काठमाडौँ, फागुन ९ गते । गायक कृष्ण विक र गायिका समीक्षा अधिकारीको स्वर रहेको ‘होरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुदूरपश्चिममा लोकप्रिय रहेको लोकभाकालाई राष्ट्रियकरण गर्ने उद्देश्यले तयार पारिएको गीतमा महानायक राजेश हमाल र पूर्वमिस नेपाल उषा खड्कीको मुख्य अभिनय रहेको छ ।
भिडियोमा हमाल र खड्कीका साथै मनोज महर्जन र बिन्दिया बुढाथोकीलाई पनि देख्न सकिन्छ । भक्तपुरका विभिन्न स्थानमा दुई दिन लगाएर छायाङ्कन गरिएको यस भिडियोले होली पर्वको सांस्कृतिक र परम्परागत महत्त्वलाई नजिकबाट केलाएको निर्माण पक्षको दाबी छ ।
निर्देशक सरोज खड्काले सुदूरपश्चिमको मौलिक कला र संस्कृतिलाई विश्वसामु चिनाउने उद्देश्यले लामो प्रयासपछि यो गीत निर्माण गरिएको बताउनुभयो । राम अविरल विष्टको शब्द सिर्जना रहेको गीतमा दीपक आरजेको सङ्गीत रहेको छ ।
पवन सुस्लिङले छायाङ्कन गरेको यस भिडियोको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । देउ सिंह ओराको कोरियोग्राफी रहेको ‘होरी’ गायक कृष्ण विककै आधिकारिक युट्युब च्यानलमार्फत बजारमा ल्याइएको छ ।