वेदलाई करिब चार हजार वर्षभन्दा पनि पुरानो ज्ञानको स्रोत मानिएको छ । वेद कुनै धार्मिक ग्रन्थ मात्र नभई सामाजिक व्यवस्थाको बौद्धिक दस्ताबेज हो । यसलाई समयको समाज व्यवस्थाले निर्माण गरेको ज्ञानको सङ्ग्रह मान्न सकिन्छ ।
वैदिक युगमा जीवनको अर्थ कर्तव्यपरायण हुनुमा केन्द्रित थियो । यसैले सृष्टिको चक्र र जीवनको उद्देश्यका बारेमा वेदमा गहिरो विचार गरिएको छ । वेद कर्मकाण्ड मात्र होइन, स्कुल हो, संस्कारमार्फत शिक्षा दिने पद्धति हो ।
वर्तमानको शिक्षा पद्धतिले अधिकारमुखी सोचाइ मात्र विकास गरेको छ, कर्तव्यबोधको चेतनालाई ओझेलमा पारेको छ । आज हामी ज्ञान बेच्दैछौँ, ज्ञान बाँड्ने संस्कार हराउँदै गएको छ । शिक्षाले केवल डिग्री मात्र प्रदान गर्ने नभएर मानवीय चेतना र कर्तव्य पनि सिकाउनु पर्छ । जीवनको उद्देश्य केवल अधिकार खोज्नु मात्र होइन आफ्नो भूमिका र उत्तरदायित्वलाई बुझ्नु पनि हो । वैदिक शिक्षाको मूल सन्देश यही थियो ।
नेपालको पारम्परिक समाजमा वैदिक संस्कार र गुरुकुलीय शिक्षा प्रणालीको महत्वपूर्ण भूमिका रहेको थियो । आधुनिकताको नाममा उक्त परम्परा क्रमशः टुट्दै गयो । गुरुकुल पद्धतिबाट सञ्चालित ज्ञान हस्तान्तरणको प्रणाली कर्मकाण्डमा सीमित हुँदै गयो । जसले गर्दा यसको समाजशास्त्रीय र वैज्ञानिक पक्ष ओझेलमा परेको छ । गुरुकुलीय शिक्षा पद्धतिमा विवाह, व्रतबन्ध जस्ता संस्कारलाई ज्ञानको निर्माण र हस्तान्तरणको पद्धतिका रूपमा लिइन्थ्यो । विवाहजन्य संस्कारले एउटा विश्वविद्यालय तहको ज्ञान प्रदान गर्दथ्यो । जहाँबाट व्यक्ति सामाजिक उत्तरदायित्व, प्रेम, समानता र सेवाभाव जस्ता मूल्य सिक्दथ्यो ।
विवाह संस्कारको थालनी स्वयम्बरबाट हुन्छ । जसले एकअर्कालाई छनोट गर्ने, सम्मान गर्ने र प्रेमपूर्वक जीवनयात्रा थालनी गर्ने सङ्केत दिन्छ । त्यसैगरी विवाह पद्धति अन्तर्गत रहेको अश्मारोहण संस्कारको गहिरो अर्थ रहँदै आएको छ । ‘अश्म’ भनेको ढुङ्गा हो र यसलाई शत्रु या विघ्नको प्रतीक मानिन्छ । यो संस्कारले नवदम्पतीलाई जीवनमा आउने कठिनाइ सामूहिक रूपमा सामना गर्न प्रेरित गर्छ । अश्मारोहणका क्रममा वरले वधूको खुट्टामा पूजा गर्छ । जसले पुरुषलाई वधूको जीवनसङ्गी मात्र होइन वधूको सेवायोग्य पात्र पनि हो भन्ने बोध गराउँछ । यिनै संस्कारले पुरुषलाई अहम् भावबाट मुक्त गराउँदै महिलाको सम्मान र सहकार्यको मूल्य सिकाउँछन् ।
आजका दिनमा यस्ता संस्कारको गहिरो सामाजिक र मनोवैज्ञानिक अर्थ बुझाउने कुनै प्रयास भएको छैन । पण्डित भनिनेहरूले पनि यिनको अर्थ खुलाउने भन्दा कर्मकाण्ड पूरा गर्ने पक्षमा ध्यान केन्द्रित गरेका छन् । यसरी संस्कार केवल बाह्य रूपको अनुष्ठानमा सीमित भइरहेको देखिन्छ ।
विवाह संस्कारले युगललाई जीवन सङ्घर्षमा एकताबद्ध भएर अघि बढ्ने ऊर्जा दिन्थ्यो । ‘अर्धाङ्ग’ भन्ने संज्ञा स्वयंले नै सङ्केत गर्छ भने विवाहपूर्व दुवै अर्ध थिए र विवाहपश्चात् पूर्ण बने । यो एकीकरणले ऊर्जा, सामूहिक बल र सहकार्यको भावना विकास गराउँछ ।
