• २० कात्तिक २०८२, बिहिबार

भाँच्चिएको हड्डी क्षणभरमै जोडिने

blog

चीनका वैज्ञानिकले विश्वमा पहिलो पटक हड्डी जोड्ने बोन ग्लु तयार पारेका छन् । जसले भाँच्चिएको हड्डीलाई २/३ मिनेटमै जोड्दछ । बोन ग्लु सामुद्रिक सिपीबाट प्रेरित छ । यो छ महिनामा शरीरमै घुल्ने बायोडिग्रेडेबल पदार्थ हो । चीनको वेन्झोउमा डाक्टर लिन जियानफेङ्गको टोलीले डेढ सयभन्दा धेरै बिरामीमा यसको परीक्षण गरी यो सुरक्षित र प्रभावकारी रहेको साबित गरेको छ ।

चिनियाँ वैज्ञानिकले बोन ०२ नामक उक्त जैविक पदार्थको विकास गरेका हुन् । 

डाक्टर लिनले समुद्रमा लहर तथा ज्वारभाटामा समेत सिपी नामक जीव नबगेर अडिग रहन सक्ने तथ्यको आधारमा रगतले भरिएको वातावरणमा हड्डीलाई पनि जोड्न सकिन्छ कि भन्ने विचार गरे । सोही विचारका आधारमा उनले उक्त बोन ग्लु बनाए । उक्त ग्लुले दुई सय केजीभन्दा धेरै तौल भएको वस्तुलाई समेत टाँस्ने क्षमता राख्दछ । सर्जरी गरी उक्त ग्लु लगाउनाले भाँच्चिएका हड्डी २–३ मिनेटमै जोडिन्छन् ।

पुरानो विधिमा भाँच्चिएका हड्डी जोड्नलाई धातु प्रत्यारोपण गर्नु पर्दछ । जसलाई हटाउनका लागि अर्को सर्जरी आवश्यक हुन्छ तर बोन ग्लु छ महिनामा भाँच्चिएको हड्डी पूर्ण रूपमा जोडिएर ठिक भएसँगै आफैँ घुल्दछ र अर्को सर्जरी आवश्यक पर्दैन ।

वैज्ञानिकले यो ग्लु बनाउने क्रममा ५० भन्दा धेरै सूत्र र सयौँ परीक्षण गरेका थिए । यो पदार्थ जैविक रूपमा सुरक्षित छ र भाँच्चिएको हड्डीलाई जोडिएर निको हुन मद्दत गर्दछ ।

विश्वमा हरेक वर्ष विविध कारणले करोडौँ मानिसको हड्डी भाँचिने गर्छ । परम्परागत विधिबाट धातु प्रत्यारोपण गरी हड्डी जोड्दा सङ्क्रमणको खतरा पनि रहन्छ । यस्तो अवस्थामा बोन ग्लु कैयौँ समस्याको समाधान हुने छ । 

–युवामञ्च