बिष्णुप्रसाद पोखरेल
दमक, कात्तिक २२ गते । झापामा जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरीलाई कुटपीट, प्रहरी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले श्रीमान् श्रीमतिलाई नै पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरी कार्यालयमा ढुङ्गामुढा गर्ने, आगजनी गर्ने, प्रहरीलाई कुटपीट गर्ने कार्यमा संलग्न रहेका बिर्तामोड ५ त्रिवेणी चोकबाट अर्जुनधारा ६ बस्ने २२ वर्षीय पदम राई र उनकी श्रीमती २४ वर्षीया पुजा मगरलाई शुक्रबार पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।
यसभन्दा अघि पनि घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार जेएनजी आन्दोलनको वहानमा प्रहरीमाथि आक्रमण गर्ने, प्रहरी कार्यालय लुटपाट र आगजनीमा संलग्नहरूको खोजी कार्य तिब्र बनाइएको छ ।
एक प्रहरी हवलदारलाई कुटपीट गरी गम्भिर घाइते बनाउने बिर्तामोडकै २६ वर्षीय नवराज राईलाई बीहीबार भक्तपुर प्रहरीले पक्राउ गरेर इलाका प्रहरी कार्यालय बिर्तामोडलाई बुझाएको पनि प्रहरीको भनाइ छ ।
राईलाई ज्यान मार्ने उद्योग कसुरमा दर्ता गरी जिल्ला अदालत झापाबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको खड्काले जानकारी दिनुभयो ।