• १६ वैशाख २०८१, आइतबार

साहस र हिम्मतको प्रतीक ग्याब्रियला

blog

अमेरिकाको लस एन्जल्समा सन् १९८४ अगस्त ५ मा एक अविस्मरणीय घटना भएको थियो । ओलम्पिकको इतिहासमा महिला ओलम्पिक म्याराथन दौड सुरु गरिएको दिन हो यो । ४४ राष्ट्रका महिला म्याराथन धाविकामध्ये एक ग्याब्रियला एन्डरसन स्ब्सिी पनि थिइन् । ओलम्पिकमा दौडन स्विट्जरल्यान्डबाट उनी लस एन्जल्स पुगेकी हुन् । उनी ३९ वर्षकी थिइन् ।

त्यतिखेर लस एन्जल्समा उखरमाउलो गर्मी थियो । २८ डिग्री सेल्सियस तापक्रममा ४४ राष्ट्रका धाविका ४२ किलोमिटर म्याराथन दौड पूरा गर्न तरतरी पसिना चुहाउँदै दौडिरहेका थिए । ग्याब्रियला पनि दौडिरहेकी थिइन् । उनीहरूलाई हौसला प्रदान गर्न बाटोको दुवैपट्टि उभिएका दर्शक ताली बजाइरहेका थिए । 

इतिहास निर्माण गर्न म्याराथन धाविकाहरू जोसिएर दौडिरहेका थिए । त्यस क्रममा नोर्वकी ग्रेटे वाइजिट कहिले अगाडि दौडिन्छिन् त कहिले अमेरिकाकी जोन विन्योट । पोर्चुगलकी रोसा मोटा अलिक पछाडि नै थिइन् । अनि स्विट्जरल्यान्डकी ग्याब्रियला निकै पछाडि । अन्य धाविका पनि एकनास आफैँ लयमा दौडिरहेका थिए । 

हेर्दाहेर्दै अमेरिकाकी धाविका जोन विन्योटले दुई घण्टा २४ मिनेट ५२ सेकेन्डमा दौड पूरा गरेर प्रथम भइन् । स्वर्ण पदक जितेर इतिहास नै रचिन् । उनीपछि नोर्वकी ग्रेटे वाइजिट  (दुई घण्टा २६ः१८ मिनेट) रहिन् र पोर्चुगलकी रोसा मोटाले दुई घण्टा २६ः५७ मिनेटमा दौड पूरा गरेर तेस्रो स्थान हािसल गरिन् । 

जोन विन्योटले दौड पूरा गरेर स्वर्ण पदक जितेको २४ मिनेटपछि स्विट्जरल्यान्डकी ग्याब्रियलाले कोलिसियम स्टेडियमभित्र अन्तिम चार सय मिटर दौडिन प्रवेश गरिन् । स्टेडियमभित्र प्रवेश गर्दा उनको शरीर सन्तुलित थिएन । उनको कमजोर स्थिति देखेर दर्शक छक्क परिरहेका थिए । मेडिकल टिम उनलाई सहयोग गर्न सँगै दौडिरहेको थियो । 

मेडिकल टिमले उनलाई सहयोग गर्न चाह्यो तर उनले मानिनन् । दौडिरहेको समयमा कुनै बाहिरी व्यक्तिले छुने गर्नेबित्तिकै उनी अयोग्य भएर प्रतियोगिताबाट बाहिर हुन्थिन् । त्यसैले उनले सहयोग चाहिँदैन भनिन् । उनी जसरी भए पनि ४२ किलोमिटर दौड पूरा गर्न चाहन्थिन् । 

उनका खुट्टा लरबरिएका थिए । शरीर असन्तुलित थियो । त्यस्तो असन्तुलित शरीर भए पनि उनले दौड पूरा गर्ने हिम्मत राखिन् र अन्ततः चार सय मिटरको ट्र्याकमा हिँडेर भए पनि दौड पूरा गरिन् । उनको साहस र हिम्मत देखेर हजारौँ दर्शकले ताली बजाएर सम्मान गरे तर उनी त्यत्तिकैमा भुइँमा ढलिन् । उनलाई मेडिकल टिमले स्ट्रेचरमा राखेर उपचार गर्न बाहिर लग्यो । 

उनले यो म्याराथन दौड दुई घण्टा ४५ मिनेट ४२ सेकेन्डमा पूरा गरेकी थिइन्, ४४ जनामध्ये ३७ औँ भइन् । शरीर असन्तुलित भएपछि उनलाई चार सय मिटर दौड पूरा गर्न पाँच मिनेट ४४ सेकेन्ड लागेको थियो ।

आखिर किन उनको शरीर एकाएक असन्तुलित भयो ? पहिलो कारण थियो लस एन्जल्सको २८ डिग्री सेल्सियस तापव्रmम, दोस्रो कारण हो स्टेसनमा राखिएको पानी शरीरमा नखन्याएर, नपिएर उनी ‘डिहाइडे«ट’ भइन् ।

म्याराथन दौडमा भाग लिने खेलाडीका लागि पाँच स्टेसनमा पानी पिउन दिइन्छ । छैटौँ ठाउँमा पानी पिउँला भन्ने हुँदैन । अन्ततः ग्याब्रियलाले पाँचौँ स्टेसनमा दौडिँदा दौडिँदै पानी पिउन बिर्सिन् र उनलाई जलवियोजन भयो । 

अन्ततः उनले लखतरान अवस्थामा म्याराथन दौड पूरा गरिन् । उनको साहस र हिम्मतको सर्वत्र प्रशंसा भयो । उनलाई ‘ओलम्पिक हल अफ द फेम’ बाट कदर गरियो । 

अहिले उनी ७८ वर्षकी भइन् । उनी स्विट्जरल्यान्डको ज्युरिच एडाहोको सन भ्यालिमा बस्छिन् । उनी ‘स्कि इन्स्ट्रक्टर’ पनि हुन् । स्विट्जरल्यान्डको राष्ट्रिय म्याराथन र १० हजार मिटर दौडको राष्ट्रिय कीर्तिमान उनकै नाममा छ । 

उनको साहस र हिम्मतको कदर गर्दै लेखक जोन डेसमन्डले 'Running in cook, Ireland: An Unforgettable Maratthon Finish by Gabriela Andersen - Schiess in the Los Angles Olympics' नामक पुस्तक पनि लेखेका छन् । 

जेहोस् सन् १९८४ लस एन्जल्स ओलम्पिक म्याराथन धाविका ग्याब्रियलाको साहस र हिम्मतका लागि प्रसिद्ध छ । हामीले उनको जीवनबाट सिक्ने पाठ भनेको साहस र हिम्मत नै हो ।   

Author

रमेश खनाल