयर ‘मार्जिन’  स्टक थिए । सोही कारण सेयर बजार धराशायी बनेको थियो । सेयर बजारमा देखा परेको सङ्कटका कारण सेयर बजारले उपभोक्ताको विश्वास गुमाउन पुग्यो । खर्च र लगानीमा आएको मन्दीले कारखाना र अन्य व्यवसायले उत्पादनलाई सुस्त बनाए । कामदारलाई कामबाट निकाले । रोजगारीमा जोगिएकाको पनि ज्याला घटाइयो । उनीहरूको व्रmयशक्तिमा समेत ह्रास आयो ।

त्यसपछि अधिकांश अमेरिकी नागरिकको कारोबार क्रेडिटमा हुन थाल्यो । अधिकांश नागरिक ऋणमा फसे । हुँदाहुँदा अमेरिकी महामन्दी देशभित्रै सीमित रहेन त्यसको असर विश्वव्यापी रूपमा देखिन थाल्यो । खासगरी युरोपमा अर्को ठूलो सङ्कट आइलाग्यो ।

महामन्दीका कारण अमेरिकाको बेरोजगारी सङ्ख्या १५ लाखबाट बढेर एक करोड ३० लाख पुगेको थियो । महामन्दीको युरोपमा परेको असरका कारण अमेरिकाको युरोपेली ऋण डुब्ने स्थितिमा पुग्यो । अमेरिकामा सन् १९३२ को राष्ट्रपति आमनिर्वाचनमा आर्थिक महामन्दीका कारण रिपब्लिक पार्टीका हवर्ट हुबर पराजित भएका थिए । डेमोक्रेटिक पार्टीबाट  राष्ट्रपतिका उम्मेदवार रहेका फ््रयाकलिन डी. रुजवेल्ट आर्थिक सुधार कार्यक्रमलाई चुनावी मुद्दा बनाएका कारण विजयी भए ।

निर्वाचनमा विजयी भएपछि राष्ट्रपति रुज्वेल्टले आर्थिक महामन्दीबाट बाहिर निस्कन नयाँ चुनावी मुद्दा अघि सारे । रुज्वेल्टले अमेरिकी अर्थव्यवस्थामार्फत कृषि र उद्योगबीच सन्तुलन ल्याउने, मजदुर–कामदार, रोजगारदाता र उपभोक्ताबीच सन्तुलन कायम गर्ने, आन्तरिक बजार सुदृढीकरणका साथै अन्य मुलुकसँगको व्यापार बढाउने घोषणा गरे ।

युरोपमा प्रभाव

आर्थिक महामन्दीले युरोपमा सोभियत रुसबाहेक अन्य मुलुकमा नराम्रो असर पारेको थियो । जर्मनीमा बेरोजगारी बढ्यो । महामन्दीका कारण सन् १९३२ मा जर्मनीमा बेरोजगारको सङ्ख्या बढेर ६० लाख पुगेको थियो, महँगीले शिखर चुम्यो । त्यस अवस्थामा जर्मनी भर्सायल सन्धि अनुसार अन्य मुलुकलाई प्रथम विश्वयुद्धको क्षतिपूर्ति तिर्दै आएको थियो । यही अवस्थालाई भजाएर हिटलर जर्मनीको राज्यसत्तामा पुग्न सफल भएका थिए । अझ भन्नुपर्दा जर्मनीमा नाजीवादका पछाडि यो आर्थिक महामन्दी पनि एउटा मुख्य कारण थियो ।

आर्थिक महामन्दीको सामना बेलायतले पनि गरेको थियो । महामन्दीका कारण बेलायतले सुनको निर्यातमा रोक लगायो । पछि बेलायतले व्यापारमा संरक्षणवादी नीति अवलम्बन गर्‍यो । सोही कारण व्यापारको सन्तुलन बेलायतको पक्षमा हुँदा उसलाई महामन्दीबाट बाहिर आउन सजिलो भएको थियो । 

युरोपेली अन्य देशको तुलनामा फ्रान्समा महामन्दीको प्रभाव कम परेको थियो । त्यसको एक प्रमुख कारण थियो फ्रान्सले त्यतिबेला जर्मनीबाट प्रथम विश्वयुद्धको क्षतिपूर्ति असुल्नु ।

कम्युनिस्ट राष्ट्र भएकाले सोभियत सङ्घले आफूलाई पुँजीवादी प्रणालीबाट अलग राखेको थियो । पुँजीवादी देशहरू सोभियत सङ्घसँग टाढा थिए । सोही कारण पनि अमेरिकामा देखा परेको आर्थिक महामन्दीको असर युरोप र एसियामा पर्दासमेत सोभियत सङ्घलाई त्यसले छुन सकेन । त्यस अवधिमा सोभियत सङ्घले उल्टो औद्योगिकीकरण विस्तार गर्‍यो । स्टालिनको नीति तथा पञ्चवर्षीय योजनाका कारणले सोभियत सङ्घको आर्थिक स्थिति सुदृढ बन्न पुग्यो । जसका कारण संसारमा कम्युनिस्ट प्रणालीप्रतिको मोह विश्वका अन्य मुलुकमा देखिन पुगेको थियो भने पुँजीवादी राज्य व्यवस्थाप्रति वितृष्णा फैलिएको थियो ।