व्रतबन्ध संस्कारलाई पनि केवल जनै लगाउने परम्परामा सीमित गरिएको छ । वास्तवमा जनै भनेको ज्ञानको भण्डारण हो । प्राचीन समयमा साधकले मन्त्र जनैमा नै राख्थे । जसरी अहिले सिडी या पेनड्राइभमा डाटा राखिन्छ । जनैको प्रत्येक रेसा ज्ञानका प्रतीक थिए । यसले व्यक्तिविशेषलाई मानसिक र आध्यात्मिक रूपमा तयार पार्ने काम गर्दथ्यो । जनै छिन्नु भनेको ज्ञानको भण्डार नष्ट हुनु जस्तै मानिन्थ्यो ।
यसरी हाम्रा संस्कारमा गहिरो विज्ञान, समाजशास्त्र र मनोविज्ञान अडिएको छ । उदाहरणका लागि बेलपत्र चढाउने चलन केवल धार्मिक नभई आयुर्वेदीय दृष्टिकोणले पनि महत्वपूर्ण छ । बेलपत्र ‘एन्ट्यासिड’ भएकाले खाली पेटमा धार्मिक कार्य गर्दा हुने असहजतालाई यसले कम गर्छ ।
यसै गरी व्रतबन्धमा ‘भिक्षा’ दिने चलन थियो । जहाँ चामल, मस्यौरा, आदिका रूपमा गुरुलाई भेटी दिइन्थ्यो । यसको अर्थ थियो, अब यो बालक अध्ययन गर्न गुरुकुल जाँदै छ, त्यसको खर्चका लागि हामी पनि सामूहिक रूपमा योगदान गर्छौं । यो चलन अचेल केवल कर्मकाण्डी मात्र बनेको छ । हाम्रो संस्कार, परम्परा र धार्मिक विधिलाई हामीले वैज्ञानिक, समाजशास्त्रीय र ऐतिहासिक दृष्टिकोणबाट व्याख्या गर्ने प्रयास नगरेसम्म तिनको सही अर्थ, प्रयोजन र महत्व बुझ्न सकिँदैन ।
संस्कारलाई केवल धार्मिक कर्तव्य होइन सामाजिक संरचना, व्यक्तित्व विकास, मानव मूल्य, शिक्षा र मानसिक तयारीको पाठशाला मान्नु पर्छ । विवाहले प्रेम र समर्पणको शिक्षा दिन्छ, व्रतबन्धले ज्ञानप्रति समर्पण र अनुशासनको पाठ सिकाउँछ ।
हाम्रा संस्कारमा प्रयोग हुने कुस, तिल जस्ता वस्तुको पनि वैज्ञानिक पृष्ठभूमि छ । कुसलाई ‘एन्टिलाइटनिङ’ अर्थात् चट्याङको प्रभाव हटाउने भनेर बुझाइएको छ । त्यही कुरा आजको समाजले बुझ्न सक्दैन । ‘के र किन’ भन्ने प्रश्नको उत्तर नपाउँदा युवापुस्ता अन्धविश्वास ठानेर संस्कारप्रति विमुख बनिरहेको छ ।
वेदकालीन गुरुकुलमा ज्ञान हस्तान्तरणको प्रक्रिया समाजशास्त्रीय, सांस्कृतिक र संस्कारको वैज्ञानिक अर्थसहितको जीवनशैलीसँग जोडिएको थियो । ज्ञान भनेको सान्दर्भिक अर्थ र कारणसहितको बुझाइ हो । वेद र अन्य प्राचीन शास्त्र केवल ग्रन्थ नभई त्यहाँ जीवन बिताउने तरिका, मानव समाजको सामाजिक संरचना, संस्कार र जीवनको वैज्ञानिक व्याख्याका भण्डार हुन् । किन ती संस्कारहरू अस्तित्वमा आए ?, त्यसको मर्म के थियो ? र आजको समयमा ती कति सान्दर्भिक छन् ? भन्ने जस्ता प्रश्नको जवाफबिना केवल संस्कारको नाम मात्र दोहो¥याउँदा शिक्षाको वास्तविक अर्थ गुम्ने खतरा बढ्छ । प्राचीन ज्ञानलाई वर्तमान समाजसँग जोडेर बुझ्नुपर्छ ।
व्रतबन्ध, विवाह जस्ता संस्कारहरू केवल ‘समारोह’ होइनन् । तिनमा सामाजिक नियम, आपसी एकता, धैर्य, सहिष्णुता, पुनर्जन्म जस्ता गहिरा अवधारणा समावेश छन् । विगतमा हरेक संस्कारजन्य प्रक्रियामार्फत मानिसलाई जीवनोपयोगी ज्ञान र सिप प्रदान गर्ने गरिन्थ्यो । वेदकालीन समयमा संस्कारजन्य कार्य नै शिक्षा प्रदान गर्ने विद्यालय स्वरूपका माध्यम थिए ।
–युवामञ्च