• ११ पुस २०८१, बिहिबार

नभई नहुने आयोडिन

blog

 तुम्नो कुलुङ 

आयोडिन’ भन्नेबित्तिकै मानव शरीरमा नभई नहुने लवण भन्ने बुझ्नु पर्छ । आयोडिनचाहिँ समुद्री नुनमा बढी पाइन्छ भने समुद्रमा पाइने माछाहरू माकारेल, स्न्यापर, सालमोन, ओइस्टर, कर्डफिस, सेलफिस, टुना आदिमा बढी मात्रामा आयोडिन पाइन्छ । 

पोषणविद्का अनुसार समुद्री लेउ र झ्याउमा पनि आयोडिन हुन्छ । त्यस्तै ब्रोकाउली, पालुङ्गो, बन्दागोभी, सलगम, रायो, चम्सुर आदिमा समेत धेरथोर मात्रामा आयोडिन पाइन्छ । अझ के भनिन्छ भने कुखुरा, हाँस, कालिज आदि चरा वर्गका पन्छीको अण्डामा पनि केही न केही मात्रामा आयोडिन उपलब्ध हुन्छ । त्यस्तै गरेर डेरी उत्पादन दूध, दही, चिज, बटर आदिमा पनि धेरथोर आयोडिन पाइन्छ । हाम्रा लागि आयोडिनको मुख्य स्रोत भनेको नुन हो ।   

बढी नुनले के असर गर्छ ?

हामीमध्ये धेरैलाई थाहा छैन दैनिक बढी नुन खाने खाएमा शरीरलाई के कस्तो असर पर्छ ? हाम्रो शरीरमा दैनिक रूपमा नुनको मात्रा बढी भएमा सबैभन्दा ठूलो असर अथवा जोखिम पर्ने भनेको उच्च रक्तचापको सम्भावना बढ्नु हो । जसले गर्दा विस्तारै मुटुको चाल बढ्ने, रक्तप्रवाह गर्ने मुटुका नसा र भल्ब फुक्दै जाने जोखिम रहन्छ । अधिक नुनले मिर्गौलमा समेत असर पार्दछ ।

आयोडिनको कमीले पर्ने असर

हाम्रो शरीरमा आयोडिनको कमी भएमा छाला खस्रो हुने, कपाल झर्ने, शरीर सुन्निने आदि हुन्छ । त्यस्तै गरेर महिला गर्भवती हुँदा आयोडिनको कमी भएमा गर्भमा रहेको बच्चाको विकास स्वाभाविक रूपमा नहुने, गर्भ तुहिन सक्ने, बच्चा कम तौलको जन्मने, जन्मेको बच्चामा अपाङ्गता देखिने, गर्भवती महिलाको मृत्यु हुन सक्ने सम्भावना रहन्छ ।

आयोडिनको कमीका कारण मानिसमा गलगाँड आउन सक्छ ।  आयोडिनको कमीले आउने त्यस्तो गलगाँड अस्वाभाविक रूपमा बढ्दै गएमा सास लिने नली थिचिएर मानिसको मृत्यु पनि हुन सक्छ । खासगरी बालबालिकामा आयोडिनको कमी भएमा उनीहरूको मानसिक स्थिति कमजोर हुने, सिकाइ क्षमता नबढ्ने, शारीरिक विकास नहुने, अल्छी गर्ने, कम बोल्ने हुने जोखिम हुन्छ ।

आयोडिनको कमी भएका बालबच्चा ढिलो बोल्न नसक्ने, लठेब्रो हुने, पढाइमा कमजोर हुने, पुड्को हुने सम्भावना पनि देखिएको छ ।

अचेल मानिसमा गलगाँडको त्यति समस्या नदेखिए पनि थाइराइडको समस्या बढ्दै गएको छ । चिकित्सकका अनुसार शरीरमा आयोडिनको कमी भएमा थाइराइडमा असन्तुलन उत्पन्न हुने सम्भावना रहन्छ ।