• १२ वैशाख २०८३, शनिबार

एयरपोर्टका पसललाई कारबाही

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख १२  गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) क्षेत्रमा सञ्चालित पाँच व्यवसायी फर्म र दुई वटा होटेल, क्याफे बारलाई जरिबाना गरेको छ । विभागको आकस्मिक अनुगमन टोलीले बिहीबार साँझ र शुव्रmबार एयरपोर्ट क्षेत्रका १८ वटा व्यवसायी प्रतिष्ठानको अनुगमन गरेकोमा पाँच वटा फर्मलाई तीन लाख रुपियाँका दरले र होटेल र क्याफे बारलाई दुई लाख पाँच हजार रुपियाँका दरले जरिबाना गरेको हो । 

विभागको आकस्मिक अनुगमन टोलीले अनुगमनका व्रmममा एयरपोर्ट क्षेत्रका ती व्यवसायी फर्मले गरेको कैफियतका आधारमा जरिबाना र स्पष्ट कागजातसहित विभागमा उपस्थिति हुन निर्देशन दिएको छ । 

 विभागका अनुसार जरिबाना पर्नेमा सान इन्टरप्राइजेज प्रालि, ओरियन्टल होटेल लि., टी. श्री थकाली ग्रुप प्रालि, साई किरण इन्टरप्राइजेज र एयरपोर्ट सर्भिसेज प्रालि रहेका छन् । यी पाँच वटै व्यावसायिक फर्मलाई जनही तीन लाख रुपियाँका दरले जरिबाना गरेको छ । 

त्यसै गरी सोही क्षेत्रमा सञ्चालित होटेल सोनिग प्रालि र यमी क्याफे एन्ड वार प्रालिलाई दुई लाख पाँच हजार रुपियाँका दरले जरिबाना गरेको विभागले जनाएको छ ।

 विभागका अनुसार एयरपोर्ट क्षेत्रका ती व्यवसायी फर्ममा एमआरपी नभएको सामान बिव्रmी गरेको, एमआरपी भएका सामानमा स्टिकरले छोपेर बढी मूल्यमा बिव्रmी गरेको र म्याद नाघेका खाध्य रङ फेला परेको थियो । यस्तै विभागको आकस्मिक अनुगमन टोलीले सोही क्षेत्रमा सञ्चालित सोल्टी होटेल लिमिटेडलाई भने व्यवसायसँग सम्बन्धित कागजातसहित २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको जनाएको छ । अनुगमनका व्रmममा होटेल सोनिग प्रालि, कान्तिपुर क्याफे, क्लासिक माट्र्स र प्रोएक्टिभ बिजनेस सेन्टर प्रालिलाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात र दररेट सम्झौतासहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । यसै गरी एयरपोर्ट टी कफी एन्ड कन्फेक्सनरी सप, अरबिका पिज्जेरिया, टिजी थकाली ग्रुप, पुर्बेली मल्टी क्युजिन र लिटिल नेपाल इटरीलगायतका अन्य छ वटा फर्मलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ । 

 विभागका निर्देशक नरहरी तिवारीले कानुनविपरीत व्यापार तथा व्यवसाय सञ्चालन गरेका व्यवसायी फर्मलाई विभागको अनुगमन टालीले कारबाही तथा जरिबाना गरेको जानकारी दिनुभयो । उहाँका अनुसार यी फर्मले उपभोक्ता संरक्षण ऐन, २०७५ मा भएको व्यवस्थाविपरीत गरेको पाइएपछि जरिबाना एवं कारबाही गरिएको हो । विभागले नेपालमा उत्पादित तथा आयातित वस्तु सबैमा एमआरपी अनिवार्य गरेको छ । यसको कार्यान्वयन नगर्ने जोकोही कानुनी अनुरूप कारबाहीको भागीदार हुने पनि उहाँले स्पष्ट पार्नुभयो ।