रोप्छु भावनाहरू अक्षरको रूपमा
कहिले मस्तिस्कमा त कहिले हृदयमा
कहिले छापामा त कहिले अनलाइनमा
चलाउँछु औजारहरू
अध्ययन, साधना, चिन्तन र अभ्यासका
कहिले हाँसो फुल्छ विम्ब बनेर
कहिले आँसु खुल्छ प्रतिविम्ब बनेर
कहिले विचार पोखिन्छ अविधा बाटोमा
कहिले भाव छरिन्छ व्यञ्जना माटोमा
र फल्छ लटरम्म साहित्य
हृदयको मर्म हो अक्षर कर्म
कलमको धर्म हो अक्षर कर्म
अक्षरमा मानवता खोपिनु पर्छ
र जोखिनु पर्छ कर्तव्य पनि
अक्षरमा संस्कार फुल्नु पर्छ र
झपक्क झुल्छ संस्कृति पनि
ल्हाक्पाको दुःखेको हृदयमा
मल्हम बन्न सक्नु पर्छ अक्षर
आवाजहीन डाँडाघरे काकाको
कलम बन्न सक्नु पर्छ अक्षर
माटोको गीत बन्न सक्नु पर्छ
विष मेटाउने अमृत बन्न सक्नु पर्छ
घृणा हटाउने प्रीत बन्न सक्नु पर्छ अक्षर
आपसी सद्भावको रीत बन्न सक्नु पर्छ
गरिब असहायको मीत बन्न सक्नु पर्छ अक्षर
लेखक, पाठक सबैको जित बन्न सक्नु पर्छ अक्षर
मेरो प्रयास यही हो
एक साहित्यिक सत्कर्म
एक साहित्यकारको धर्म
शान्त शीतल बनोस
मानव हृदयको मर्म
यही हो वास्तविक साहित्य
अनि सार्थक अक्षर कर्म ।