डोटेली परिकार डोटी जिल्लामा मात्र नभई सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा लोकप्रिय छन् । डोटेल व्यञ्जनमा रोटीका परिकार धेरैका प्रिय र स्वास्थ्यवद्र्धक मानिन्छन् ।
डोटेलीहरू रोटीलाई स्थानीय भाषामा रोटा भन्छन् । डोटेली भान्साको अभिन्न अंश रोटा, दही, दूध, मही, चटनी मात्र होइन डुप्का र फाँडो पनि हुन् । स्थानीय उत्पादन प्रयोग गरेर तयार गरिने रोटा र तिउन, तरकारीको आफ्नै विशेषता र महत्व रहेको छ ।
बैतडीमा पाक्ने बेथे पुलाउ होस् वा डोटीको झुनमुने माणा होस् यी सबैको जिब्रोमा झुन्डिने स्थानीय परिकार हुन् । गिलो घोल या लेदो बनाएर हाल्ने रोटीलाई माणा भनेर चिनिन्छ । स्थानीय तहमा रोटालाई पकाउने तरिका र प्रयोग गरिने अन्नको पिठोका आधारमा विभिन्न प्रकारमा विभाजन गरिएको छ ।
घोगा रोटा, कोद्या रोटा, फापर रोटा, गहुँ रोटा, फुराउने रोटा इत्यादि प्रसिद्ध छन् भने माणामा भिजाएको चामल, गहुँ, कोदो, मकै, मासको पिठो इत्यादि प्रयोग गरिन्छ । माणा बनाउँदा नुनिलो वा गुलियो बनाउने हो सो को पहिचान गरेर लेदो बनाएर तावामा पकाइन्छ ।
निसौसे माणा केराको वा भलायोको पातमा राखेर पकाउने एक प्रसिद्ध परिकार हो । जुन चामलको पिठोमा दही, सक्खर र घिउ हालेर घोल बनाएर दुई/चार घण्टा त्यत्तिकै राखेपछि पकाइन्छ ।सुदूरपश्चिममा चामलको पिठोबाट बनाइने माणा पनि त्यत्तिकै प्रसिद्ध छ ।
बाक्लो खालको र बनाउन सजिलो ताले माणा दही, छाँच (मही) वा तिउनसँग खान खुबै स्वादिष्ट हुन्छ । चामलको पिठो र जङ्गली तरुलको लेदो मिसाएर बनाइने तैडे माणा पनि धेरैको रोजाइमा पर्ने परिकार हो । मकैको पिठोबाट बन्ने रोटा, लाउन बाबर होस् वा मौसमी भट्टमुन्टा त्यहाँका लोक र मौलिक परिकारमा पर्छन् ।
अन्नको पिठो, गेडागुडी र मौसमी तरकारी मिसाएर बनाइने तिउन डोटेली व्यञ्जनमा अभिन्न हिस्सा ओगट्ने एक खालको तरकारी हो । जुन भट्टेरोटा (भटमासको रोटी), खजुरी (गुलियो पुरी), मालपुवा ( गहुँको गुलियो बाबर), रोटा (गहुँ या जौको रोटी) वा घोगा रोटा (मकैको रोटी) सँग पस्कने गरिन्छ ।
सुदूरपश्चिममा स्थानीय खानाहरू मकैको भौला, मार्सी बिनो, पिना, मकैका परिकार, कोदोको रोटी पनि पर्दछन् । बैतडीमा प्रख्यात घोघा छाँच, मासको माणा, दूध गुडलगायत प्रख्यात छन् । डोटीको डुप्का भात, फाउने माणा, चामलका बाबर, बटुक फाँडो धेरैको रोजाइमा पर्दछ ।
बझाङमा सेतीका ताजा माछा, माछाको सुकुटी, ठेकीको छाँचलगायतका परिकार प्रसिद्ध छन् । सहरबजारमा बस्नेहरू डोटीको रोटी भनेपछि हुरुक्क हुने गर्छन् ।
–युवामञ्च