नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा आफ्नो छाप बढाउँदै लगेको छ । नेपालीको महान् चाड बडादसैँ चलिरहेका बेलामा नेपालले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पराजित ग¥यो । टेस्ट मान्यताप्राप्त कुनै पनि टिमलाई नेपालले यसरी पहिलो पटक पराजित गरेको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) को शारजाँहमा भएको तीन खेलको युनिटी कप शृङ्खलामा नेपालले वेस्ट इन्डिजलाई लगातार दुई खेलमा हराएर शृङ्खला नै २–१ ले जितेर इतिहास बनायो । नेपालले अहिलेसम्म कुनै पनि टेस्ट मान्यताप्राप्त टिमविरुद्ध टी–२० शृङ्खला खेलेको थिएन । जब पहिलो पटक यस्तो शृङ्खला खेल्ने अवसर पायो शृङ्खला नै जितेर सनसनी मच्चाएको छ ।
नेपालले वेस्ट इन्डिजलाई हराएर मनोबल उच्च पारेर आगामी टी–२० विश्वकपमा छानिने सम्भावनासमेत बलियो बनाएको छ । वेस्ट इन्डिजविरुद्धको पहिलो खेल १९ रनले तथा दोस्रो खेल ९० रनले जितेको नेपाल तेस्रो खेलमा भने १० विकेटले पराजित भयो ।
असोज ११ गते भएको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्दै आठ विकेटको क्षतिमा १४८ रन बनाएको थियो । नेपालले त्यसपछि कसिलो बलिङ गरेर वेस्ट इन्डिजलाई १९ रनले पराजित ग¥यो । वेस्ट इन्डिजले नौ विकेटको क्षतिमा १२९ रन बनाउन सकेको थियो ।
यो नेपालको टेस्ट क्रिकेट खेल्ने टिमविरुद्धको पहिलो टी–२० जित भयो ।
यस्तै असोज १३ गते खेलिएको दोस्रो खेल नेपालले ९० रनको फराकिलो अन्तरले जित्यो । नेपालले पहिले ब्याटिङ गर्दै छ विकेटको क्षतिमा १७३ रन बनाएको थियो । यस खेलमा आसिफ शेखको ब्याटबाट ४७ बलमा अविजित ६८ रन बन्यो । नेपालले ४३ रनमा नै तीन विकेट गुमाइसकेको अवस्थामा चौथो विकेटका लागि आसिफसँग मिलेर सय रनको साझेदारी गर्ने क्रममा सन्दीप जोराले ३९ बलमा ६३ रन बनाएका थिए ।
जवाफमा वेस्ट इन्डिजको टिम १७.१ ओभरमै अलआउट भएर ८३ रनमा समेटियो र नेपाल ९० रनले विजयी भयो । यस खेलमा मोहम्मद अदिल आलमले २४ रन खर्चेर चार तथा कुशल भुर्तेलले १६ रन खर्चेर तीन विकेट आउट गरेका थिए ।
आदिल तीन वर्षपछि नेपाली टिममा फर्किएका हुन् । २०७९ सालको मङ्सिरमा त्रिवि क्रिकेट मैदानमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङको आरोप लागेपछि उनीमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न प्रतिबन्ध लागेको थियो ।
काठमाडौँ जिल्ला अदालतले २०८० साल चैतमा उनलाई सफाइ दियो । सोही आधारमा नेपाल क्रिकेट सङ्घको इन्टेग्रिटी कमिटीले प्रतिबन्ध फुकुवा गर्ने सिफारिस गरेपछि गत वैशाख २१ गतेदेखि लागु हुने गरी उनीमाथिको प्रतिबन्ध फुकुवा भएको थियो ।
असोज १४ गते भएको तेस्रो खेलमा नेपाल १० विकेटले पराजित भयो ।
पहिले ब्याटिङ गरेको नेपाल एक बल खेल्न बाँकी छँदै अलआउट भएर १२२ रनमा समेटिएको थियो । जवाफमा वेस्ट इन्डिजले १२.२ ओभरसम्म कुनै विकेट नगुमाई लक्ष्यमा पुगेर जित हासिल ग¥यो ।
क्रिकेट इतिहास
नेपालले यसअघि टी–२० मा हासिल गरेको सबैभन्दा ठुलो जित अफगानिस्तानविरुद्धको हो । जुन जित नेपाललाई सन् २०१४ मा मिलेको थियो । अहिले टेस्ट खेल्ने भए पनि त्यतिबेला अफगानिस्तान एसोसिएटेड टिम थियो । नेपालले सन् २०१४ मा टी–२० विश्वकपसमेत खेलिसकेको छ ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २५ वर्ष लागेको छ । सन् १९९६ को सेप्टेम्बर ६ मा नेपालले मलेसियामा एसिसी च्याम्पियनसिपमा बङ्गलादेशविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेको थियो । त्यस खेलमा नेपाल पराजित भयो ।
त्यसपछि नेपालले दोस्रो खेल सेप्टेम्बर ७ मा जापानविरुद्ध खेल्यो । यस खेलमा चाहिँ नेपालले सफलता प्राप्त ग¥यो । यो नेपालको पहिलो अन्तर्राष्ट्रिय जित भयो ।
नेपालले डिभिजन–५ खेल्दै एकदिवसीय खेलसम्मको यात्रा गरिसकेको छ । एकदिवसीय विश्वकपको छनोटमा सिधै खेल्ने मौका पाएको छ । टी–२० विश्वकप सन् २०१४ मै खेलिसकेको छ ।
नेपालले टी–२० शृङ्खलामा सबैभन्दा ठुलो जित वेस्ट इन्डिजविरुद्ध हासिल ग¥यो । नेपालले २०७५ साल माघमा युएईविरुद्ध टी–२० शृङ्खला जितेको थियो । जुन नेपालको पहिलो शृङ्खला जितका रूपमा इतिहासमा लेखिएको छ । नेपालले उक्त तीन खेलको शृङ्खला २–१ ले जितेको थियो ।
यो शृङ्खला खेल्नुअघि नेपालले खेलेका दुई अन्तर्राष्ट्रिय शृङ्खलामा हार बेहोरेको थियो । हङकङविरुद्ध पाँच खेलको शृङ्खलाका चार खेल वर्षाले रद्द हुँदा अन्तिम खेलमा नेपाल पराजित भयो तथा नेदरल्यान्डस्विरुद्ध चार खेलको शृङ्खलामा ३–१ ले पराजित भएको थियो ।
–युवामञ्च