काठमाडौँ, वैशाख १२ गते । दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेलेपछि नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा जितका लागि संयुक्त अरब इमिरेट्स (युएई)लाई दुई सय एक रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय रन बनायो । नेपालका लागि दीपेन्द्रले ७५ रन बनाउनुभयो । उहाँले ९० बलमा पाँच चौका र दुई छक्का हान्नुभयो ।
यस्तै ओपनर कुशल भुर्तेलले २४, करण केसीले २२, बसिर अहमदले २०, आरिफ शेख र सोमपाल कामीले १समान १५,१५ तथा भीम सार्कीले १० रन बनाउनुभयो । आशिफ शेख सात रनमा आउट हुँदा कप्तान रोहित पौडेल र सन्दीप लामिछाने दुई दुई रन जोड्र्दै पेभेलियन फर्किनुभयो ।
बलिङमा युएईका अजय कुमार र जुनैद सिद्दिकीले तीनतीन विकेट लिनुभयो । खुजैमा तनवीरले दुई तथा हैदर अली र मोहम्मद शाहदादले एक एक विकेट लिनुभयो ।
नेपालले घरेलु मैदानमा वैशाख १२ देखि २२ गतेसम्म ओमान र युएई तथा वैशाख २९ देखि ८ गतेसम्म अमेरिका र स्कटल्यान्डसँग आइसिसी विश्वकप लिग–२ को सिरिज खेल्ने छ ।
नेपाल, ओमान र युएईसम्मिलित सिरिज यसअघि अमेरिका र इरान यद्धका कारण खाडीमा देखिइएको सङ्कटाका कारण रोकिएको थियो ।