नारद कोहार
कपिलवस्तु, फागुन ८ गते । कपिलवस्तुका विभिन्न स्थानबाट नक्कली नोटसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा इलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट खटिएको संयुक्त प्रहरी टोलीले बुद्धभूमि नगरपालिका–६ कोह्रनौलियाका ५० वर्षीय सट्टु यादवलाई नियन्त्रणमा लिएको हो ।
रीतपूर्वक खानतलासी गर्दा यादवको साथबाट एक हजार दरका ९९ थान र विभिन्न स्थानमा कारोबार गरिएको दुई थान गरी जम्मा एक लाख एक हजार रुपैयाँ बराबरका १०१ थान नक्कली जस्तो देखिने नोट बरामद भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले बुद्धभूमि नगरपालिका–६ कै १९ वर्षीय अजय यादव, कपिलवस्तु नगरपालिका–८ कचरीहवाका ५२ वर्षीय सञ्जय गुप्ता भनिने पटेश्वरी प्रसाद गुप्ता र ५० वर्षीया साजिदा खातुनलाई समेत नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताउनुभयो ।
उक्त नक्कली नोट बुद्धभूमि नगरपालिका–१० स्थित एक पेट्रोल पम्प र तरकारी पसल तथा कपिलवस्तु नगरपालिका–३ स्थित एक पेट्रोल पम्पमा कारोबार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँको भनाइ छ ।
प्रहरी नायब उपरीक्षक सिंहले नक्कली नोटको स्रोत र सम्भावित सञ्जालबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।
पक्राउ परेका चारै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।