पुँजीवादको अवस्थालाई मध्यनजर गर्दै अमेरिकाले दोस्रो विश्वयुद्धपछि पश्चिम युरोपेली देशलाई सुदृढ पार्ने योजना अघि सारेको थियो । ‘सैन्य योजना’ का नामले परिचित उक्त अमेरिकी योजनामा  विश्वयुद्धका कारण ध्वस्त मुलुकको पुनर्निर्माण गरिने भनिए पनि सारमा सोभियत सङ्घको प्रभावका कारण विश्वव्यापी बनिरहेको साम्यवादको सम्भावित विस्तार रोक्नु थियो तर यस योजना अनुसार अघि सारिएको अमेरिकी नीति सफल हुन सकेन र सोभियत सङ्घको प्रभाव कायमै रह्यो । यता एसियामा जापानका सम्राट हिरोहितोले आर्थिक महामन्दीबाट राहत पाउन सकिन्छ कि भन्ने आधारमा चीनको मन्चुरियामा आक्रमण गरी खानी विकास गरेका थिए ।

उन्मुक्ति

अमेरिकाका राष्ट्रपति ह्युबर प्रशासनले महामन्दीसँग जुझ्नै सकेन । ह्युबर प्रशासनको समयमा महामन्दी झन् झन् चरम रूप धारण गर्दै गयो । त्यस अवस्थामा ह्युबरको प्रशासनले असफल बैङ्कहरू र अन्य संस्थालाई सरकारी ऋणका साथै आर्थिक सहयोगको प्रयास गर्‍यो । जसको उद्देश्य ती बैङ्कले ऋण सहयोगको बदलामा व्यवसायीलाई ऋण उपलब्ध गराउने छन् भन्ने थियो ।

तर ह्युबर प्रशासनको उक्त योजना सफल भएन । राष्ट्रपति हुनुअघि ह्युबरले अमेरिकी वाणिज्य सचिवका रूपमा काम गरेका थिए । सोही कारण उनी अमेरिकी सरकारले अर्थव्यवस्थामा सिधै हस्तक्षेप गर्नु हुँदैन भन्ने मान्यता राख्थे ।

त्यस महामन्दीको बीचमा भएको आमनिर्वाचनमा राष्ट्रपतिमा निर्वाचित रुज्वेल्टले अर्थतन्त्र सुधारका दिशामा ठोस कदम चाले । सन् १९३३ मार्च ४ मा सबै अमेरिकी राज्यले सबै बैङ्कलाई बन्द गर्न आदेश दिए । अमेरिकी अर्थतन्त्र त्यतिबेला यस्तो अवस्थामा पुगेको थियो कि अमेरिकी अर्थ मन्त्रालयसँग सरकारी कर्मचारीलाई तलब दिने पर्याप्त पैसासमेत थिएन । राष्ट्रपति बनेपछि उनले निर्वाचनताकाका प्रतिबद्धतालाई कार्यान्वयनको दिशामा लगे । जसका कारण अमेरिकी अर्थतन्त्रमा सुधारका सङ्केत देखिए ।

औद्योगिक तथा कृषि उत्पादनमा वृद्धि भएपछि न्यूनतम ज्याला दर र कामका लागि अधिकतम समय तोकियो । रुज्वेल्टले वित्तीय प्रणालीमा सुधारका लागि फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनमा निक्षेपकर्ताहरूको खाताको सुरक्षा गर्न र सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनलाई स्टक बजार नियमनको दायरामा ल्याए ।

औद्योगिक राष्ट्र भएर पनि महामन्दी सुरु हुँदा अमेरिकामा बेरोजगारी बीमा तथा सामाजिक सुरक्षाको व्यवस्था थिएन । त्यसैले सन् १९३५ मा पहिलो पटक अमेरिकी कांग्रेसले सामाजिक सुरक्षा ऐन पारित गर्‍यो । जसका कारण पहिलो पटक अमेरिकी नागरिकलाई बेरोजगारी, अपाङ्गता र वृद्धावस्थामा पेन्सन दिने व्यवस्था लागू भयो ।

उसो त आर्थिक मन्दीबाट उत्मुक्तिका सङ्केत सन् १९३३ को मध्यतिर देखा पर्न थालिसकेका थिए । त्यसपछि अमेरिकी सरकारले अमेरिकी अर्थव्यवस्था सुधार कार्य थप तीन वर्षसम्म जारी राख्यो । जर्मनी र अन्य ‘एक्सिस पावर’हरूविरुद्धको सङ्घर्षमा बेलायत र फ्रान्सलाई समर्थन गर्ने राष्ट्रपति रुज्वेल्ट प्रशासनको निर्णयसँगै रक्षा उत्पादनले निजी क्षेत्रमा थप रोजगारीका अवसर सिर्जना गरेको थियो । 

सन् १९४१ डिसेम्बरमा पर्ल हार्बरमा जापानी आक्रमणपछि अमेरिकाले दोस्रो विश्वयुद्धमा प्रवेश गर्‍यो । सोही कारण अमेरिकाले हतियार उत्पादनमा थप जोड दियो । भएभरका कारखाना सञ्चालनमा ल्याइयो । जसले गर्दा युवाले सेनामा भर्ती हुने, बाँकी बेरोजगार हतियारलगायतका कलकारखानामा काम गर्न थाल्दा त्यहाँ रोजगारीका प्रशस्त अवसर सिर्जना हुन पुग्यो ।

त्यसपछि आर्थिक महामन्दीले विस्तारै उन्मुक्तिको मार्ग लिएको थियो । अन्ततः सन् १९२९ मा सुरु भएको महामन्दी सन् १९३९ मा दोस्रो विश्वयुद्धको थालनीपछि समाप्तिको दिशामा लाग्यो ।  

 

Author

रतन भण्डारी