• २५ असार २०८२, बुधबार

विलासिता करको विरोधमा प्रदर्शन

blog

बाँकेका सुनचाँदी व्यवसायीले निकालेको मोटरसाइकल र्‍याली। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार २५ गते।  सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र बहुमूल्य पत्थर जडित गहनामा लगाइएको १३ प्रतिशत भ्याट हटाउने माग गर्दै आन्दोलनमा रहेका बाँकेका सुनचाँदी व्यवसायीले बुधबार मोटरसाइकल  र्‍याली निकालेका छन्।  

असार १३ गतेदेखि आफ्ना सबै पसल व्यवसाय बन्द गरेर आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीले गत बुधबारबाट रिले अनशनसमेत सुरु गरेका थिए।  बुधबार विभिन्न नारा लगाउँदै नेपालगन्ज, खजुरा र कोहलपुरमा मोटरसाइकल  र्‍याली प्रदर्शन गरेका हुन्।  

नेपालगन्ज सुन चाँदी व्यवसायी सङ्घ, बाँकेका अध्यक्ष सलाहुद्दिन जसगढले ठुलो सङ्ख्यामा मोटरसाइकलमा निस्केका व्यवसायीले नाराबाजीसहित नेपालगन्ज, खजुरा र कोहलपुर नगरपरिक्रमा गरेको बताउनुभयो।  

सोही क्रममा व्यवसायीले आन्तरिक राजस्व कार्यालय अगाडि केही बेरसम्म नाराबाजी गरेको पनि सङ्घले जनाएको छ।  

नेपालगन्ज सुन चाँदी व्यवसायी सङ्घ, बाँकेका महासचिव सुखनारायण सोनारका अनुसार, आन्दोलित व्यवसायीहरूले यसअघि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए।  

देशभरका सुनचाँदी व्यवसायीले नयाँ करको विरोधमा प्रदर्शन तथा पसल बन्द गर्दै आएका छन्।