नागेन्द्रकुमार कर्ण
महोत्तरी, कात्तिक २२ गते । महोत्तरी जिल्लाको मनराशिस्वा नगरपालिका-९, बथनाहाको छठु महतोको घर र टोलमा अहिले खुसियाली छाएको छ । मरिसकेको भनेर सम्झिएका छोरा एक्कासी तीन वर्षपछि घर फर्किएपछि घर र टोलमा खुसियाली देखिएको हो ।
छठु महतोका ४० वर्षिय छोरा बदियल महतो २०७८ फागुनमा कामकाजको सिलसिलामा दुबई पुगेका थिए । दुबई पुगेको करिब ६ महिनासम्म परिवारको सम्पर्कमा रहनुभएका महतो त्यसपछि सम्पर्कविहिन भएको बुवा छठु महतोले बताउनुभयो ।
सम्पर्कविहिन भएपछि सबैले दुबई पठाउने गाउँकै एजेन्ट दिवाकर झालाई पटक पटक सोधपुछ गर्नुका साथसाथै महतोलाई अन्य तरिकाबाट खोजबिन गर्दा पनि नभेटिएपछि घर परिवारले उनको मृत्यु भइसकेको ठानेर खोजबिन बन्द गरिदियो ।
एक वर्षसम्म एजेन्टसहित दुबईमा बस्ने गाउँका अन्य व्यक्तिहरूले पनि आ–आफनो तरिकाबाट खोजतलाश गरे पनि बदियल नभेटेपछि आफुहरू उनी यस संसारमा नरहेको मानिसकेको बुवा छठु महतोले बताउनुभयो ।
मानसिक सन्तुलन बिग्रिएको कारण दुबईमा कहाँ गए केही अत्तो नलागेपछि निराश भइसकेका परिवारका लागि आशाको विन्दु बनेर आउनुभयो मनरासिश्वा नगरपालिकाका युवा सुनिल पाण्डेय ।
बदियल हराएको जानकारी पाएपछि सो सम्बन्धी जानकारी लिन घरमा पुग्दा बुवा, आमा, पत्नी र बालबच्चाहरू समेत उनी मरिसकेको र आफुहरू उनको जिउँदो रहेको आस मारिसकेको बताएको सम्झिनुहुँदै युवा सुनिल पाण्डेयले भन्नुभयो, ‘घर परिवारसँग विभिन्न सुचनाहरू जुटाएर खोजतलाश गदै जाँदा नेपालमा फर्किएको तथा दुबईमा मृत्यु भएको कुनै रेकर्ड फेला नपरेपछि आफु उनी जिउँदो रहेको हुन सक्ने विश्वासका साथ दुई वर्षदेखि खोतलाश गर्दै आइरहेको थिएँ ।’
मैले उद्धार प्रक्रियामा लागिरहँदा दुबईस्थित नेपाली राजदुतावासका धेरै कर्मचारीहरूलाई विभिन्न माध्यमबाट दिनहुँ सम्पर्क गर्दै दुबईको सानोदेखी ठुलो लगभग सबै प्रहरी युनिटहरूमा बदियल महतोको फोटो र राहदानी लगायतका कागजातहरू छोडन लगाएर खोजतलाश सुरु गरेको बताउनु हुँदै करिब दुई वर्षको प्रयासपछि बदियल घर फर्किएको बताउनुभयो ।
गरिबीको कारण उनीहरूलाई खोजतलाश गर्न पनि कठिनाई भइरहेको देखेपछि आफुले खोजतलाशको अग्रसरता लिएको सम्झिनु हुँदै उहाँले सबैको सत्प्रयासले बदियलको उद्धार सम्भव भएको युवा पाण्डेयले बताउनुभयो ।
मानसिक सन्तुलन बिग्रिएका बदियललाई दुबईस्थित नेपाली दुतावासले २३ जनवरी २०२६ सम्मको फ्रि पास बनाइ दिएको कारण उनी आफै कार्तिक १९ गते घरसम्म आएको बताउनु हुँदै उद्धार कार्यमा लाग्नुभएका समाजसेवी युवा पाण्डेयले भन्नुभयो, ‘नि:शुल्क रूपमा आफुसहित अन्य धेरै जनाले उनलाई सकुशल उद्धार गरेकोमा खुसी लागेको छ । उनी जिउँदै घर आएपछि घर परिवारमा समेत खुसियाली छाएको छ ।’
बुधबार सकुशल घर आइपुगेका बदियलसँग भेटन अहिले टोल छिमेकीहरू पुगिरहेका छन् । जसको कारण घरमा घुइँचो बढेको बुवा छठु महतोले बताउनुभयो ।
बदियलका श्रीमती र दुई वटा बच्चा श्रीमान् सम्पर्कविहिन भएपछि कामकाजका लागि भारतको भटिण्डा भन्ने ठाउँमा रहेको छ । उनीहरूसँग समेत खुसियाली साटनका लागि सम्पर्कको प्रयास भइरहेको बदियलका बुवाले बताउनुभयो ।
अहिले राम्रोसँग नबोल्ने र बिरामी देखिएका बदियलले आफुलाई दुबईमा चामल र पिठोको बोरा बोकाउने जस्ता गह्रो कामहरू गराउने गरेको बताए पनि थप कुराहरू बताउन असमर्थ छन् ।
उहाँले छोरालाई सकुशल उद्धार गरिदिएकोमा सबैलाई धन्यवाद दिनु हुँदै विदेश जाने बेलामा एजेन्टले आफुहरूसँग करिब तीन लाख रुपियाँ लिएको र अहिले छोरा बिरामी रहेकोले केही रकम दिलाइदिए आफुहरूलाई केही राहत पुग्ने बताउनुभयो । उहाँले यस कार्यका लागि सहयोग गरिदिन सरोकारवाला निकायहरूसँग गुहार लगाउनुभएको छ ।