प्यूठान, वैशाख १२ गते। जिल्लामा व्यावसायिक रूपमा टमाटर खेती गर्ने किसानहरू अहिले नयाँ प्रविधि प्रयोगतर्फ अग्रसर भएका छन्। लामो समयदेखि टमाटर खेतीमा संलग्न किसानहरूले जङ्गली भान्टामा टमाटरको बेर्ना कलमी गरेर बिरुवा उत्पादन गरेका हुन्।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ प्यूठानका प्रमुख चुमानसिंह गिरीले जिल्लामा पहिलो पटक यो नयाँ प्रविधि प्रयोग गरिएको बताउनुभयो। “टमाटर खेती गर्दा किसानले बर्सेनि धेरै रोग–कीराको समस्या बेहोर्नुपरेको छ,” उहाँले भन्नुभयो, “उक्त समस्या समाधान गर्ने विकल्प खोज्दै गर्दा यो नयाँ प्रविधि अपनाउन थालिएको हो।” विशेष गरी बिरुवा ओइलाउने समस्या देखिने र उपचारबाट समेत समाधान नभएपछि नयाँ विकल्प खोजिएको उहाँको भनाइ छ।
कलमी बिरुवाबाट लागत कम लाग्ने र उत्पादनमा वृद्धि हुने प्रमुख गिरीले बताउनुभयो। यसका लागि जिल्लाका २० जना व्यावसायिक किसानलाई स्थलगत रूपमा तालिम दिइएको छ। चितवनका किसानसँग समन्वय गरी जङ्गली भान्टाको बिउ ल्याएर बेर्ना तयार गरी कलमी बनाइएको उहाँको भनाइ छ।
नेपालमा यो प्रविधि नयाँ हो। इजरायल लगायतका देशमा सफलतापूर्वक परीक्षण भइसके पनि नेपालमा भने नयाँ प्रविधिका रूपमा प्रयोग गर्न थालिएको गिरीले बताउनुभयो। “नेपालमै यो नयाँ प्रविधि हो, नेपाली किसानहरूले पहिलो पटक यसको प्रयोग गर्दै छन्,” उहाँले भन्नुभयो, “यसबाट किसानलाई धेरै लाभ हुने छ।”