तिलाचन पाण्डे
तम्घास(गुल्मी), वैशाख १२ गते । गुल्मीमा चार वर्षको समय अवधिमा १४२ जना शिक्षकहरुले राजीनामा दिएका छन् । चालु आर्थिक वर्षको हालसम्म मात्रै १८ जना शिक्षकले राजीनामा दिएका छन् । शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका शाखा अधिकृत पुष्पा रायमाझीका अनुसार चालु आर्थिक वर्षमा प्राथमिक तहका १४ जना, निम्न माध्यमिक तहका तीन जना र माध्यमिक तहका एक जना गरी कुल १८ जनाले राजीनामा दिएका छन् । पछिल्लो समय वैशाख १० गतेदेखि लागू हुने गरी इस्मा गाउँपालिका वडा नम्वर चारमा रहेको चन्द्र आधारभूत विद्यालयका प्राथमिक द्वितीय तहमा अध्यापन गराउने शिक्षक नारायणप्रसाद भण्डारीको राजीनामा स्वीकृत भएको हो ।
गुल्मीमा आर्थिक वर्ष २०७९/०८० देखि हालसम्म १४२ जना शिक्षकले राजीनामा दिएका छन् । जसमध्ये आर्थिक वर्ष २०७९/०८० मा प्राथामिक तहमा ३७ जना, निम्न माध्यमिक तहमा एक जनाको राजीनामा स्वीकृत भएको हो । आर्थिक वर्ष २०८०/०८१ मा प्राथामिक तहमा ४६ र निम्न माध्यमिक तहमा छ जना गरी ५२ जनाको राजीनामा स्वीकृत भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा प्राथमिक तहमा २९ जना, निम्नमाध्यमिक तहमा दुई जना र माध्यमिक तहमा तीन जना र आर्थिक वर्ष २०८२/०८३ को हालसम्म प्राथामिक तहमा १४ जना र निम्न माध्यमिक तहमा तीन जना र माध्यमिक तहमा एक जना गरी कुल १८ जनाको राजीनामा स्वीकृत भएको छ । यो सँगै चार वर्षमा कुल १४२ जनाको राजीनामा स्वीकृत भएको हो ।
शिक्षा विकास तथा समन्वय एकाई गुल्मीका प्रमुख थानेश्वर घिमिरेका अनुसार पछिल्लो समयमा शिक्षण पेशामा त्यती रुचि नहुँनु र वेदैशिक रोजगारीको लहरले पनि राजीनामा दिनेहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको बताउनुभयो । राजीनामा दिनेमा करिव आधाको सङख्यामा वैदेशिक रोजगार रहने गरेको उहाँको भनाइ छ ।
गत कात्तिक १ गतेदेखि ऋङगेश्वर तपोभूमी आधारभूत विद्यालयको प्राथामिक तहबाट राजीनामा दिनुभएका नारायणप्रसाद पोखरेलले शिक्षणप्रति त्यती रुची नभएका कारण राजीनामा दिएको बताउनुभयो । विद्यालयमा विद्यार्थीहरु न्यून हुनु र लामो समयसम्म शिक्षण गर्दा पहिलेको जस्तो रुचि पनि नहुने भएकाले आफूले राजीनामा दिएको उहाँको भनाइ छ ।
गणित, अङ्ग्रेजी र विज्ञानका शिक्षक अभाव
गुल्मीमा गणित, अँग्रेजी र विज्ञानका शिक्षक अभाव देखिएको छ । केही महिना पहिले जिल्लाको मुसिकोट नगरपालिकाको मुसिकोट माध्यमिक विद्यालय र जनज्योती माध्यमिक विद्यालयका लागि माध्यमिक तहमा गणित शिक्षकका लागि छैटौँ पटक विज्ञापन गर्दा मुस्किलले शिक्षक पाएको थियो । यस्तै शिवशङकर माध्यमिक विद्यालयका लागि अङग्रेजी शिक्षकका लागि पनि छैटौँ पटकमा शिक्षक पाएकोे नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले जानकारी दिनुभयो । यस्तै सोही नगरपालिकाको ददल्का माध्यमिक विद्यालयका लागि पनि गणित शिक्षकका लागि तेस्रो पटक ,नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र सीतापुर माध्यमिक विद्यालयका लागि माध्यमिक विज्ञान राहतमा मुस्किलले शिक्षक पाएको उहाँले बताउनुभयो ।
गुल्मीमा सामुदायीक, संस्थागत र प्राविधिक धारतर्फ गरी ५६५ विद्यालय र ५९ हजार ५३० विद्यार्थी सङख्या रहेको शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीले जनाएको छ । जिल्लामा बालशिक्षादेखी कक्षा १२ सम्मका विद्यालयमा राहत र दरबन्दी गरी दुई हजार ९२६ जनाको दरबन्दी रहेको कार्यालयले जनाएको छ ।