टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), वैशाख १२ गते । गुल्मीमा जिल्ला प्रशासन कार्यालयले वैशाख १० गतेदेखि हुलाकमार्फत नागरिकको घरमै राहदानी पुर्याउने सेवा सुरु गरेको छ । यस खबरले नागरिकमा उत्साह थपेको छ । तर हालको अवस्थामा प्रशासन र हुलाकको सीमित स्रोतका कारण यो सेवा विकट क्षेत्रसम्म पुग्न सकेको छैन । हुलाकमा पर्याप्त जनशक्ति नहुनु र गाउँ–गाउँ पुग्ने सवारीसाधनको अभाव मुख्य चुनौतीका रूपमा देखिएको छ ।
यो सेवा सदरमुकामबाट टाढा रहेका अग्लुङ, नेटादर्लिङ, खडगकोट र भूर्तुङका नागरिकका लागि प्रभावकारी हुनसक्ने भए पनि प्रारम्भिक चरणमा सदरमुकाम वरपरमै सीमित छ । ती क्षेत्रका नागरिकले राहदानीका लागि एकतर्फी यात्रा गर्दा करिब एक हजार रुपैयाँ खर्च गर्ने गरेका छन् भने आउजाउ र बसाइसमेत जोड्दा पाँच हजार रुपैयाँसम्म खर्च हुने गरेको छ ।
मालिका गाउँपालिका–२, दर्लिङका रविन्द्र विकले सेवा सुगम क्षेत्रमा मात्र सुरु भएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । “सरकारको योजना सुन्दा उत्साहित भयौँ, तर सेवा सदरमुकाममै सीमित हुँदा विकट क्षेत्र फेरि पनि वञ्चित हुने अवस्था देखियो,” उहाँले भन्नुभयो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवाग्राहीको घरमै राहदानी पुर्याउने कार्यक्रम शुभारम्भ गरेको हो । नेपाल सरकारको सय दिने कार्यसूचीअनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच सम्झौता भएको छ । सम्झौतामा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे र हुलाक कार्यालय प्रमुख खेतबहादुर खत्रीले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतापछि हुलाक कार्यालयले १७ जना सेवाग्राहीलाई राहदानी वितरण सुरु गरेको छ । स्पष्ट कार्ययोजना र बजेट अभावका कारण पहिलो चरणमा रेसुङ्गा नगरपालिकाका चार वडामा मात्र सेवा सुरु गरिएको हो । वडा नं. ११, १२ र १४ का १७ जनाले घरमै राहदानी पाउने भएका छन् ।
प्रमुख जिल्ला अधिकारी गैह्रेले स्रोतसाधनको अभाव भए पनि केन्द्रीय कार्यसूचीअनुसार सेवा सुरु गरिएको बताउनुभयो । “नागरिकको हितका लागि नजिकबाट भए पनि सेवा सुरु गरेका छौँ । आगामी दिनमा विकट क्षेत्रमा निःशुल्क रूपमा सेवा विस्तार गर्ने योजना छ,” उहाँले भन्नुभयो । हुलाक कर्मचारी घरमै पुगेपछि ५५ रुपैयाँ राजस्व दस्तुर बुझाएर राहदानी प्राप्त गर्न सकिन्छ ।
रेसुङ्गा नगरपालिका–१२, उर्लेनीका पोमबहादुर थापाले घरमै राहदानी पुगेपछि खुसी व्यक्त गर्नुभयो । “पहिले प्रशासन धाउँदा दिन बित्थ्यो, खर्च पनि हुन्थ्यो । अहिले घरमै सेवा पाउँदा सहज भएको छ,” उहाँले भन्नुभयो ।
जिल्ला हुलाक कार्यालयका प्रमुख खत्रीका अनुसार जिल्लाभर ७० जनाको दरबन्दी भए पनि हाल ३१ स्थायी र ११ करार कर्मचारी मात्र कार्यरत छन् । रेसुङ्गा नगरपालिकामा १२ जना कर्मचारी छन् । जिल्लामा ११ इलाका हुलाक, ४५ अतिरिक्त हुलाक र दुई सेवा केन्द्र सञ्चालनमा छन् ।
खत्रीले वर्तमान जनशक्ति र साधनले घरघरमै राहदानी वितरण सम्भव नभएको बताउनुभयो । “दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन र इलाका कार्यालयमा मोटरसाइकल उपलब्ध गराइए सेवा विस्तार गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।
हाल जिल्ला हुलाक कार्यालयले स्थानीय तह केन्द्रसम्म यातायात व्यवसायीसँग समन्वय गरी चिठी तथा कागजात ढुवानी गर्दै आएको छ । वार्षिक करिब १२ हजार चिठीपत्र आदान–प्रदान हुने गरेको छ भने राष्ट्रिय परिचयपत्र ढुवानीको काम पनि हुलाकमार्फत हुँदै आएको छ ।