• ९ फागुन २०८२, शनिबार

प्रादेशिक विश्वविद्यालयको अवधारणामा त्रिवि

blog

त्रिभुवन विश्वविद्यालयले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्नु हुँदै उपकुलपति प्राडा दीपक अर्याल । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी 

लेखनाथ, फागुन ९ गते । नेपालकै पहिलो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यसको पुन:संरचना गर्दै सबै प्रदेशमा प्रादेशिक विश्वविद्यालय खोल्ने योजनाअघि सारेको छ । यसको सुरुवात गण्डकी प्रदेशको पोखराबाट गर्ने योजनाअनुरुप तयारी अघि बढेको छ ।

शनिबार त्रिविले पोखरा आयोजना गरेको कार्यशालामा यसबारे छलफल भएको छ । त्रिविको गएको मङ्सिर १० गतेको सिनेटले गण्डकी प्रदेशको पृथ्वीनारायण क्याम्पसलाई प्रादेशिक विश्वविद्यालयका रुपमा अघि बढाउन तयारी थाल्ने र उपाधि प्रदान गर्ने संस्थाका रुपमा अघि बढाउने निर्णय गरेको थियो । 

कार्यशाला त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले यसो गर्दा त्रिविको सेवा प्रवाहलाई सरलीकरण गर्ने, विद्यार्थीले प्राप्त गर्नुपर्ने सबै सेवा, सुविधालाई नजिकैबाट उपलब्ध गराउने, दीक्षान्त समारोहमा सबै विद्यार्थीहरु उपस्थित हुने अवस्था बन्ने बताउनुभयो । “देशमा आएको सङ्घीयताको मर्मलाई आत्सात गर्दै त्रिविले आफूलाई विकेन्द्रीकरण गर्नुपर्छ भन्ने हो । यसमा केही नीतिगत र कानुनी चुनौती हुन सक्छन्,” उहाँले भन्नुभयो, “ती चुनौती सम्बोधन गर्दै हामी अघि बढ्छौँ ।”

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले विश्वविद्यालयको परिवर्तन र रुपान्तरणका लागि आँट गर्न पदाधिकारीहरुलाई आग्रह गर्नुभयो । “हामीहरु सधै विगतको अवस्थमा रहन सक्दैनौँ, समाज बदल्ने प्राध्यापकहरु निडर र आत्मविश्वासी बनौँ,” उहाँले भन्नुभयो, “अब नयाँ विश्वविद्यालय खोल्नतिर लाग्नु हुँदैन, भएकालाई व्यवस्थित गर्न आयोग र नेपाल सरकार हरतवरले सघाउन तयार छन्, सघाउँदै पनि आएका छन् ।”

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलले सेवा प्रभावलाई व्यवस्थित गर्न अधिकार प्रत्यायोजनमार्फत शैक्षिक प्रशासनलाई सरल, प्रभावकारी र व्यवस्थित बनाउन अनुरोध गर्नुभयो । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खडग केसीले गण्डकी च्याप्टरमार्फत ४० वर्षअघिको सपनालाई सार्थकता दिन खोजिएको बताउनुभयो । त्रिविका रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालले गुणस्तरीय उच्च शिक्षाका लागि यस्तो कदम आवश्यक भएको बतानुभयो । 

त्रिविका पूर्व उपकुलपति प्राडा केशरजंग बरालले यो अवधारणा पृथ्वीनारायण क्याम्पसमा लागू  हुँदा कैयौ विद्यार्थीले सेवा, सुविधा प्राप्त गर्ने र पूरै गण्डकी प्रदेश लाभान्वित हुने बताउनु भयो । गण्डकी च्याप्टर टाक्स फोर्सका संयोजक प्राडा लालुप्रसाद पौडेलले उच्च शिक्षालाई स्थानीयकरण गर्ने, पाठ्यक्रमलाई बजारको आवश्यकता बमोजिम निर्माण गर्ने, अध्ययन र अनुसन्धानलाई प्रभावकारी बनाउन क्यालिफोर्निया विश्वविद्यालयको मोडल उचित हुने तर्क गर्नुभयो । 

उहाँले परीक्षा प्रणालीलाई सरलीकरण गर्ने,प्रक्रियामुखी तथा झन्झटिलो शैक्षिक प्रशासनलाई प्रभावकारी बनाउने, प्राज्ञिक चुनौतिहरु र विश्वका ठूला विश्वविद्यालयहरुको समग्र व्यवस्थापन र त्रिविले लिन सक्ने गन्तव्य समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभयो । प्राडा पौडेलले नीतिगतबाहेक अरु अधिकार दिएर हरेक प्रदेशमा एक विश्वविद्यालयको आवधारणमा अघि जानुपर्नेमा जोड दिनुभयो । “नाम त्रिवि गण्डकी वा यस्तै केही भनौँ, केन्द्रमा नीतिगत अधिकार राखेर पूर्ण स्वायत्ततासहित हरेक प्रदेशमा विश्वविद्यालय स्थापना गर्नु उचित हुन्छ ।” उहाँले त्यस्ता विश्वविद्यालयले सम्बन्धन भने दिन नसक्ने बताउनुपर्ने विचार राख्नुभयो ।

पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्राडा हरिप्रसाद पाठकले गण्डकी च्याप्टर निर्माणमा पृथ्वीनारायण क्याम्पसको भौतिक तथा मानव स्रोतको अवस्था, आर्थिक स्रोत व्यवस्थापन लगायतका विषयहरु समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।